मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

मनमा बसेको तिहार

मनमा बसेको तिहार


 

मखमली फिका भए झैं लाग्ने,

सयपत्रीले पनि हाँसो भुले जस्तो देख्ने,

उहि रुप, उहि रंग बोकेर पनि

फूलबारीको यौवन अधुरो लाग्ने ।

 

सायद त्यहाँ बतासले नै तन मन स्पर्श

फुलहरु मुस्काउनु भन्दा पनि

पहिला मनको बगैंचा ढकमक्क हुन्थ्यो

फूलका थुंगाहरुलाई सिर्सिरे बतासले स्पर्श गर्दै

तिहारको निम्ता पठाउँथ्यो ।

 

एक जोर दियोले नै पनि मनको संसार जगमग बनाउँथ्यो

देउसी र भैलीले घन्केको अाँगन

दाजु भाइको पाइलाको प्रतिक्षामा हुन्थ्यो

त्यहि सम्झनाको तरेलीमा

जमेको रंग मखमलीलाई पैँचो दिएको छु ।

 

त्यहि यादले तरंगित मुस्कानहरु

सयपत्रीको थुंगाथुंगामा गाँसेको छु

स्मृतिका पानामा धमिलिन लागेका यादहरुलाई

परदेशकै झिलिमिलीमा खोज्ने कोशिस गरेको छु !