मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनमा गुरूङ र भट्टको भिडन्त

एनआरएनमा गुरूङ र भट्टको भिडन्त


हिमालयखबर संवाददाता-
काठमाडौँ– गैरआवासीय नेपाली संघ (एनआरएन)को आठौँ विश्व सम्मेलनमा लागि जमुना गुरुङको अन्तिम समयमा भएको उम्मेदवारी घोषणाले विश्व सम्मेलनको अंक गणित सुरू हुन थालेको छ । 
 
गुरूङले उम्मेदवारी दिने÷नदिने अन्योलबीच बिहीवार रिपोटर्स क्लबको सभाहलमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेपछि एनआरएनको चुनावी ज्वरो ह्वात्तै बढेको छ । गुरूङले उम्मेदवारी घोषणा गर्दै गर्दा अध्यक्षका अर्का प्रत्यासी भवन भट्टले आफ्नो तयारीलाई तीव्र पारिरहेका छन् । उसो त भट्टले चुनावी प्रतिस्पर्धाका लागि गुरूको उम्मेदवारीलाई स्वागत गरेका छन् । 
 
गुरूङले उम्मेदवारी घोषणा गर्दा धेरैले अप्रत्याशित रुपमा लिए पनि उनले अध्यक्षमा उम्मेदवारी दिने चर्चा भने एक महिनाअघि नै चल्दै आएको थियो ।
 
अध्यक्षका अर्का उम्मेदवार भट्टले एक महिनाअगावै उम्मेदवारी घोषणा गरेका थिए । उनको पक्षमा नतिजा आउने आंँकलन सिन धेरैको थियो । तर, गुरुङको उम्मेदवारीले आठौँ विश्व सम्मेलनको नतिजा कसको पोल्टामा जान्छ भनेर सहजै अनुमान लगाउन भने मुस्किल भएको छ । 
गुरूङको अप्रत्याशित उम्मेदवारी 
 
उपाध्यक्ष भवन भट्ट र टीबी कार्कीले उम्मेदवार घोषणा गरेर आफ्नो पक्षमा नतिजा पार्न प्रचारप्रसारमा जुटिरहँदा घले दम्पती भने युरोप भ्रमणमा थिए । घले दम्पतीको युरोप भ्रमण आफ्नै परीक्षणको मूल्यांकन गर्न पनि थियो । उक्त भ्रमणले घले दम्पतीलाई हौसला प्राप्त गरे पनि उम्मेदवारीको निक्र्योलचाहिँ गरेकी थिइनन् । कतिपयले गुरुङले वेलायतबाट नै उम्मेदवारी घोषणा गर्ने अनुमान गरेका थिए । 
 
युरोप भ्रमणबाट फर्केपछि पनि गुरुङले उम्मेदवारीको टुङ्गो लगाउन सकेकी थिइनन् । अन्तिम समयमा भएको गुरुङको उम्मेदवारीले नतिजा उनको पक्षमा पर्ने सम्भावनाले नै उम्मेदवारी दिएको बताइएको छ । 
 
प्रतिनिधिहरुको दबाबको आशय गुरूङले जारी गरेको वक्तव्यमा पनि झल्किएको छ । विश्वभरबाट आएका एनआएनए डेलिगेट्सहरुको आग्रह एवम् गैरआवासीय नेपाली संघका मुख्य स्टेकहोल्डरको विश्वास र अपेक्षालाई निरन्तरता दिनुपर्ने आवश्यकतालाई ध्यान दिँदै उम्मेदवारी दिने निर्णय गरेको उनको वक्तव्यमा उल्लेख छ । 
 
कसले मार्ला त बाजी ? 
 
अब प्रमुख रुपमा भट्ट र गुरूङबीच नै तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । घले दम्पतीले वेलायत भ्रमणबाट आफ्नो पक्षमा मत बलियो रहेको ठहर गरेका थिए । विशेषतः वेलायत, अमेरिका र अष्ट्रेलियाका सम्मेलन प्रतिनिधिहरुको अन्तिम समयमा भएको जोडबलका कारण गुरुङले उम्मेदवारी दिएको बुझ्न सकिन्छ । 
 
उनका समर्थकले गुरुङलाई उठाउन गरेको हरसम्भव  प्रयत्नको आशय घोषणासभामा शेष घलेले दिएको अभिव्यक्तिबाट थाहा लाग्छ । गुरूङले आफूले उम्मेदवारी दिने सोच बनाउनमात्रै करिब आठ महिना लागको बताएकी छन् । गुरूङलाई वेलायत, अष्टे«लिया र अमेरिकाबाट बढी मतपर्ने अनुमान गरिएको छ । 
 
विशेषगरी जनजातिहरुको अधिकांश मत पनि घलेको पक्षमा पुग्ने सम्भावना देखिएको छ । नेपाली कांग्रेसनिकटका केही उम्मेदवारसमेत गुरूङको पक्षमा रहेकोले कांग्रेस समर्थक धेरै मत उनको पक्षमा पर्न सक्छ । गुरूङको उम्मेदवारी घोषणासभामा एआरएनएकी प्रवक्ता रञ्जु वाग्ले थापाले गुरूङको खुलेर प्रशंसा गरेकी थिइन् । 
 
नेपाली कांग्रेस समर्थक रहेका थापा, उपाध्यक्ष र महासचिवको उम्मेदवार क्रमशः सोनाम लामा र त्रिलोक गुरुङको जमुना गुरुङलाई बलियो समर्थन छ । नेपाली काङ्ग्रेस निकटका उम्मेदवारहरुको समर्थनका कारण कांग्रेसनजिकका मत गुरुङलाई पर्ने देखिन्छ । दुई कार्यकाल अध्यक्ष रहेका उनका पतिको ‘ब्याज’ प्राप्त हुने पनि धेरैको बुझाइ रहेको छ । 
 
संस्थापक उम्मेदवार उपेन्द्र महतो र संरक्षक जीवा लामिछानेको सर्मथनका कारण अध्यक्षका अर्का प्रत्यासी भवन भट्टलाई कम आंकलन गर्न सकिन्न । भट्टलाई उपाध्यक्षका बलियो प्रतिस्पर्धी कुमार पन्तको साथै महासचिवका उम्मेदवार बद्री केसीको पनि समर्थन छ । 
 
एसियाका जापान, मलेसिया, मध्यपूर्वका खाडी मुलुकहरु साथै रसिया र जर्मनीका अधिकांश मत भट्टलाई पर्ने सम्भावना छ । अध्यक्षको दौडमा टीबी कार्की धेरै पछि पर्ने अनुमान गरिएको छ । 
 
दुवै उम्मेदवारको तयारी तीव्र  
 
बिहीबार गुरूङको घोषणासभा हुँदै गर्दा भट्टलाई जिताउन नागपोखरीमा उनी समर्थकहरुको गोप्य भेला बसेको थियो । जहाँ जापानमा रहेका गैरआवासीय नेपालीहरु सहभागी थिए । बिहीबार नै भट्टले आफ्नो उम्मेदवारीको कारण र प्रतिबद्धताहरु रिपोर्टस क्लबमा बताएका थिए । 
 
दुई हजारभन्दा बढी सम्मेलन प्रतिनिधिहरुमा करिब सातहजार प्रतिनिधि सम्मेलनका लागि राजधानी आइसकेका छन् । उक्त आंकडाअनुसार जित्नलाई आठ सय मत आवश्यक पर्ने देखिएको छ ।