मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

महामहिम राजदूत अलाइना टेप्लिट्जलाई अमेरिकामा बस्ने नेपालीको पत्र

महामहिम राजदूत अलाइना टेप्लिट्जलाई अमेरिकामा बस्ने नेपालीको पत्र


महामहिम नेपाल स्थित अमेरिकी राजदूत अलाइना टेप्लिट्जज्यू,
 
नेपालमा तपाईँले विविध क्षेत्रमा देखाउनु सकृयताको म प्रशंसा गर्छु । नेपालीसंगै दसैँ मनाउनु भएको, तिहारमा दीपावली गरेर रमाउनु भएको फोटोहरू तपाईँले काठमाडौँ स्थित अमेरिकी दूतावासको फेसबुकमा राख्नु भएको छ । पक्कै पनि यो घुलमिल अत्यन्तै सह्निय छ । यतिमात्र होइन तपाईँ कहिले नेपालको पूर्व त कहिले विकासमा पछि परेको पश्चिम क्षेत्र पुग्नु भएको छ । त्यहाँ स्थानीय नेपालीहरुसंग भेटघाट छलफल गर्नु भएको छ । स्थानीय एफएममा अन्तवार्ताका लागि पुग्नु भएको छ । यो सकृयता पक्कैपनि प्रशंसनिय हो । 
 
अमेरिका र नेपाल यो वर्ष कुटनीतिक सम्बन्ध स्थापनाको ७० औँ बर्षगांठमा पुगेको छ । तपाईँले यस अवसरलाई पनि उपयोग गर्नु भयो । दुई देश बिच आर्थिक सम्बन्ध विस्तारवारे सरोकारसंग छलफलको कार्यक्रम सम्पन्न गर्नु भयो । यस बाहेक थुप्रै अन्य कार्यक्रम पनि भए ।
 
 केही साता अघि नेपालले अमेरिकाबाट ५० अर्ब रुपैंया भन्दा बढीको अनुदान सहयोग पायो । अमेरिकाले एकैपटक यति धेरै रकमको सहयोग नेपाललाई दिएको यो पहिलो पटक हो । यो सहयोग सदुपयोगका लागि राखिएका सर्त पनि नेपालको सन्दर्भमा सान्दर्भिक छन् । तपाईँ लगायत दातृ निकायलाई थाहा छ, नेपालको मुख्य समस्या नै कार्यान्वयनको हो । सहयोग लिन अग्रसर हुने हाम्रो व्युरोक्रेसी यसलाई तोकिएको समय सीमा भित्र उपयोग गर्नमा भने कमजोर छ । 
 
मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) मार्फत दिइएको उक्त सहयोग पाँच वर्ष भित्र तोकिएको परियोजनामा खर्च भईसक्नु पर्ने सर्त नेपाललाई राख्नु नेपाली जनताकै हितमा थियो । आशा छ, यो सहयोगले नेपालको ऊर्जा क्षेत्र विस्तारमा मुख्य अवरोधका रूपमा देखिएको ट्रान्समिशन लाइनको अभाव हट्ने छ । नेपाली र अमेरिकी सेना बिचको सम्बन्ध त अहिले सबैभन्दा राम्रो अवस्थामा छ, भन्न सकिन्छ । दुई देश बिचका सेनाको भ्रमण बाक्लिएको छ । सेनालाई अमेरिकाले स्काई ट्रक दिनु पनि सैनिक क्षेत्रमा सहयोग बढ्दो क्रममा छ भन्ने तथ्य हो । 
 
नागरिक, सरकार र सेनाको स्तरमा यति राम्रो सम्बन्ध हुदां हुदंै पनि  नेपालको सरकारी स्वामित्वको नेपाल एयरलाइन्स कर्पोरेशनले केही समय यता अमेरिकाको जहाज निमार्ता बोईगंलाई बेवास्ता गरेकोमा हामी नेपाली अमेरिकन खुसी छैनौँ । महामहिम राजदुतज्यू यसमा म तपाईँको ध्यानाकर्षण गराउनु चाहन्छु । मेरो प्रश्न छ किन नेपाल एयरलाइन्सले बोइगं प्रति यस्तो व्यवहार गरिरहेका छ ? 
 
