मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

मृत्युपछि शवको प्रक्रियाबारे ज्ञान नहुँदा समस्या

मृत्युपछि शवको प्रक्रियाबारे ज्ञान नहुँदा समस्या


चितवन– मृत्युपछि शवको प्रक्रियाबारे आवश्यक ज्ञान नहुँदा बेलाबखतमा चिकित्सकमाथि दुव्र्यवहार हुने र अस्पतालमा तोडफोड हुने गरेका छन् । 
चिकित्सकले मृत घोषणा गरिसकेपछि पनि मृतकका विभिन्न अङ्ग चलेको भन्दै ठाउँठाउँमा चिकित्सकमाथि दुव्र्यवहार र अस्पताल तोडफोड हुने गरेका छन् । मृत्यु भइसकेपछि पनि शरीरका अङ्ग तन्किने र खुम्चिने हुँदा चलेकोजस्तो भ्रम हुने गरेको चिकित्सक बताउँछन् । यसको ज्ञान सर्वसाधारणलाई नहुँदा समय समयमा मानिसको मृत्यु भइसकेपछि पनि यसले थप अप्रिय घटना सृजना गर्ने गर्छन् । 
 
भरतपुर अस्पतालका चिकित्सक डा वीरेन्द्र मण्डलका अनुसार मृत्यु भएको केही समयपछि मांसपेशी कसिलो बन्दै जान्छ, जसका कारण कतिपयको दिसापिसाब निस्कने, शरीरका अङ्ग तन्किने र खुम्चने गर्दछन् । जसकारण मृतकका आफन्तलाई अङ्ग चलाएको र जीवितै रहेको भ्रम सिर्जना हुने गर्दछ । 
 
उनका अनुसार तापक्रमको आधारमा मृत्यु भएको समयदेखि ४८ घण्टासम्म मांसपेशी कसिलो बन्दै जान्छ भने त्यसपछि सड्न सुरू भएपछि पुनः खुकुलो बन्दै जाने गर्दछ । यस्तो अवस्थामा अङ्ग चलेको भ्रम पैदा हुन सक्छ । 
 
अस्पतालका फिजिसियन डा भोजराज अधिकारीले मानिसको मृत्युसँगै शरीरका सबै अङ्ग निष्क्रिय भएर मांसपेशी शिथिल हुने बताए । उनका अनुसार मानिसको मृत्युपछि मुटुको धड्कन बन्द हुने, रगतको प्रवाह नहुने, श्वासप्रश्वास बन्द हुने भए पनि मृत्यु प्रमाणित गर्नका लागि भने इसिजी नै गर्नुपर्ने हुन्छ । ईसीजी रिपोर्टमा सीधा रेखा आएसँगै मानिसको मृत्यु भएको प्रमाणित हुन्छ । 
 
कतिपय अवस्थामा छोटो समयका लागि जीवितका लक्षण गुम्ने र पुनःफर्किने गरेको पनि पाइन्छ । जसका लागि तत्कालै मृत्यु घोषणा नगरी चिकित्सकले विभिन्न उपायमार्फत् जीवित लक्षण खोजी गर्ने गर्दछन् । 
 
डा मण्डलका अनुसार भर्खरै जन्मिएका बच्चा, लामो समयसम्म तपस्या गरेका योगी, कोमामा गएका बिरामीलगायतको केही समय धड्कन नदेखिने, श्वासप्रश्वास रोकिनेजस्ता जीवित नभएका लक्षण देखिने भए पनि पुनः पूर्ववत अवस्थामा आएर जीवितका लक्षण देखिएका केही उदाहरण भने भएको मण्डलले बताए । 
 
भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा रुद्र मरासिनीले अस्पतालमा आएका बिरामीको मृत्यु भएमा चिकित्सकले सबै खालका लक्षण हेरी ईसीजीसमेत गरेर प्रमाणित गरेरमात्रै मृत घोषणा गर्ने गर्दछन् । यद्यपि मृत्युपछि अङ्ग चलेको देखिने भ्रमका कारण मृतकका आफन्त उत्तेजित हुने गरेको उनले बताए । सबैमा मृत्युपछि हुने प्रक्रियाका बारेमा ज्ञान नहुँदा समस्या हुने गरेको उनको भनाइ छ । रासस