मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

अन्नपूर्ण क्षेत्रको पदयात्रा : अवसर र चुनौतीको दोसाँधमा

अन्नपूर्ण क्षेत्रको पदयात्रा : अवसर र चुनौतीको दोसाँधमा


पोखरा– हिमाल आरोहणको क्षेत्रमा सबैभन्दा जेठो हिमालका रूपमा चर्चित अन्नपूर्ण हिमालको आधार आसापास गरिने पदयात्रा विश्वका उत्कृष्ट पदयात्रामध्येमा पर्दछ । 
 
सन् १९५० जुन ३ तारिखमा सर्वप्रथम फ्रान्सका हिमाल आरोही मोरिस हर्जोगले अन्नपूर्ण प्रथमको सफल आरोहण गरेपछि हिमाल आरोहणतर्फ आकर्षण बढ्दै गएको हो । 
 
फ्रान्सेली टोलीद्वारा आरोहण गरिएको अन्नपूर्ण प्रथम हिमालको उचाइ ८ हजार ९१ मिटर छ । यो सफलतासँगै सन् १९५३ मे २९ तारिखका दिन विश्वको सर्वोच्च शिखर सगरमाथा सर्वप्रथम स्व तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए । 
 
विश्वकै सर्वाेच्च शिखर सगरमाथाभन्दा अन्नपूर्ण प्रथम हिमालको उचाइ कम भए पनि आरोहणका दृष्टिले कठिन हिमाल हो । विश्वमै सबैभन्दा ‘जेठो हिमाल’ का नामले चर्चित यस हिमाललाई ‘किल्लर माउण्टेन’ का नामले पनि चिनिन्छ । विश्वकै दश उत्कृष्ट पदयात्रा मार्गमापर्ने अन्नपूर्ण पदयात्रा मार्ग हालको कास्कीस्थित अन्नपूर्ण गाउँपालिकामा पर्दछ । 
 
विश्वमा नै उत्कृष्ट पदयात्रा मार्गका रुपमा ख्याती कमाएको अन्नपूर्ण सेरोफेरो पदयात्रा पर्यटनको विशिष्ट गन्तव्य भए पनि पछिल्ला समयमा जथाभावी बाटो खन्ने प्रवृतिका कारण २१ दिनको पदयात्रा मार्ग छोटिएर सात÷आठ दिनमा सीमित बनेको नेपाल ट्रेकिङ एजेन्सिज अफएसोसिएसन (टान) पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष दीपक अधिकारीले बताए । 
 
‘पदमार्ग छोटिदै जानु पदयात्रा पर्यटनका लागि गम्भीर चुनौतीको विषय बनेको छ’ उनले भने, ‘विदेशी पर्यटकका साथै स्वदेशी पर्यटक पनि पदयात्रामा जान थालेकाले यसवर्ष अक्टोबर सुरू भएयता हजाराँैं बाह्य तथा आन्तरिक पर्यटक पदयात्राका लागि अन्नपूर्ण क्षेत्र पुगिसकेका छन् ।’ 
 
होटलको अभाव तथा अन्य व्यवस्थापनको असहजताका अवस्थामा पनि पदयात्री अन्नपूर्ण क्षेत्र पुगिरहेको बताउँदै उनले यसको व्यवस्थापनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना तथा सम्बन्धित निकायको बेलैमा ध्यान पुग्नु आवश्यक भएको बताए । 
 
कतिपय नीतिगत तथा कानूनी व्यवस्थाका कारण पदयात्रा मार्गका क्षेत्रमा होटलको कमीका कारण उक्त क्षेत्रमा उचित व्यवस्थापन गर्नु अपरिहार्य भएको उनले जोड दिए । 
 
अन्नपूर्ण पदयात्रा मार्गअन्तर्गतको अन्नपूर्ण आधारशिविरको पदयात्रा मार्गका योजनाकार बेलायती नागरिक कर्णेल जिम्मी रवर्टस् छन् । उनले सन् १९६५–६६ मा अन्नपूर्ण आधारशिविरको पदयात्रा मार्ग खोलेका थिए । 
 
समुद्र सतहदेखि चार हजार १३० मिटरमा अवस्थित अन्नपूर्ण आधार शिविर पदयात्रा मार्गको पहिलो पदयात्री एरिक सिप्टन् छन् । उनले सन् १९६६ मा अन्नपूर्ण आधार शिवरको पदयात्रा गरेका थिए । 
 