आधुनिक, सुरक्षित र किफायती जहाज बनाउन बोइगं कहलिएको छ । यात्रुहरु अमेरिकाको वोइगं कम्पनीका जहाजमा उड्दा आफ्नो गन्तव्य पुग्नेमा ढुक्क हुन्छन् । म यसमा थप सानो भूमिका बाध्न चाहन्छु । केही दिन अघि नेपाल एयरलाइन्स चढेर म भारतको नयाँ दिल्ली आऊ जाऊ गरेँ । म चढेको नेपाल एयरलाइन्सको उक्त जहाज एयरबस ३२० थियो । केही वर्ष अघि यसरी नै दिल्ली जाँदा बोइगं जहाज चढेको थिएँ । यस पटक एयरवसको जहाज चढ्दा मैले आफूलाई पहिले जस्तो सुविधा महसुस गरिन् । म पहिले दिल्ली जाँदा चढेको नेपाल एयरलाइन्सको बोइगं इन्जिनमा पट्टी बांधेर एउटा कुनामा थन्किएको थियो । फोटो लिन भने भ्याएं । 
 
अमेरिकामा थुप्र्रै एयरलाइन्स कम्पनी छन् । तिनले युरोपमा बन्ने एयरबस पनि किनेका छन् । कुन कम्पनीको जहाज किन्ने यो व्यापारिक निर्णय हो । तर, मलाई लाग्दैन नेपाल एयरलाइन्सले एयरबस मात्र किन्ने विशुद्ध व्यापारिक निर्णय हो । नेपाल एयरलाइन्सका प्रमुख कार्यकारी सुगतरत्न कंशाकार र उनलाई नियुक्त गर्नेहरुको यसमा निहित र व्यक्तिगत स्वार्थ जोडिएको छैन भन्ने म मान्न तयार छैन । यो निहित स्वार्थ किन हटाउन सकिएन भन्ने मेरो प्रश्न हो ।  
 
जहाज थपेपनि सरकारी स्वामित्वको नेपाल एयरलाइन्स सुधार भएको छैन । खर्च बढी छ । एयरपोर्ट व्यवस्थापन यसको अझपनि आम्दानीको मुख्य स्रोत हो । नेपाल एयरलाइन्सलाई नीजिकरण वा रणनीतिक साझेदार नल्याई यो सुधार हुन सक्दैन । यसका लागि आर्थिक सुधार बुझेको प्रधानमन्त्री र अर्थमन्त्री देशलाई चाहिएको छ । यसमा दाताको केही दबाब पनि आवश्यक छ । त्यहाँ थप सकृयताको आवश्यकता छ भन्ने मेरो सुझाव हो । यो नेपाल र सरकारी स्वामित्वको नेपाल एयरलाइन्सकै हितमा छ ।
 
तपाईँलाई जानकारीनै होला वोइंगको मुख्य कार्यालयरहेको वासिंटन राज्यको सियाटलमा बोइगं विक्री गर्नका लागि एउटा सरकारी निकाय नै छ ।  यससँग जोडिएको एउटा प्रसगं राख्न चाहन्छु । केही वर्ष अघि अफ्रिकाको एउटा देशबाट सरकारी प्रतिनिधिमण्डल सियाटल पुगेछन् । उक्त प्रतिनिधिमण्डलले त्यहाँका अमेरिकी लगानीकर्तासंग आफ्नो देशमा पुँजी लगानी गर्न आग्रह गरेछन् । त्यस बेला बोइगं विक्री गर्ने सरकारी निकायका प्रमुखले भनेछन् ठिक छ अमेरिकी लगानीकर्ता तपाईँको देशमा आउंछन म ल्याउंछु तर, त्यस अघि तपाईँले एउटा नयाँ बोइगं जहाज किन्नु पर्छ । त्यही नयाँ जहाजमा अमेरिकी लगानीकर्तालाई लिएर म आउँछु । अन्तत दुवैले यो सर्त पुरा पालना गरेछन् ।
 
अहिलेलाई मेरो तपाईँ प्रति गुनासो यति नै हो । आशा छ, भविष्यमा म नेपाल एयरलाइन्सको बोइगं चढ्न पाउने छु ।
 
वेद पौडेल 
सियाटल, अमेरिका ।