मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनएमा मतदान जारी, रातिसम्म नतिजा आउने

एनआरएनएमा मतदान जारी, रातिसम्म नतिजा आउने


हिमालयखबर संवाददाता-
काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)को आठौँ विश्व सम्मेलनमा यतिबेला धमाधम मतदान चलिरहेको छ । सम्मेलनमा एक हजार ८५४ जना मतदाता रहेका छन् । सोमबार राति १० बजेसम्म मतदान सकिने विश्वास निर्वाचन समितिले लिएको छ । 
 
एनआरएनको अध्यक्षमा वर्तमान उपाध्यक्ष भवन भट्ट र वर्तमान अध्यक्ष शेष घलेकी श्रीमती जमुना गुरुङबीच तीव्र प्रतिस्पर्धा छ । गुरुङ र भट्ट समूहबीच आइतबार रातभरदेखि सोमबार मध्यान्हसम्म सहमतिका लागि प्रयास भए पनि टुंगोमा पुग्न नसकेपछि निर्वाचन समितिले चुनाव नै गनर्ने निर्णय गरेको थियो । 
 
भट्ट जापान र गुरुङ अस्ट्रेलियाबाट एनआरएनमा प्रतिनिधित्व गरेका हुन् । अध्यक्षका दाबेदार रहेका टिबी कार्कीको नाम पनि अध्यक्षमा चर्चामा रहे पनि उनले उम्मेदवारी नै दर्ता गराएनन् । 
 
उपाध्यक्षमा खगेन्द्र क्षेत्री, कुमार पन्त, कुल आचार्य, सोनाम लामा, चिरिञ्जीवी थापा, रविना थापाबीच प्रतिस्पर्धा छ । यस्तै, महिला उपाध्यक्षमा रञ्जु थापा र सपिला राजभण्डारीबीच प्रतिस्पर्धा छ । 
 
महासचिवमा अर्जुनकुमार श्रेष्ठ, बद्री केसी, यमकुमार गुरुङ त्रिलोक चुनावी मैदानमा भिडेका छन् । सचिवमा डिबी क्षेत्री, देवीबहादुर बस्नेत, गणेश केसी, ऋषिराम कँडेल, सन्तोषकुमार भट्टराईमध्ये कसले बाजी मार्लान् भनेर अड्कल काट्न गाह्रो छ । 
 
यस्तै, कोषाध्यक्षमा हिक्मत थापा र मुक्षेत्र गुरुङबीच प्रतिस्पर्धा छ भने सहकोषध्यक्षमा चक्रबहादुर थापा र सोमनाथ सापकोटा मैदानमा भिडेका छन् ।  विद्युतीय मतदान गरिएकाले मतपरिणाम सोमबार राति नै सार्वजनिक हुने सम्भावना छ । अहिलेसम्म करिब एकतिहाईले मतदान गरेको अनुमान गरिएको छ । 
 
एनआरएनएको सन् २०१७ देखि ०१९सम्म कार्यकालका लागि अध्यक्ष, दुई उपाध्यक्ष, एक जना महासचिव, एक सचिव र एक कोषाध्यक्ष निर्वाचित हुनेछन् ।  
 
यस्तै युरोप, अमेरिका, अफ्रिका, एशिया, ओसेनिया र मध्यपूर्वका एक–एकजना गरी छ क्षेत्रीय संयोजक र छ उपसंयोजक तथा महिला संयोजक र उपसंयोजक एक–एकजना तथा युवा संयोजक र उपसंयोजक एक–एकजना निर्वाचित हुनेछन् ।