मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनलाई एउटै मालामा जोड्न उपाध्यक्षमै मेरो निरन्तरता : कुमार पन्त

एनआरएनलाई एउटै मालामा जोड्न उपाध्यक्षमै मेरो निरन्तरता : कुमार पन्त


हिमालयखबर संवाददाता–
काठमाडौँ– गैरआवासीय नेपाली संघ (एनआरएन)का वर्तमान उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका कुमार पन्तले सोही पदमा निरन्तरता दिने गरी आफ्नो चुनावी कार्यक्रमलाई तीव्र पारेका छन् । 
 
विश्वभरका गैरआवासीय नेपालीलाई संयुक्त लगानीको मालामा जोड्न पनि पुनः उपाध्यक्ष पदमा निरन्तरता चाहेको उनले बताएका छन् ।  
 
जर्मनीस्थित फ्रेकफर्ट आधारित होटल व्यवसायी उनी संस्थाभित्र मौलाउँदै गएको धुव्रीकरणलाई रोक्न र सबै एनआरएनलाई समेटेर लैजान पुनः उपाध्यक्षमै रहेर काम गर्न चाहेको बताएका छन् । 
 
जर्मनीमा एक दर्जनभन्दा बढी होटल र आधा दर्जनभन्दा बढी रेष्टुराँका लगानीकर्ता पन्त एनआरएन स्थापनाकालदेखि नै संस्थामा सक्रिय व्यक्तित्व हुन् । यूरोप क्षेत्र संयोजक हुनुअघि नै उनले अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य एवं एनआरएन जर्मनीमा रहेर काम गरेका थिए । शेष घले पहिलो कार्यकालका लागि निर्वाचित हुँदा पन्त गैरआवासीय नेपाली संघका महासचिव भए । घले २०१५–२०१७ को दोस्रो कार्यकालमा पन्त उपाध्यक्षमा निर्वाचित भएका थिए ।
 
उनले बिहीबार विज्ञप्ति जारी गर्दै आफू एक समूहमा रहेर रमाउनुभन्दा सबैको साथ र सहयोगमा एनआरएनलाई एउटै ढिक्का बनाएर अघि बढ्नु बढी जिम्मेवार ठहर्ने भएकाले उपाध्यक्ष पदमै निरन्तरता दिने निर्णय गरेको बताएका छन् । 
 
उनले विज्ञप्तिमा भनेका छन्– ‘अग्रगामी र गतिशील सोच भएको नेतृत्वले मात्र गैरआवासीय नेपाली संघलाई अघि बढाउन सक्षम हुने हुँदा एनआरएनभित्र पछिल्लो समय देखिएका आयामले गैरआवासीय नेपालीको यो साझा संगठनलाई विभिन्न कोणमा ध्रुवीकरण गर्दै लगेको छ । यस्तो अवस्थामा कुनै एउटा समूहमा रहेर रमाउनुभन्दा सबैलाई समेटेर एक ढिक्का भइ अघि बढ्नु जिम्मेवार ठहर्छ । त्यही कर्तव्यलाई सम्मान गर्दै विश्वभरिका धेरै एनआरएन साथीहरूको अन्तक्र्रियापश्चात् आगामी १४ देखि १७ अक्टोबरसम्म काठमाडौँमा हुने अन्तर्राष्ट्रिय महाधिवेशनमा उपाध्यक्ष पदमै उम्मेदवारी दिने निर्णय गरेको छु ।’ 
 
‘अग्रज एनआरएनहरूको समर्पण एवं मैत्रीभाव र कार्यकुशलताबाट धेरै कुरा सिक्ने अवसर पाएको छु । मैले आफ्नो समय संगठनको उचाइ र श्रीवृद्धिमा लगाउनु आफ्नो कर्तव्य ठानेको छु’ उनले विज्ञप्तिमा भनेका छन् । 
 
मेरो अघिल्लो कार्यकाल मेरा लागि विश्वका सबै अन्तर्राष्ट्रिय समन्वय समितिका साथीहरूसम्म पुग्ने, सम्पूर्ण गैरआवासीय नेपालीका भावना, समस्या र आकांक्षाहरू बुझ्ने मौकाको रुपमा उपलब्धिपूर्ण रहेको उनले बताए । 
 
नेपालको विनाशकारी महाभूकम्प होस् चाहे जुनसुकै दैवी विपत्तिमा होस् गैरआवासीय नेपाली संघले सुरू गरेको राहत तथा पुनर्निर्माणको कार्यमा उनले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । संस्थाको आफ्नै भवन निर्माण एवं शंखमुलस्थित एनआरएन पार्क निर्माणमा समेत उनको अतुलनीय योगदान रहिआएको छ । 
 
यसैबीच, उपाध्यक्षमा पुनः आकांक्षी पन्तले संघको आगामी दुईवर्षे कार्यकालको लागि पूर्णकार्ययोजना छिट्टै सार्वजनिक गर्ने जनाएका छन् ।