नेपाल आउने विदेशी पर्यटकमध्ये ७० प्रतिशतले पदयात्रा र १० प्रतिशतले हिमाल आरोहण र २० प्रतिशत अन्य पर्यटक यस क्षेत्रको भ्रमणमा आउने गरेको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका वरिष्ठ अधिकृत सूर्य थपलियाले जानकारी दिए । 
 
विदेशी पर्यटकका साथै आन्तरिक पर्यटकको बढ्दो चापलाई दृष्टिगत गरी पदयात्रा मार्गमा अवस्थित होटेलको क्षमता अभिवृद्धि र अन्य अत्यावश्यक पूर्वाधारको विकास गर्नुपर्नेमा उनले जोड दिए । 
 
अन्नपूर्ण क्षेत्रको पर्यटकीय विकास यहाँको पदयात्रा पर्यटनसँग प्रत्यक्ष सम्बन्धित भएकाले यसको विकास एवं प्रवद्र्धनका लागि अन्नपूर्ण गाउँपालिका गम्भीर भएको गाउँपालिकाका प्रमुख युवराज कुँवरले बताए । 
 
उनले पदयात्रा मार्ग छोटिँदै गएको अवस्थामा गाउँपालिका अन्य वैकल्पिक पदमार्ग विस्तारका लागि क्रियाशील छ भने । पछिल्ला दिन गाउँपालिकाले म्याग्दी–घोरेपानी, ताडापानी हुँदै अन्नपूर्ण आधार शिविरसम्मको चार दिने पदमार्ग, उल्लेरीबाट सावेद– मोहोरिया– घान्द्रुक–छुम्रुङ हुँदै अन्नपूर्ण आधारशिविरको पाँच दिने पदमार्ग विस्तार गर्न लागेको गाउँपालिका प्रमुख कुँवरले जानकारी दिए । 
 
त्यस्तै मर्दी हिमालदेखि लान्द्रुक–न्युब्रिज, झिनु हुँदै अन्नपूर्ण आधार शिविरसम्मको चारदिने पदयात्रा मार्गको विकास गर्न लागेको उनले बताए । 
पदयात्रा मार्गको विकास तथा विस्तारका साथै यस क्षेत्रको समग्र पर्यटकीय विकासका लागि अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव गर्न लागिएको छ ।
 
महोत्सव मूल आयोजक समितिका संयोजक ललित गुरुङका अनुसार विभिन्न तीन चरणमा गरिने कार्यक्रमअन्तर्गत पहिलो चरणमा आगामी असोज २५ गते अन्नपूर्ण आधारशिविरमा महोत्सव शुभारम्भ गरिने छ । 
 
दोस्रोचरणको कार्यक्रमअन्तर्गत आगामी पुस १० गतेदेखि १५ गतेसम्म पर्यटकीय गाउँ छोम्रोङ र तेस्रोचरण अन्तर्गत २०७५ जेठ १८ गतेदेखि २० गतेसम्म घान्द्रुकमा विभिन्न कार्यक्रमका साथ महोत्सव समापन गरिने उनले जानकारी दिए । 
 
संयोजक गुरुङका अनुसार महोत्सवका क्रममा यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन र विकास गर्ने, पर्यटन सूचना, सुरक्षा, पथप्रदर्शक व्यवस्था गरी सहज पँहुच बनाउनेलगायतका कार्यक्रम सञ्चालन गरिने छ । 
 
अन्नपूर्ण पदयात्रा मार्गमा १२ महिना नै पर्यटक जान सक्नेगरी आवश्यक पूर्वाधार निर्माणमा सहयोग गर्ने पनि महोत्सवको उद्देश्य रहेको संयोजक गुरुङले जानकारी दिए । 
 
गत वर्षको तथ्यांकअनुसार अन्नपूर्ण आधार शिविरमा पदयात्रा गर्ने विदेशीको संख्या २८ हजार ५३१ थियो । पदयात्रामा बर्सेनि स्वदेशी तथा विदेशीको बढ्दो आकर्षणलाई कायमै राख्न पदयात्रा मार्गमा भौतिक पूर्वाधारको विस्तार गर्नुपर्नेमा जोड दिइएको छ ।