मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

स्थानीय तहको चुनावमा काँग्रेस पहिलो पार्टी : प्रम देउवा

स्थानीय तहको चुनावमा काँग्रेस पहिलो पार्टी : प्रम देउवा


महोत्तरी । स्थानीय तहको चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । 
 
महोत्तरीको बर्दिबासमा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनमा तराई मधेसका जनताले काँग्रेसलाई नै रोज्ने दाबी गरे । तराईमा हुने बाढी समस्या समाधानका लागि भारत सरकार प्रतिबद्ध रहेको उनले खुलासा गरे । हुलाकी राजमार्गले तराईलाई समृद्ध बनाउने प्रधानमन्त्री देउवाले विश्वास व्यक्त गरे । 
 
भारत र नेपालको सम्बन्ध बलियो रहेको उनले स्पष्ट पारे । सुनकोशी बाँध बाँधेर कमलामा पानी झारेपछि बिजुली र पानीको समस्या समाधान हुने विश्वास उनले व्यक्त गरे ।  उनले एमालेको राष्ट्रवादले देश खतरामा फसेको आरोप लगाए । मिलेर बसेको नेपालीलाई फुटाउने काम एमालेले गरिरहेको आरोपसमेत उनले लगाए ।
 
काँग्रेसका महामन्त्री शशांक कोइरालाले मधेसका मधेसीलाई अधिकारसम्पन्न बनाउनु र समृद्ध राष्ट्र निर्माण गर्नु काँग्रेसको प्रमुख दुई एजेण्डा रहेको बताए । संविधान संशोधन गरेर मधेसको माग पूरा गर्ने उनले जिकिर गरे ।
 
त्यस्तै, काँग्रेस नेता विमलेन्द्र निधिले एमालेले संविधान संशोधन गर्न विपक्षमा मतदान गरेकाले एमाले मधेसमा पराजित हुने ठोकुवा गरे ।  
 
काँग्रेसका अर्का नेता कृष्णप्रसाद सिटौलाले काँग्रेस जबजब हा¥यो तबतब देश हारेको बताए । त्यसैले काँग्रेस जिताउनु भनेको देशलाई जिताउनु रहेको उनले बताए ।
 
नेता रामशरण महतले  सिके राउत, जयकृष्ण गोइत र केपी ओली प्रवृत्तिले राष्ट्रियता खतरामा परेको औँल्याए । काँग्रेसका अर्का नेता बालकृष्ण खाँडले एमालेले प्रजातन्त्रिक प्रक्रिया अवरुद्ध गर्न खोजेको आरोप लगाए ।
 
काँग्रेसका युवा नेता गगन थापाले टोपी र धोती मिलेमात्र देश समृद्ध बन्ने विश्वास व्यक्त गरे । संविधानमा लेखेको कुरा पुरा काँग्रेसले गर्ने उनले विश्वास व्यक्त गरे । रासस