विचार / ब्लग

एनआरएन अमेरिकाको वर्तमान नेतृत्व र सामाजिक धरातल

1257 पटक पढिएको

- बलायर 'प्रत्याशी'

हिमालयखबर | 11th Sep 2017, Monday | २०७४ भाद्र २६, सोमबार १४:२६
'नेतृत्वका लागि योग्यहरु प्रतिस्पर्धाको मैदानमा उत्रन डराए भने अयोग्यहरुबाट योग्यमाथि शासन चल्न थाल्छन' भन्ने सामान्य मान्यता रहेको छ । तर यहाँ को योग्य र को अयोग्य भन्ने सवाल कसैको निधार पढेर छुट्याउने भन्ने चाहि हुदैन । नत यो कसैले पाएको सर्टिफिकेटका कागजले नै प्रष्याउन सक्छ । यसको मापनको कसी भनेकै मूल्य, मान्यता, आदर्श र बिधिमा बाँधिएको नेतृत्व हो । जसले न्यूनतम श्रोत साधनलाई अधिकतम रुपमा उपयोग गर्छ ।   
 
सामाजिक संस्थाको नेतृत्वका लागि त झनै समाजसेवाको आदर्शमा आफूले गरेर देखाउदै अरुलाई आफुसँग हिडाउन सक्ने खुबीको आवश्यकता पर्छ । सहभागिता र श्रोतसाधनको परिचालन यसको मूल मर्म हो । यसमा सेवाको भाव एक मात्र स्वार्थ जोडिएको हुन्छ । यदि यस्ता संस्थामा नेतृत्व गर्ने ब्यक्तिले म यो गर्नेछु, त्यो गर्नेछु भनि आशा र प्रतिबध्दता मात्र देखाई जनमत बटुल्न खोज्छ भने संस्था उपरको राजनैतिक शब्दजाल भन्दा फरक पर्दैन । किन कि सामाजिक संस्था माथिको आमुक समूहको गलत प्रोपोगाण्डामा आधारमा ललिपप नै राजनैतिक सोचको उपज हो ।  
 
यहाँ कुरा उठाउन खोजेको पृष्ठभूमी एनआरएन अमेरीकाको सामाजिक धरातल र यसको नेतृत्वका बारेमा हो । यो एक बिशुध्द सामाजिक कामका लागि गठित संस्था भन्ने सबैलाई ज्ञात भएकै हो । जब जब यो संस्थामा पदको लागि निर्वाचन हुन्छ सधै बिबादको घेरामा फस्छ । संस्था सामाजिक भन्दा पर रहेर राजनैतिक बन्न पुग्छ । संस्थाको छविमा आँच आउने कामहरु छताछुल्ल सडक मै देखिने गरि पोखिन्छन ।
 
यस पटक भएको सन २०१७-१९ को एनआरएनको निर्वाचनका घट्ना र यसका पात्रहरुको कला पनि कोही कसैबाट छिपेको छैन । यसलाई यहाँ नाङ्गेझार गरि उदङ्ग्याउनु भनेकै आफैलाई नङ्ग्याउनु हो । मान पाएर सम्मानित हुन नसकेको निर्वाचन कमिटीको अवज्ञा गर्नु हो । 
 
हामी कानूनी राज्यले चलेको देश अमेरिकामा छौ । त्यसैले निर्वाचनका क्रममा के भयो र के गरियो भन्ने सवाललाई खोज्ने दायरा पनि कानून कै हुनु पर्छ । यसमा धेरै प्रष्ट्याउनु जरुरी छैन । यहाँ प्रश्नको जरो र चुरो कुरो संस्था भन्दा ब्यक्तिलाई हेर्ने परम्पराको हो । यो चुनावका बिसंगतीमा कुनै एक पक्षको मात्र संलग्नता छैन । कसैले सदस्यता बनाउनैमा बबाल गरेकाछन भने कसैले चुनावका बेलामा नाटक देखाए । पात्र उनै हुन खेल खेलेको समय मात्र फरक छ । 
 
यसको सम्बन्ध संस्थालाई तीनलाख नेपालीको बनाउने या १० हजारमा सिमित गर्ने भन्ने एकातिर छ । भने अर्को तर्फ अध्यक्षका प्रत्याशी राम सी पोखरेलका शब्द सापटी लिदा कम्प्यूटरको हार्डड्राईमा सिमित राख्ने कि गर्वसाथ हाम्रो साझा बनाउने भन्ने सँग सम्बन्धित छ  ।     
 
जे जसरी भए पनि चुनाव सम्पन्न भएको छ । जीत र हारमा बधाई र सान्त्वनाहरु बाँडिएको अवस्था छ । कसैलाई नेपालको २०३६ सालको जनमत संग्रहको झल्को दिने गरी याद दिलाएरको छ । प्रजातनत्रको आधार बुलेट हैन जे जस्तो भए एनि ब्यालेट मै बिश्वास गर्नु पर्छ भन्दै वी.पी.ले सहर्ष हार स्वीकार गरेको याद दिलाएको छ । निर्वाचनले संस्था खारिन्छ । तिखारिन्छ । 
 
एनआरएन अमेरिका पनि भरखर बामे सर्न लागेको संस्था भएकोले जे जस्तो चुनावी बिकृतिहरु भए पनि संस्थाले नयाँ कार्य समिति पाएको छ भनि चित्त बुझाउनु बाहेक हाम्रा सामु अरु उपाय पनि छैन । 
 
