मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

नेपालको याद दिलाउँदै सान एन्टोनियोको मन जिते रामकृष्णले

नेपालको याद दिलाउँदै सान एन्टोनियोको मन जिते रामकृष्णले


हिमालयखबर संवाददाता–
सान एन्टोनियो – राष्ट्रिय भावना बोकेको ‘बिहान उठ्नेबित्तिकै’ लगायत अन्य लोकप्रिय गीत गाउँदै वरिष्ठ गायक रामकृष्ण ढकालले सान एन्टोनियोवासी नेपालीहरुको मन जित्न सफल भएका छन् । 
 
सान एन्टोनियो नेपाली संघ (साना) को आयोजनामा गत आइतबार भएको सांस्कृतिक कार्यक्रममा गाएक ढकालले आफ्ना गीतसँगै नेपालीहरुसँग दसैँ–तिहारको रौनक साटेका हुन् । 
 
प्रस्तुतिका क्रममा गायक ढकालले नेपालको झन्डा फर्फराउँदै यति चोखो, मन पराउने हजार भेटिन्छन्, ओराली लागेको, माया गर्नेको, नजिक आउनुमा, छिटको गुन्यूजस्ता चर्चित गीत गाएर दर्शकलाई उत्साहित बनाएका थिए । 
 
कार्यक्रमका दौरान दर्शकहरु कतिपय समयमा भूइँमै बसेर गायक ढकालको सुमधुर आवाजमा एकचित्त भएका देखिन्थे । कतिपय समयमा कम्मर मर्काइमर्काइ नाचिरहेका थिए । 
 
सयौँकोे घुइँचो रहेको दसैँ–तिहार साँझमा नेपालीहरुबीच शुभकामना आदानप्रदान, भेटघाट, ठूलाबडाका हातबाट टीका थाप्नेजस्ता क्रियाकलापले दसैँको माहोल तातेको थियो । त्यसैगरी ठेट नेपाली शैलीमा पाकेको सेलरोटी, खसीको मासुलगायत विभिन्न स्वादिष्ट पकवानले नेपाली चाडबाडको न्यानो अनुभूति दिलाएको थियो । 
 
कार्यक्रममा गायक ढकालसँगै स्थानीय कलाकारहरुको पनि प्रस्तुति रहेको थियो । झिलिमिली सजिसजाउ स्टेजमा माहोल जमाउन कलाकारहरुले दर्शकसामु विभिन्न नाच तथा गीत पस्केका थिए । 
 
कार्यक्रममा दसैँको रमझमका साथसाथै सानाले ‘प्रोजेक्ट कोपिला’ नामक समाजसेवा कार्यक्रमको थालनी गरेको आयोजकले घोषणा गरेका थिए । कोपीलाद्वारा सानाले नेपालमा पिछडिएका बालबालिकाको हितमा काम गर्ने योजना बनाएको अध्यक्ष विवेक राजवाहकले जानकारी दिए ।
 
कार्यक्रममा बोल्दै अध्यक्ष राजवाहकले दसैँ चाड मीठो खाने र लगाउनेमात्र नभई अरुको मद्दत गर्ने पनि भएको र यसैअनुसार कोपिलालाई साथ दिन सम्पूर्ण नेपालीहरुमा आग्रह गरे ।