समाज / राजनीति

हराएकी युवतीको शव माछापोखरीमा भेटियो

687 पटक पढिएको

हिमालय खबर संवाददाता | 11th Sep 2017, Monday | २०७४ भाद्र २६, सोमबार ०२:२०
नारायणगढ – बोराभित्र पोको पारेर फालेको अवस्थामा शव भेटिएको भरतपुर महानगरपालिका वडा नम्बर–२१ पहारिलोटारकी सुजाता बरालको मृत्यु रहस्यमय बनेको छ ।
 
घटनाको सम्बन्धमा अनुसन्धान भइरहे पनि मृत्यु वा हत्या भन्नेबारे प्रहरीले स्पष्ट खुलाएको छैन । तर, शव फेला परेको अवस्था हेर्दा उनको हत्या गरिएको देखिन्छ । हत्यारालाई पक्राउ गर्न भन्दै स्थानीयले आइतबार प्रहरी कार्यालयमा पुगी दबाबसमेत दिएका थिए । 
 
घरबाट हराएको पाँच दिनमा गाउँकै माछापोखरीमा बरालको शव बोराभित्र हालेर फालिएको अवस्थामा स्थानीयले देखेका थिए । बोराभित्र हालिएको अवस्थामा शंकास्पदरुपमा शव फेला परेपछि परिवार र छिमेकी शोकमा डुबेका छन् । युवतीको माइतीघर पनि भरतपुर–२३ मा रहेको प्रहरीको भनाइ छ । 
 
बिहीबार शितलपानीस्थित माछापोखरी नजिकैको काँसघारीभित्र बोरामा हालिएको बेवारिसे शव स्थानीय तुलबहादुर नेपालीले देखेपछि स्थानीय र प्रहरीलाई खबर गरेका थिए । ‘शव फुल्लिएर बोरा नै फुटेपछि बल्ल थाहा भएको हो’, चितवन प्रहरी प्रमुख एसपी दीपक थापाले बताए । 
 
मृतकको श्रीमान विदेशमा रहेको प्रहरीले जनाएको छ । ‘श्रीमान यही दशैमा घर आउने योजनामा रहेछन’, एसपी थापाले भने । घटनामा संलग्नताबारे अनुसन्धान भइरहेको एसपी थापाले बताए । शव फेला परेपछि भएको पोष्टमार्टमका आधारमा प्रहरी निरन्तर अनुसन्धानमा खटिएको उनले बताए । घटना शंकास्पदजस्तो देखिएकाले यस विषयमा अनुसन्धान गर्न प्रहरी निरीक्षक अन्जना श्रेष्ठको नेतृत्वमा टोली बनाइएको छ । हाल फुटकर ज्यानमा मुद्दा चलेको छ ।  
 
पहारिलोटार निवासी बाबु बाबुराम बराल र आमा नारायणी बरालले उक्त शव छोरी सुजाताको भएको पहिचान गरेपश्चात निरन्तर अनुसन्धानमा लागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । शव बोरामा हालिएको देख्दा हत्या गरेर ल्याएको हुन सक्ने स्थानीयको भनाइ छ ।
 
‘प्रविधिको प्रयोग गरी दिनरात अनुसन्धानमा खटिएका छौं’, एसपी थापाले भने,‘छिटो भन्दा छिटो घटनाबारे यथार्थ कुरा बाहिर आउनेछ ।’  गाउँमा गम्भीर प्रकृतिका घटना भएपछि स्थानीयहरु त्रसित बनेका छन् । प्रहरीले पनि हाल सुरक्षा कडा बनाएको जनाएको छ ।