मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवन क्षेत्र नं ३ मा प्रचण्डसँग विक्रम पाण्डेले प्रतिस्पर्धा गर्ने

चितवन क्षेत्र नं ३ मा प्रचण्डसँग विक्रम पाण्डेले प्रतिस्पर्धा गर्ने


हिमालयखबर संवाददाता–
चितवन – चितवनमा आसन्न प्रतिनिधिसभाको निर्वाचनमा को कहाँबाट उठ्ने भन्ने चर्चाले चुनावी सरगर्मी बढेको छ । चितवन क्षेत्र नं ३ को निर्वाचन किन पनि रोचक देखिएको छ भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यही क्षेत्रबाट उठ्दैछन् । 
 
प्रचण्डले उम्मेदवार बन्ने घोषणा गरिसकेको अवस्थामा वन तथा भू–संरक्षण मन्त्री एवम् राप्रपा (प्रजातान्त्रिक)का प्रभावशाली नेता विक्रम पाण्डेले पनि क्षेत्र नं ३ बाटै उम्मेदवार बन्ने घोषणा गरेका छन् । 
 
नेता पाण्डे साबिक क्षेत्र नं ५ का सांसदसमेत हुन् । उनी १० हजार ७ सय ७९ मत ल्याएर सो क्षेत्रमा विजयी भएका थिए । हाल सो क्षेत्र प्रतिनिधिसभाको निर्वाचनमा क्षेत्र नं ३ बनेको छ ।
 
नेता पाण्डेले आफू यसअघि सो क्षेत्रबाट नै निर्वाचित भएको र जनताको काम, सुःखदुःखमा साथ दिएकाले जनताले नै सो क्षेत्रबाट आफूलाई चुनावमा उठ्न दबाब दिएको बताएका छन् । 
 
उनले भने– ‘मैले यो क्षेत्रमा रगत, पसिना बगाएको छु, अझै धेरै काम गर्न बाँकी छ, त्यस क्षेत्रको विकासका लागि म उम्मेदवार बन्दैछु ।’
 
हाल नेपाली काँग्रेसको नेतृत्वमा बनेको लोकतान्त्रिक गठबन्धनका कार्यदल सदस्यसमेत रहेका नेता पाण्डे सोही गठबन्धनबाट चुनाव लड्न लागेको चर्चा चल्न थालको छ । 
 
वाम गठबन्धनपश्चात् एमालेले सो क्षेत्रबाट उम्मेदवार घोषणा गरिसकेको छैन । लोकतान्त्रिक गठबन्धनले पाण्डेलाई अघि सारेमा प्रचण्डसँग चुनावी भिडन्त हुने देखिन्छ । नेता पाण्डेले आफ्नो तर्फबाट उम्मेदवारी निश्चित गरेको जनाएका छन् । यो क्षेत्र पाण्डेको प्रभाव क्षेत्र मानिन्छ । 
 
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको ३ नं क्षेत्रबाटै आफ्नो उम्मेदवारी रहने बताइसके पनि उनका लागि सो क्षेत्र सुरक्षितचाहिँ छैन् ।
 
उम्मेदवारी घोषणापश्चात् प्रचण्ड बारम्बार चितवन आएका छन् । संघ र प्रदेशको चुनाव तयारीअनुसार भरतपुर महानगरपालिकाको मेयरमा छोरी रेणुलाई उनले अघि सारेका थिए । कांग्रेसको समर्थनले रेणुले मेयरमा बाजी मारेकी थिइन् । 
 
संविधानसभाको निर्वाचन क्षेत्र ४ मा पर्ने यस भूगोलमा दोस्रो संविधानसभामा तत्कालीन काँग्रेस सभापति सुशील कोइराला चुनावमा उठेका थिए । बर्दिया र चितवनबाट चुनाव जितेका कोइरालाले चितवन छाडेका थिए । यो क्षेत्र कांग्रेसको पकड र सुरक्षित क्षेत्र मानिन्छ । 
 
क्षेत्र नं ३ अन्तर्गत माडी नगरपालिका पनि पर्छ । सशस्त्र युद्धको समयमा भएको बाँदरमुढे घटना यसै क्षेत्रमा पर्छ । माडीमा प्रचण्डको भन्दा विक्रम पाण्डेको छवि राम्रो देखिन्छ । अन्य उम्मेदवार घोषणा नभइसकेको अवस्थामा अहिलेका लागि प्रचण्ड र पाण्डे नै यस क्षेत्रका 'हट केक' बनेका छन् ।