बिजनेस

सौराहामा बाढीले वितण्डा मच्चाउँदा १५ करोडको क्षति

243 पटक पढिएको

हिमालय खबर संवाददाता | 16th Aug 2017, Wednesday | २०७४ श्रावण ३२, बुधवार ०४:३४
सौराहा, चितवन । बाढी र डुबानका कारण सौराहा क्षेत्रका ११० पर्यटकीय होटलमा लगभग १५ करोड रूपैयाँ बराबरको क्षति भएको क्षेत्रीय होटल संघ चितवन सौराहाले जानकारी गराएको छ । 
 
मंगलबार संकलन भएको प्रारम्भिक विवरणमा क्षतिको आकलन भएको संघका अध्यक्ष सुमन घिमिरेले बताए । डुबानमा परे पनि होटलको संरचना सुरक्षित रहेका कारण केही होटलहरु तत्कालै सञ्चालनमा आउने उनले बताए ।
 
‘डुबान घटेपछि सरसफाइ गरेका छौं । १५ वटा होटल बुधबारबाटै सञ्चालनमा आउने छन्’ संघले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । शुक्रबारदेखि चितवनमा लगारतार पानी परेको थियो । शनिबार राति १० बजेपछि सौराहामा बाढी पसेको थियो । सोमबार पूरै सौराहा क्षेत्र जलमग्न थियो । आइतबार अबेला पानी पर्न रोकिएपछि सोमबार डुबान स्वाट्टै घटेको थियो ।
 
होटल व्यवसायीहरुले सोमबारबाटै सरसफाइ सुरू गरेका थिए । महेन्द्रराजमार्गबाट रत्ननगर हुँदै सौराहा जाने आउने बाटो पनि ठाउँठाउँमा भत्केको थियो । सो बाटोको मर्मत पनि सोमबार नै सुरू भएको थियो । संघ र नगरपालिकाले सहकार्य गरेर बाटो मर्मत गरेको अध्यक्ष घिमिरेले जानकारी दिए । नदी किनारमा रहेका होटलहरुमा लेदोसहितको पानी पसेर ठूलो नोक्सान भएको छ ।
 
ती होटलहरु बाहेक अरु होटल हप्ता दिनभित्रै सञ्चालनमा आउने प्रेस विज्ञप्तिमा उल्लेख छ । दक्षिणतर्फ रहेको राप्ती नदी, उत्तरतर्फ रहेको कयर, बूढी राप्ती खोला र पूर्वतर्फ रहेको ढुङ्ग्रे खोलाको बाढी सौराहामा पसेको थियो । बलियो संरचना भएका होटलहरुमा लेदोसहितको बाढी पसेर नोक्सान गरे पनि भौतिक संरचनाहरु केही बिग्रेको छैन । तर, राप्ती किनारका रेष्टुरेन्ट र पबहरु घरसहित नै बगेका छन् ।
 
राप्ती किनारका पब र रेष्टुरेन्टको कच्ची संरचना हुन्छ । बाढीले ती संरचना मात्रै भत्काएको होइन खाडलसमेत बनाएको छ । त्यसैले पवहरु तत्कालै सञ्चालनमा आउने अवस्था भने छैन । बाढी आएका दिन सौराहामा लगभग छ सय पर्यटकहरु रहेको र सबैलाई सकुशल उद्धार गरेको संघले जानकारी दिएको छ । उद्धारमा संलग्न सबैलाई संघले धन्यवाद दिएको छ । 
 
‘राप्ती किनारामा रहेका होटलमा बढी क्षति भएकोले ती होटल सञ्चालन गर्न केही समय लाग्नेछ । हाम्रो प्राथमिकता भनेको जतिसक्दो चाँडो होटल सञ्चालन गर्नु नै हो । समयमा नारायणगढ–मुग्लिन सडक नबन्दा संकटमा रहेको सौराहाको पर्यटनलाई बाढीले थप आर्थिक व्ययभार थपेको छ’ संघका अध्यक्ष सुमन घिमिरेले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । संघले सहुलियत दिन सरकारसँग माग गरेको छ ।
 
‘करोडौं ऋण लिएर लगानी गरेका होटल व्यवसायी बाढीका कारण थप संकटमा परेका छन् । त्यसैले हामीले सौराहामा रहेका होटल व्यवसायीका लागि ऋणको ब्याज दरमा सहुलियत दिनका लागि सरकारसँग माग गर्छौं’ विज्ञप्तिमा भनिएको छ । सौराहाका होटल व्यवसाय आर्थिकरुपमा कमजोर हुँदा त्यसको प्रत्यक्ष मार राज्यलाई पर्ने भएका कारण सहुलियत दिन संघले माग गरेको हो । 
 
दुई वर्षअघि भुकम्प गएदेखि नै सौराहामा पर्यटन आवागमन प्रभावित हुँदै आएको छ । चितवन राष्ट्रिय निकुञ्ज देशकै प्रमुख तेस्रो पर्यटकीय गन्तव्य हो । सो निकुञ्ज घुम्न वर्षमा लगभग दुई लाखसम्म पर्यटक आउँछन् । निकुञ्ज घुम्न आउनेमध्ये ९० प्रतिशत पर्यटकहरु बस्न र खान सौराहा जाने गर्छन् । त्यसैले सौराहामा समस्या बढे चितवनकै पर्यटन प्रभावित हुने अवस्था छ ।