मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

‘जिते चट्ट : भवन भट्ट’ भन्दै भवनको विजयोत्सव, हायात रिजेन्सी गुञ्जायमान

‘जिते चट्ट : भवन भट्ट’ भन्दै भवनको विजयोत्सव, हायात रिजेन्सी गुञ्जायमान


हिमालयखबर संवाददाता-
काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए)को काठमाडौँमा भएको आठौँ विश्व सम्मेलनमा सोमबार सम्पन्न निर्वाचनले भवन भट्टलाई निर्वाचित गरेको छ । 
 
उम्मेदवारी घोषणादेखि नै अत्यधिक चर्चामा रहेका र अधिकांश एनआरएनका प्रतिनिधिले रुचाएका भट्टको विजय निश्चितजस्तै बनेको थियो । 
 
उनले प्रतिस्पर्धी जमुना गुरुङलाई पराजित गरेका हुन् । ७० देशका गैरआवासीय नेपालीको सहभागिता रहेको निर्वाचनमा एक हजार ८५४ जना मतदाता रहेका थिए । कुल १८ सय ५४ मतमध्ये १७ सय ४४ मत खसेको थियो । भट्टले ११ सय ९७ मत ल्याएका छन् । यो कुल मतको झण्डै ६६ प्रतिशत हो ।  
 
सन् २०१५-१७का अध्यक्ष शेष घलेले दुई कार्यकाल अध्यक्ष खाइसकेर पुनः श्रीमती गुरुङलाई अध्यक्षमा अघि सारेपछि घलेका शुभेच्छुकसमेत उम्मेदवार परिवर्तन गर्न बाध्य भएका थिए । एनआरएनएमा संस्थाका लागि भन्दा परिवारवादलाई प्राथमिकता दिएको भन्दै घलेका समर्थकहरु आक्रोशित बनेका थिए ।
 
त्यसमाथि अध्यक्षको आकांक्षी टीबी कार्कीले उम्मेदवारी नै दर्ता नगरेपछि माहोल भट्टका पक्षमा सिर्जना भएको थियो । यो निर्वाचन दुई कारणले चर्चामा रहेको थियो । घलेलाई प्रतिष्ठाको लडाइँ र भट्टलाई जित्नैपर्ने बाध्यता । अन्ततः भट्टले बाजी मारेका छन् ।
 
आइतबार उम्मेदवारी दर्तादेखि नै भट्टका समर्थकहरुले जिताउँ चट्ट भवन भट्ट भन्दै नारावाजी गरेका थिए । एनआरएनका सहभागीबीचको बहस र चर्चा नै भवन भट्टको समर्थनमा देखिन्थ्यो । सन् २०१५ देखि ०१७ सम्म उपाध्यक्ष रहेका भट्ट यसपटकको विश्व सम्मेलनमा चर्चाको शिखरमा रहेका थिए । 
 
लाप्राकको नमूना बस्ती र एनआरएनए भवन उनकै एजेन्डा भएकाले एनआरएनलाई अगाडि बढाउन सक्ने कुशल नेतृत्व क्षमता भट्टमा रहेकै कारण उनी विजयी बनेका हुन् । 
 
यसैगरी, उपाध्यक्षमा जर्मनीका कुमार पन्त र युकेका कुल आचार्यले बाजी मारेका छन् । महिला उपाध्यक्षमा रसियाकी सपिला राजभण्डारी निर्वाचित भएकी छन् । 
 
महासचिवमा रसियाका डा बद्री केसी, सचिवमा डिबी क्षेत्री र कोषाध्यक्षमा हिक्मत थापा निर्वाचित भएका छन् । यसैगरी, सहकोषाध्यक्षमा सोम सापकोटा निर्वाचित भएका छन् । 
 
निर्वाचन कार्यालयले औपचारिक घोषणा गर्न बाँकी रहे पनि विजयी उम्मेदवारलाई सामाजिक सञ्जालमा बधाई दिनेक्रम सुरु भइसकेको छ ।
 
यस्तै, अमेरिकाको रिजनल कोअर्डिनेटर (आरसी) पदमा गौरीराज जोशी निर्वाचित भएका छन् । यस्तै अमेरिकाको क्षेत्रीय उपसंयोजक (डिआरसी)मा नवीन शेरचन विजयी भएका छन् ।