मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मानव तस्करीका लागि सौराहा र देवघाट खतरा : माइती नेपाल

मानव तस्करीका लागि सौराहा र देवघाट खतरा : माइती नेपाल


हिमालय खबर संवाददाता- 
माइती नेपाल चितवनले मंगलबार नारायणगढका विभिन्न होटलहरूमा मोबाइल गस्ती गरेको छ । 
 
वडा प्रहरी कार्यालय नारायणगढ, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय आँपटारी, पत्रकारलगायतको टोलीसँग माइती नेपालले गस्ती गरेको हो । महिला हिंसाका घटना र मानव बेचबिखन रोक्नका लागि माइती नेपालले वार्षिक कार्यक्रमको सक्रिय परियोजनाअन्तर्गत रहेर गस्ती गरिएको माइती नेपाल चितवनले जनाएको छ । 
 
प्रायः होटल तथा यातायातका साथै सामाजिक सञ्जालमार्फत महिलाहरू हिंसामा परेका घटनाहरू बाहिर आएकोले जनचेतनाका लागि पनि मंगलबार बजारका विभिन्न होटलहरूमा पुगेर प्रत्यक्षरूपमै जनचेतना फैलाइएको माइती नेपाल चितवनका कार्यक्रम संयोजक ईश्वर गिरीले जानकारी दिए । 
 
‘बढी मात्रामा विभिन्न प्रलोभनमा पारेर किशोरीहरूलाई होटलमा ल्याएर राख्ने र उनीहरूको इच्छाविपरीत काम गर्न सक्ने भएकोले होटलहरूमा हामीले विशेष निगरानी बढाएका छौँ,’ उनले भने, ‘यातायातको माध्यमबाट पनि नेपाली चेलीहरू छिमेकी मुलक पुग्ने गरेका कारण हामीले यातायातका साधनमा पनि निगरानी बढाएका छौँ ।’ 
 
प्रायः कक्षा ११, १२ मा पढ्दै गरेका किशोरीहरू यस्ता घटनाको शिकार हुनुपरेको उनले बताए । 
 
आफैँले सबै कुराको निर्णय गर्न नसक्ने र अरूले भनेकै आधारमा विश्वास गर्ने कारण उनीहरू थाह नपाउने गरि फस्न सक्ने उनको भनाइ छ । वार्षिक कार्यक्रमअन्तर्गत अन्य कार्यक्रम भइरहे पनि मोबाइल गस्ती भने पहिलोपटक गरिएको हो । आगामी दिनमा हरेक महिना मोबाइल गस्ती गरिरहने उनले बताए । 
 
माइती नेपालले मानव बेचबिखन रोक्नका लागि प्रहरी, सशस्त्र, पत्रकार, व्यवसायी, महिला अधिकारकर्मीलगायतका विभिन्न व्यक्ति तथा संघसंस्थासँग हरेक वर्ष अभिमुखीकरण, गोष्ठी, अन्तक्र्रिया, प्रचार सामग्री वितरण, पोष्टरसहितको ¥याली निकाल्नेलगायतका कार्यक्रमहरू आयोजना गर्दै आएको छ । साथै पोखरा बसपार्क, आँपटारी, पुल्चोक, केन्द्रीय बस टर्मिनललगायतका क्षेत्रमा बसेर दैनिक सवारी साधनमासमेत अनुगमन गरिरहेको माइती नेपालले जनाएको छ । 
 
मानव तस्करहरूले थाह नपाउने गरी होटल र सवारी साधन नै बढी प्रयोग गर्ने भएकोले त्यस क्षेत्रमा बढी निगरानी गर्नुपरेको माइती नेपाल चितवनकी मनोविमर्शकर्ता जयन्ती खनालले जानकारी दिइन् । यसमा पनि चितवनलाई हेर्दा घुम्न जाने बहानामा देवघाट जाने गरेको पाइएको उनले बताइन् । 
 
‘सशस्त्र सीमा सुरक्षा बल आँपटारीले दिएको जानकारीअनुसार देवघाट क्षेत्र पनि मानव तस्कररूका लागि उपयुक्त ठाउँ भएकोले त्यस क्षेत्रमा पनि बढी निगरानी गर्नुपर्ने देखिएको छ,’ प्रहरीको भनाइ उधृत गर्दै उनले भनिन्, ‘पर्यटकीय क्षेत्र भए पनि सौराहाको तुलनामा देवघाट क्षेत्र सस्तो र सजिलो ठाउँ भएकोले पनि हराएका भनिएका मानिसहरू खोज्दा देवघाट आसपास भेटिने गरेको छ ।’
 
चितवनको तथ्याङ्क हेर्दा माइती नेपालले गएको जनवरी महिनादेखि अगष्ट महिनासम्ममा ५५ जना महिलाहरूलाई बेचबिखन हुनबाट जोगाएको छ भने ५५ जनालाई नै परिवारमा पुनर्मिलन गराइएको छ । १५७ जनालाई भने सीमानाबाट सीधै घर फर्काइएको छ भने १४ जनाको विभिन्न स्थानबाट उद्धार गरेको छ । 
 
सोही मितिमा माइती नेपालको कार्यालयमा १४६ वटा हराएको घटनासम्बन्धी निवेदन दर्ता भएको थियो । जसमा २२ जना भेटिएको मनोविमर्शकर्ता खनालले जानकारी दिइन् । २३ वटा घरेलु हिंसाका घटना दर्ता भएकोमा २ वटाको मात्रै समस्या समाधान गरिएको उनले बताइन् । 
 
अन्य कार्यक्रमहरूमा माइती नेपाल चितवनले महिला पुरूष गरी ४७२ जनालाई विद्यार्थी अभिमुखीकरण गरिएको छ भने १७८ जनालाई सुरक्षित स्थानागमन र वैदेशिक रोजगारसम्बन्धी जानकारी गराइएको छ । यस्तै सोही मितिको तथ्याङ्क हेर्दा माइती नेपालले १४६ वटा सवारी साधनमा अनुगमन गरिएको छ ।