नेपाल समाचार

बाढीपहिरोका कारण ७५ जनाले ज्यान गुमाए, ५६ जना बेपत्ता

364 पटक पढिएको

14th Aug 2017, Monday | २०७४ श्रावण ३०, सोमबार ०३:०५
हिमालय खबर संवाददाता-
काठमाडौँ । बाढीपहिरोका कारण ज्यान गुमाउनेको संख्या ७५ पुगेको छ । प्रहरीका अनुसार २५ जना घाइते भएका छन् । २ हजार ८ सय ४७ घर क्षतिग्रस्त भएको प्रहरी प्रवक्ता पुष्कर कार्कीले जानकारी दिए ।
 
अहिलेसम्म ५६ जना बेपत्ता भएका छन् । बाढी तथा पहिरोमा परेर अहिलेसम्म ३३ जना घाइतेसमेत भएका छन् ।  प्रहरीकाअनुसार बाढी तथा पहिरोमा परेर देशभर २ हजार ६९८ वटा घर पूर्णरुपमा क्षति भएको छ भने ४८ हजार ५५६ वटा घर डुबानमा परेको छ ।  
 
प्रहरी प्रधान कार्यालयका अनुसार अहिलेसम्म देशभर २१ हजार ४६५ जना विस्थापित भएका छन् ।
 
बाढी क्षेत्रका बासिन्दा अस्वस्थ्य
 
सप्तरी जिल्लामा विगत छ दिनदेखि परेको मुसलधारे वर्षाका कारण विभिन्न नदी तथा खोलामा आएको बाढीबाट प्रभावित ग्रामीण तथा शहरी क्षेत्रका बासिन्दामा विभिन्न किसिमको रोग फैलिएको र त्यहाँका बासिन्दा बिरामी पर्न थालेका छन् । 
 
बाढीबाट कटान एवं डुबानमा परेका सप्तरीको प्रभावित क्षेत्रमा झाडापखाला टाइफाइड, ज्वरो, रुघाखोकी श्वासप्रश्वास, जिउ चिलाउने रोग फैलिएको स्थानीयवासीले बताएका छन् । 
 
सप्तरीकोे राजविराज, हनुमानगर, शम्भुनाथ नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका, बरसाइन, सकरापुर, बोदेवरसाइन, रुपनी, कंचरुप नगरपालिका सकरदही, जोगिनीया, भारदह, इनरुवा, किरपुरा, डलुवा बेलहीलगायतका ग्रामीण तथा बजार क्षेत्रमा विभिन्न किसिमका उक्त रोगको प्रकोप फैलिएको हो । 
 
विभिन्न रोग फैलिएका ती गाउँका स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी एवं चिकित्सक देखा नपरेको र औषधिसमेत अभाव रहेको सकरपुराका शिक्षक विपिन्न झाले गुनासो गरे । 
 
सप्तरीको दक्षिणी तथा पश्चिमी क्षेत्रमा कटान र डुबानका कारण पक्की घर भएका छतमा बसेका छन्, भने खपडा टिन र फुसका घर भएका बासिन्दा घर छोडेर खुला आकासमुनि सडकको छेउछाउमा बस्न बाध्य भएका कारण महिला, बालबालिका तथा वृद्ववृद्वामा स्वास्थ्य समस्या परेको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालका चिकित्सकले बताएका छन् । 
 
सो अस्पतालमा उपचारका लागि बाढीपीडित आउने गरेको बताइएको छ । यस सम्बन्धमा जिल्ला जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख नागेन्द्र चौधरीसँग सम्पर्क हुन सकेन । तर कार्यालयका कर्मचारीका अनुसार सम्बन्धित स्वास्थ्य चौकीका इन्चार्जलाई चौकीमा बस्न र बाढीपीडितका लागि सेवामा कमी हुन नदिन निर्देशन गरिसकेको बताइएको छ । 
 
बाढीका कारण ग्रामीण क्षेत्रका ठाउँठाउँमा बाटो फुटेको र तोडफोडले गर्दा सडक क्षतिग्रस्त भएकाले सवारी साधन आवतजावतमा समस्या भएका कारण राजविराज सदरमुकाम आउन पनि समस्या भएको बिरामीको गुनासो छ । 
 
छ दिनदेखि परेको वर्षाले सप्तरीको मोहुली, खाँडो, जिता, बिगुल त्रियुवा, खडक नदी र सप्तकोशी नदीमा आएको भीषण बाढीका कारण सप्तरीका करिब तीन हजारभन्दा बढी घर डुबानमा परेको जनाएको छ । बाढीबाट डुबानमा परेका एवं विस्थापित भएका परिवारका लागि उद्वार एवं राहत वितरण जारी रहेको प्रहरी उपरीक्षक मुकेश सिंहले बताए । 
 
सप्तरीमा बाढीबाट हालसम्म एकजना बेपत्ता भएका छन् भने ७५ प्रतिशत घरपरिवार बाढीबाट प्रभावित भएको अनुमान छ । राजविराज नगरपालिका–९ स्थित मलेठमा बाढीले नहर भत्काएको छ । राजविराज रुपनी सडक खण्डको पाँचकिलो भने ठाउँमा समेत सडकको भित्री भागमा बाढीले कटान गरेकाले सो सडकमा यात्रा गर्न कठिन भएको छ ।