मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवन युवा समूहको दोस्रो विश्व सम्मेलन हुने

चितवन युवा समूहको दोस्रो विश्व सम्मेलन हुने


भरतपुर– चितवन युवा समूह अन्तर्राष्ट्रिय  समन्वय समितिको विश्व सम्मेलन आगामी कात्तिक १ र २ गते चितवनमा हुने भएको छ । 
 
वैदेशिक रोजगारमा गएका चितवनवासीहरुको दोस्रो विश्व सम्मेलन तथा चौथो साधारण सभा चितवनको भरतपुरमा हुन लागेको पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको छ । 
 
चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारीले सम्मेलनको तयारी तीव्र रुपमा अघि बढेको बताए । 
 
सो विश्व सम्मेलनले अध्यक्ष, उपाध्यक्ष, महासचिव कोषाध्यक्षसहित १९ सदस्यीय नयाँ कार्यसमितिसमेत चयन गर्ने छ । जसमा अन्तर्राष्ट्रिय संयोजक, महिला संयोजक र क्षेत्रीय संयोजकलगायत रहने छन् । वैदेशिक रोजगारमा गएका चितवनेलाई एकत्रित गरी उनीहरुका समस्या समाधान गदैं सामाजिक विकासमा योगदान दिने लक्ष्यसहित २०६९ सालमा समिति स्थापना भएको हो । 
 
सम्मेलनमा प्रतिनिधि र पर्यवेक्षक गरी विभिन्न देशमा बस्ने झण्डै ४०० जनाको सहभागितामा रहने चितवन युवा समूह अन्तर्र्रािष्ट्रय समन्वय समितिका प्रवास संयोजक समीर खत्रीले जानकारी दिए । हाल कतार, इजरायल, यूएई, दक्षिण कोरिया, जापान, कुवेत, साइप्रस, बहराइन, डेनमार्क र आयरल्याण्डमा रहेका चितवने संस्थामा आवद्ध छन् । 
 
छिट्टै नै विभिन्न देशमा बस्ने चितवनेहरुसँग छलफल गरी विश्व सञ्जाल विस्तार गर्न समितिसमेत निर्माण गर्ने जनाइएको छ । समितिमा हाल दुई हजारभन्दा बढी साधारण सदस्य आवद्ध छन् । समितिका सहसचिव गणेश ढकालले भने, ‘आफ्नो ठाउँको विकासका लागि विदेशमा आर्जन गरेको सीप र पुँजीको सही सदुपयोग गर्न आफूहरुको प्रयास छ ।’ 
 
‘हामीसँग भएको श्रम, सीप र पुँजीलाई जिल्लाको विकासमा लगाई स्वाबलम्बी र स्वरोजगार बन्ने उद्देश्यअनुरुप विश्वमा रहेका चितवनेलाई एकीकृत गर्ने लक्ष्य हाम्रो छ’, पत्रकार सम्मेलनमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ । समितिका सल्लाहकार तथा डेनमार्कका लागि नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधि सोम सापकोटाले यो विश्व सम्मेलन ऐतिहासिक रहेको र सम्मेलनले विश्व सञ्जाल तयार पार्ने बताए । 
 
उनले विदेशमा कमाएको सीपलाई स्वदेशमै लगानी गर्न र सामाजिक सेवाभावमा सदस्यलाई लगाउन प्रेरित गर्ने समिति सहयोगसिद्ध हुने उल्लेख गरे । अर्का सल्लाहकार आर के शर्माले चितवनबाट विभिन्न देशमा झण्डै एक लाख जनशक्ति गएकाले उनीहरुलाई एकजुट गर्न सके पनि विकासले फड्को मार्ने बताए । समितिले संस्था स्थापनापछि झण्डै रु दुई करोड परोपकारी काममा सहयोग गरेको छ । 
 
समितिमार्फत विदेशमा बस्ने चितवनका युवाले भूकम्पपीडित, बाढीपीडित, घाइते, अपांग, असहाय, गरिब तथा विपन्न विद्यार्थीलाई सहयोग, रंगशाला निर्माणमा सहयोग, विद्यालय, विभिन्न आश्रममा गरी झण्डै रु दुई करोडको सहयोग गरिसकेको अध्यक्ष मुक्ति अधिकारीले जानकारी दिए । 
 
परोपकारी काममा गएको एक वर्षमा मात्रै रु ४० लाखभन्दा बढीको सहयोग गरिसकेको समितिले जनाएको छ । साथै समितिले चितवनको भरतपुर अस्पतालमा स्थापना भएको विपन्नका लागि परोपकारी कोषमा समेत हातेमालो गर्दै आएको छ । 
 
समितिले रामचन्द्र बचाउ अभियान (साउदी जेल)मा परेका व्यक्तिको उद्धार तथा मृत्युदण्ड सुनाइएका व्यक्तिको पक्षमा वकालत गर्दै आएको छ भने कुवेतको जेलमा रहेका चितवनका जीवन रानाभाटको जीवन रक्षाका लागि समितिमार्फत मुद्दा अगाडि बढाएको समेत सो अवसरमा जानकारी गराइयो । 
 
विदेशमा बिरामी भएर समस्यामा परेका चितवनलेलाई उद्धार गरी घर ल्याउने र उपचार गर्ने अभियानसमेत गर्दै आएको समितिले जनाएको छ ।