मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनएको आठौँ विश्व सम्मेलन चुनावमय

एनआरएनएको आठौँ विश्व सम्मेलन चुनावमय


हिमालयखबर संवाददाता-
काठमाडौँ – गैरआवासीय नेपाली संघ एनआरएनएको आठौँ विश्व सम्मेलन चुनावमय भएको छ । १४ अक्टोबरदेखि काठमाडौँको हायात रिजेन्सी होटलमा जारी सम्मेलनमा विषयगत प्रस्तुति र छलफलमा भन्दा धेरैको ध्यान आगामी नेतृत्वको निर्वाचनमै केन्द्रित भएको छ । 
 
एनआरएनएको नयाँ नेतृत्वका लागि आइतबार निर्वाचन हुँदैछ । आगामी सन् २०१७-१९ को अध्यक्ष पदका लागि भवन भट्ट, जमुना घले र टीबी कार्की प्रतिस्पर्धामा छन् । 
 
सम्मेलनमा भाग लिन आउने डेलिगेट्सको विवाद, नाम थपघट र लापरबाहीले गर्दा निर्वाचन नै नहुने हो कि भन्ने आशंका पनि बढेको छ । निर्वाचन रोकिने संभावना पनि छ, एक पदाधिकारीले भने, 'मतदाता सूचीमै धेरै थपघट भएका छन् । यसमा थुप्रै त्रुटि र विवादहरु भइरहेका छन् ।' 
 
यस निर्वाचनमा भाग लिनमात्रै एकसय र दुईसय डलर शुल्क तिर्नुपर्छ । शुल्क बुझाइसकेका सहभागीको नाम हटेपछि केहीले तीव्र असन्तुष्टिसमेत जनाएका छन् । 
 
एक सहभागीले अमेरिकामा २५० डलर बुझाएकामा सम्मेलनस्थलमा २०० डलरको मात्र बिल प्राप्त भएको गुनासो गर्दै थिए । '५० डलर बढी तिर्नुपरेका असन्तुष्टि होइन, यो प्रवृत्तिको कुरा हो' ,उनले भनेका छन् ।
 
एनआरएन अमेरिकाका साधारण सदस्य नारायण थापाले निर्वाचन आयोगलाई निवेदन लेखी प्रतिनिधि दर्ता प्रक्रियामा व्यापक घोटाला भएकाले निर्वाचन प्रक्रिया तत्काल स्थगित गर्न माग गरेका छन् ।
 
थापाले मतदाताहरुको दर्तामा घुसपैठ गरी नक्कली प्रतिनिधि दर्ता गरेको भेटिएको जनाएका छन् । एनआरएन अमेरिकाले स्वीकृत गरी पठाएको अन्तिम सूचीमा नामै नभएका झन्डै ६० जना प्रतिनिधि दर्ता गरेको आरोप उनले लगाएका छन् । 
 
सो सम्मेलन शनिबार राष्टपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । आइतबार महासचिव र कोषाध्यक्षको प्रतिवेदन पारित भएको छ ।