बिजनेस

केराको परिकारका पारखीका लागि खुल्यो "बनाना क्याफे"

376 पटक पढिएको

हिमालय खबर संवाददाता | 21st Aug 2017, Monday | २०७४ भाद्र ५, सोमबार ०३:४७
चितवन । चितवनलाई केराको पकेट क्षेत्र मानिन्छ । उत्पादनबाटै हरेक वर्ष करिब एक अर्बभन्दा बढीको कारोबार हुने गरेको छ । जिल्लामा दुईहजार ६०० बिघा क्षेत्रफलमा केरा खेती गरिएको छ । खानको लागि पाकेको केरा मात्रै प्रयोग गर्र्दै आइरहेकोमा पछिल्लो केही वर्षदेखि भने केराबाट बन्ने विभिन्न खालका परिकारप्रति मानिसहरूको ध्यान केन्द्रित हुन थलेको छ । 
 
चितवनमा केही वर्षयता हरेक मेला महोत्सवमा केराको परिकार खान पाइने भनेर प्रचार–प्रसार गरेको पाइन्छ । अहिलेसम्म मेला महोत्सवमा मात्रै केराको परिकार खान पाइन्थ्यो । तर, अब भने केराको परिकार खानका लागि कुनै मेला महोत्सवको पर्खाइमा बस्न नपर्ने भएको छ । केराबाट बन्ने हरेक परिकार अब जो कसैले पनि चाहेको बेला खान पाउने गरी भरतपुरमै चितवन बनाना क्याफे सञ्चालनमा आएपछि मेला महोत्सव पर्खनुपर्ने समस्या हटेको छ ।
 
विशेषगरी केराबाट बनेका परिकारमध्ये प्रायः मानिसहरूले मःम, चिप्स, बुंगाको अचार, पकौडा र गर्मीको समयमा लस्सी मन पराउँछन् । तर, चितवन बनाना क्याफेमा यी बाहेक पनि विभिन्न खालका करिब १५ भन्दा बढी परिकारको स्वाद लिन पाइने क्याफेका सञ्चालक यज्ञप्रसाद सुवेदी ‘लक्ष्मण’ले बताए ।
 
चितवनको कृषि व्यवसायलाई प्रोत्साहन गर्नका लागि पनि क्याफे सञ्चालनमा ल्याएको उनले बताए । सुवेदीसहित चितवनका तीनजना केरा व्यवसायी मेघनाथ भट्ट र रामचन्द्र भट्ट मिलेर क्याफे सञ्चालनमा ल्याएका हुन् । सुवेदी चितवन केरा उत्पादक संघका निवर्तमान अध्यक्ष हुन् भने मेघनाथ भट्ट निवर्तमान सचिव हुन् । लामो समयदेखि केरा उत्पादनको अनुभव लिएका उनीहरूले सेवाग्राहीको चाहनाअनुसार नयाँ व्यवसायमा हात हालेको बताएका छन् । 
 
करिब एक करोड रूपैयाँको लगानीमा भरतपुर–९ स्थित आस्थाचोकमा क्याफे सञ्चालनमा ल्याएको सञ्चालक मेघनाथ भट्टले बताए । ८ कठ्ठा क्षेत्रफलमा रहेको क्याफेमा आउनेहरूलाई केराको बगैँचामै बसेर खाएको अनुभव दिलाउनका लागि क्याफे परिसरमै करिब चारसय जति केराको बिरूवासमेत लगाएका छन् । 
 
यसअघि नै धेरैलाई केराको परिकार सम्बन्धी विभिन्न खालका तालिम दिए पनि उनीहरूले यसतर्फ खासै ध्यान नदिइएकोले तीनजना मिलेर सञ्चालनमा ल्याएको अर्का सञ्चालक रामचन्द्र भट्टले बताए । उनका अनुसार केराको परिकारसँगै अन्य होटलहरूमा जस्तै चाहेको परिकार खान पाइने व्यवस्थासमेत मिलाइएको छ । ‘तर, हाम्रो लक्ष्य भनेको केरा प्रवद्र्धन नै हो,’ उनले भने । 
 
गत साउन २५ गतेबाट सञ्चालनमा आएको क्याफेमा सेवाग्राहीहरूको संख्या दिनानुदिन बढ्दै गइरहेको उनले बताए । अहिले क्याफे सञ्चालनमा आएपछि १२ जना युवाहरूले प्रत्यक्ष रोजगारसमेत पाएका छन् । स्वदेशमै लगानी गरेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उद्देश्यले आफ्नै ठाउँमा लगानी गरेको उनको भनाइ छ । यहाँ बन्ने परिकारका लागि केरा बाहिरबाट खरिद गर्नुपर्ने अवस्था छैन । तीनैजना मध्ये यज्ञप्रसाद सुवेदीले ५५ बिघा, मेघनाथ भट्टले १० बिघा र रामचन्द्र भट्टले ७ बिघा जग्गामा केरा खेती गरेका छन् । 
 
यति मात्रै होइन । अब केरा खरिद गर्न चाहनेहरूका लागि मण्डीसम्म धाउनुपर्ने बाध्यतासमेत हटेको छ । उनीहरूले चितवन बनाना क्याफेबाटै केरा बिक्री गर्ने वातावरण मिलाएका छन् ।