निर्वाचनको नतिजा लगतै निर्वाचित अध्यक्ष  डा. केशव पौडेलले आफ्नो धन्यवाद ज्ञ्यापनमा “संस्थामा जानेले दिन जाने हो लिन जाने हैन र सामजका लागि समर्पण गर्न सकौ ” भन्ने मुल आशय राखेका छन । यो उनको चुनाव ताका र बिगतमा जाहेर गरेको प्रतिबध्दता हो । जुन ज्यादै स्वागतयोग्य छ । समयले जित्ने र हार्ने दुबैको समर्पणको पर्खाई गरिरहेकोछ । यसैले पनि अव हामीले हिजोलाई बिर्सन सक्नु पर्छ ।  
 
सामाजिक संस्थामा जानेले समर्पणको भाव देखाउनु पर्छ । यसमा त्याग चाहिन्छ । एक्लैको त्याग भन्दा समूहको त्यगमा बल हुन्छ । यस मानेमा यो समिति सफल हुन सक्छ भन्नेमा केहिको अपेक्षा छ कि - कृष्ण लामिछाने देखि जेदु पोखरेल जस्ता धेरै दक्ष र काबिल कार्यसमितिका सदस्यहरुले बिजय हासिल गरेका छन । नैतिकता र निष्ठाको प्रजातान्त्रीक आदर्शबाट दिक्षित कृष्ण लामिछानेले नेपाली समाज टेक्ससको अध्यक्ष पदबाट समेत राजिनामा दिई आफुलाई एनआरएन प्रति समर्पण गरिसकेका छन । पक्कै पनि पौडेलको यो कार्यकालले सबैलाई सहयोगी बनाई अधि बढेमा बिगतको बितृष्णा भोग्नु पर्ने छैन । 
 
तर पौडेलले यो पनि बिर्सनु हुदैन बिगतमा आफ्नै भातृसंस्थालाइ चिरापारी केहीलाई काखीच्यापी सफल भएको अहिलेको उनको कुटील चाल सधैको लागि काम नलाग्न पनि सक्छ । जसको लागि उनको पहरेदारको रुपमा उनले नचाहँदा नचाहदै बिजयी भएका केही सदस्यहरुले अध्यक्ष पौडेललाई झस्काउन र खस्काउन सक्छन ।
 
हामीले यो पनि मनन गर्नु पर्छ कि हामी २१ सौ सादाब्दीको अमेरिकी परिवेशमा छौ । नेतृत्वले मैले मात्र गर्छु भन्दा पक्कै पनि यसले सफलता पाउँदैन । नेताले आफ्ना फलोअरमाथी बिश्वास गर्नु पर्छ । संस्थामा “लिन जाने हैन दिने मात्र हो” भन्ने पौडेलको मान्यतामा संकुचनको घेरा छ । यसले समय भएका र पैसा भएका मात्र एनआएनको नेतृत्व तहमा जानु पर्छ भन्ने सोचको लक्षण देखाउन्छ । 
 
यो बिल्कूल हैन । यो एक किसिमले अदृश्य छेकवारको भाषा हो । नेतृत्व गर्ने अदृश्य तानाशही शैली हो । यस्तो समयमा आफ्ना फलोअरहरुबाट धेरै भन्दा धेरै काम गराई  संस्थाको उचाई बढाउदै स्वयमको कद ऊठाउने हो । जसबाट उनको भोलीको ढोका पनि सुरक्षति हुन जान्छ । तर उनको संकुचन बिचारले नत संस्था नै बलियो हुन्छ नत जनधरातलमा बिश्वासनियता नै स्थापित गर्न सक्छ । 
 
कुटिल र चलाख नेतृत्वले गर्ने गुण भित्र एक्लैले गर्नु भन्दा अरुलाई परिचालन गरेर सफलता लिन सक्नु पर्छ भन्ने पर्छ । यसर्थ अमेरीकाका ५० बटै राज्यमा सुटकेस गुडाउदै हिड्नुभन्दा तत् ठाउँमा रहेका सदस्य र च्याप्टरहरुलाई परिचालन गरेर धन र समयको बचत गरी सवैलाई तत ठाउमा सक्रिय बनाउन सकेमा बढि बुध्दिमता ठहर हुन्छ । नत्र पुरानै नारा “संस्थामा लिन जाने हैन र दिने मात्र हो” भन्ने किसिमले संस्था परिचालन गरेमा श्रोत र साधन १० लाखमा सिमित हुन जान्छ । भने संस्थालाई ब्यापक बनाई तीन लाखले दिएको एक डलरको मूल्य बढी हुन्छ भन्ने सोच लिएमा सफलताले शिखर चुम्छ । खेल खेलाउने जिम्म नै पौडेलको हातमा छ । 
 
यसर्थ अबको एनआरएनमा सबैलाई समेट्ने प्रयासमा लाग्ने हो भने हार्डड्राईभका सदस्य डिलिट गरौ, सिमिता भन्दा माथीको सोच बनाऔ, गुमेको जनधरातल र बिश्वासनीयतालाई फर्काउने फ्रयास गरौ र राजनीतीबाट अलग हुने प्रयास गरौ ।