बिजनेस

आयल निगमको जग्गा खरिद गर्दा चितवनमा ३३ करोड घोटाला

542 पटक पढिएको

हिमालय खबर संवाददाता | 24th Aug 2017, Thursday | २०७४ भाद्र ८, बिहीवार ०३:२८
चितवन । नेपाल आयल निगमले जग्गा खरिदको प्रक्रिया सुरू गर्नु १५ दिनअघि सोही स्थानका प्रेमलाल तामाङले आफ्नो जग्गा एक कठ्ठाको तीन लाखको दरमा बेचे । चल्तीको मूल्य दुई लाखदेखि दुई लाख ५० हजारसम्म थियो । 
 
मालपोत कार्यालय खैरहनी पर्साले सो क्षेत्रको जग्गाको सरकारी दर एक लाख ५० हजार प्रति कठ्ठा राखेको छ । त्यसको चार प्रतिशत सरकारी राजस्व बुझाउनुपर्दछ । यसो गर्दा ६ हजार हुन आउछ । निगमले राप्ती नगरपालिका वडा नं १ माधवटार साविक पिप्ले गाविस–६ मा २३ बिघा दुई कठ्ठा खरिद गरेको छ । २३ दशमलब २ बिघामा ४६४ कठ्ठा जग्गा हुन आउछ ।
 
निगमले मालपोत कार्यालय खैरहनी पर्सामा विभिन्न ११ जनाबाट जग्गा पास गरेको देखिन्छ । केही व्यक्तिबाट सिधै आयल निगमको नाममा जग्गा पास भए पनि अधिकांशको जमिन दलालीले खरिद गरेर निगमलाई बेचेको पाइएको छ । ४६४ कठ्ठा जग्गाको पहिलोपटक दुई करोड ६९ लाख ९४ हजार ९२८ र दोस्रोपटक २९ लाख ४० हजार १७५ गरी दुई करोड ९९ लाख ३५ हजार १०३ रूपैयाँ राजस्व तिरेको देखिएको छ । 
 
४६० कठ्ठा जग्गाको न्यूनतम ४ प्रतिशत राजस्व बुझाउँदा जग्गाको कारोवार प्रति कठ्ठा औसत १६ लाख १२ हजार ८७५ मा भएको देखिन्छ । ४६० कठ्ठा जग्गाको प्रति कठ्ठा ६४ हजार ५१५ औसत राजस्व रकम बुझाउँदा रकम ७४ करोड ८३ लाख ७४ हजार रकम निगमले तिरेको देखिन्छ । स्थानीय बासिन्दालाई ८ लाखदेखि १० लाखसम्म प्रति कठ्ठा जग्गाको मूल्य दलालहरुले दिएका छन् ।
 
यसको औसत ९ लाख हुँदा ४६० कठ्ठा जग्गाको ४१ करोड ७६ लाख रकम मात्रै स्थानीयले पाएका छन् । ७४ करोड ८३ लाख निगमको खर्च र किसानहरूले पाएको औसत मूल्य ४१ करोड ७६ लाखको अन्तर झण्डै ३३ करोड हुन आउँछ । निगमले दलालहरूसँग सेटिङ मिलाएर ३३ करोड रकम घोटला गरेको देखिन आउँछ । 
 
खेतमा जाने बाटोसमेत नभएको जग्गालाई ८ लाखदेखि १० लाखसम्म दिन आएपछि केहीमा खुसीको सीमा रहेन् । स्थानीय रेशमप्रसाद भन्तनाले १० कठ्ठा जग्गा १० लाख प्रति कठ्ठामा बेचेर एक करोड रकम हात पारेका छन् । 
 
कस्तो छ जग्गा ?
 
आयल निगमले खरिद गरेको जग्गा चितवन र मकवानपुर जिल्लाको सीमाना लोथर खोला छेउमा रहेको छ । विसं २०२७, २०५० र २०५९ सालमा यही ठाँउबाट लोथर खोला पसेर बगर बनाएको थियो । सरकारले सामान्य ड्याम बनाउँदै आएको भए पनि वर्षात्मा उर्लिने लोथरले भत्काएर यो ठाँउमा खोला पस्दै आएको थियो । 
 
तत्कालीन समयमा बगर बनाएको यो क्षेत्रमा अहिले भने माछापोखरी र धान खाने खेत छ । स्थानीय नेता जागृतप्रसाद भेटवालले लोथर राप्ती खोला नियन्त्रणको लागि स्वीस सरकारको आर्थिक सहयोग ड्याग निर्माण गरेपछि यो जग्गामा बाढी पसेको छैन् निगम खरिद गरेको जग्गा लोथर ड्यागसँग साटेको छ । 
 
पूर्वपश्चिम राजमार्गसँग सटेको तर भिरोलो परेको र राजमार्गभन्दा गहिरो स्थानमा यो जग्गा छ । जग्गाको दक्षिण क्षेत्र ऐलानी जग्गा पर्दछ । सोही स्थानमा जग्गा बेच्ने अधिकांश मानिसहरु अहिले बसोबास गर्दै आएका छन् । बेचिएको जग्गामा पनि केही घरहरु छन् । 
 
राप्तीको २३ विघा जग्गा खरिद गर्दा मेयर बेखबर
 
राप्ती नगरपालिका वडा नं। १ मा पर्ने माधवटारमा मेयर प्रभा बरालको रिर्सोट बनाउने योजना थियो । स्थानीयसँग मेयर बरालले कुरा गर्दा  थाहा पाइन् यो जग्गा त आयल निगमले खरिद गरेको भन्ने कुरा । यसपछि मेयर बरालले यस घटनाप्रति चासो राखेको बताएकी छिन् । 
 
उनले भनिन् ‘हाम्रो नगरपालिका क्षेत्र भित्र कुनै उद्योग वा कुनै सार्वजनिक चासो र महत्वको विषयमा केही काम हुदैछ भने नगरपालिका जानकारी राख्न हकदार छ कि छैन्, म तत्कालै वडाध्यक्षको राय मागेर आयाल निगमलाई पत्र लेख्छु ।’