जानी राखे राम्रो

अपमानको आगो भित्र विष्णुमायाको सफलता

2689 पटक पढिएको

हिमालयखबर | 14th Aug 2017, Monday | २०७४ श्रावण ३०, सोमबार ०६:५७
आफुभित्र दनदनी बल्दो अगोको रापलाई निभाउन विष्णुमाया परियारले के, के गर्नु भएन ? रेष्टुराँ र गार्मेमेन्टमा मात्र होइन  जिल्लाबाट आउने दाजुभाइलाई भात पकाउने र जुठो भाँडा माझ्ने काम समेत गर्नुभयो ।  त्यो आगो जातीय भेदभाव र छुवाछुत जस्ता समाजको कुरीति र कुप्रथा विरुद्ध दन्किएको थियो । 
 
तिक्ष्ण बुध्दि, पढाई प्रतिको एकहोरो लगन, केही गरेर  देखाउने तीव्र आकांक्षाले नै एउटी सामान्य  बिष्णुमायालाई  आजको यो सफलरुपमा ल्याइपुर्यायो। 
 
सन् २००४ मा सोसल एन्ड पोलिटिकल सिस्टममा ब्याचलर्स गर्नुभएकी डा विष्णुमाया केयर प्वाइन्टमा घरेलु हिंसा विरुद्ध काम गर्नु हुन्छ। उहाँ दलित महिला उत्थान संघ (एड्वन) कि अध्यक्ष पनि हुनुहुन्छ । 
डा. विष्णुमाया परियार
एड्वन मार्फत उहाँले महिला, र बालबालिकाका क्षेत्रमा उल्लेख्यनीय योगदान पुर्याउँदै आउनु भएको छ । दलित अधिकार, जातीय भेदवाव, घरेलु हिंसा, मानव अधिकार, सामाजिक, आर्थिक, राजनैतिक र शैक्षिकरुपमा महिला उत्थानको प्रशंसनीय कार्यकोलागि विभिन्न पुरस्कारबाट सम्मानित हुनुहुन्छ विष्णुमाया  । 
 
सन् २००६ मा सयुक्त राष्ट्र संघको ह्यूमन राईट्स एवार्डबाट उहाँ सम्मानित हुनुभयो । त्यसै वर्ष हार्डवर्ड विश्व विद्यालयले " ब्रिज विल्डर " अवार्डबाट सम्मान गर्‍यो ।
 
सन् २०१३ मा पाइन म्यानर कलेजबाट अनरेरी डाक्टरेड ( वियोण्ड द पीएचडी ) बाट बिष्णुमाया सम्मानित हुनुभयो ।  अन्य धेरै  पुरस्कार र सम्मानहरुबाट उहाँ सुशोभित हुनुभएको छ । यी सब सम्मान र योग्यताको पछाडि कठिन संघर्षका पलहरू पत्र पत्र परेर बसेका छन्  ।
 
समाजका कुरीति  विरुद्ध उहाँको जलन , घृणा , बदला , अपमान  तथा संघर्षका अविस्मरणीय पलहरुलाई आउनुहोस हामी पनि केही जानौं र बुझौं ।
 
गोरखाको ताक्लुङमा "परियार" परिवारमा जन्म भएको थियो उहाँको । धेरै छोराछोरी भएकोले बाबुआमालाई टार्न पुर्याउन गाह्रो थियो । पढ्न अति नै मन लाग्थ्यो बिष्णुमायालाई।  बाबुआमाले जेनतेन प्रथामिक शिक्षासम्म पढाए । त्यो भन्दा माथि पढ्न घरको आर्थिक अवस्था राम्रो थिएन। आफु भित्र दरो आत्मबल  थियो, आफै पैसा जुटाउन थाल्नुभयो । सुन्दा अचम्म लाग्न सक्छ तर सत्य हो । बुबालाई थाहा नै नदिएर खेतका रहल पहल मकै,  कोदो शिला खोजेर आफ्नो पढाई खर्च जम्मा गर्नुभयो।
 
बढो संघर्षकासाथ मनोकामना स्कुलबाट एसलसी पास गरी उच्च शिक्षाकोलागि काठमाडौँ आउनुभयो । पिसकोरका  अमेरिकी नागरिक जोनले पढाई खर्चको सहयोग नगरेको भए सायद पढ्न पाउनु सम्भव थिएन उहाँलाई । गाउँबाट जम्मा साठी रूपैंया मात्र लिएर शहर पस्नु भएकी थियो विष्णुमाया । संघर्षको क्रममा भाग्यले पनि उहाँलाई साथ दियो । पछि एउटी अमेरिकनकै आर्थिक सहयोगमा उहाँ अमेरिका पढ्न आउनुभयो ।
 
पढ्ने संघर्ष एकातिर छदै थियो अर्कोतिर समाजमा व्याप्त छुवाछुत र जातीय भेदभावलाई विष्णुमायाले पाइलै पिच्छे कति भोग्नु भयो कति । 
 
ती भोगाईहरुमा कति आँसु खसे, कति दबिए। कति मन दुख्यो, कति पिल्सियो त्यसको लेखा जोखा गरेर साध्य छैन । हेपाई र अपमानका ती एक एक इटहरूले उहाँको मन भित्र एउटा अठोटको बलियो घर बन्दै गयो ।
 
जातीय भेदभाव र छुआछुतको नमिठो त्यो घटना विष्णुमाया परियारको स्मरणमा गहिरो छाप बनेर बसेको छ ।  जुन आज पर्यन्त बारम्बार ताजा भएर आईरहन्छ ।
 
"इंटर मिडिएट सकाएर स्वावलम्बन विकास केन्द्रमा गतिलै पोस्टमा कार्यरत थिएँ म । सँगै काम गर्ने एउटा साथीको जन्म दिन थियो । साथीको जन्मदिन मनाउने कुराले खुशी हुँदै उपहार समेत किनेर ल्याएँ । साँझ साथीको घरमा भोज थियो । हामी सबै अफिसका साथी जम्मा भयौँ। गफगाफ, शुभेछ्या र शुभकामना दिँदै हामीले खुब रमाइलो गर्‍यौ । तराईको घर थियो त्यो । खाना खाने बेला भयो। साथीले सबैलाई मान सम्मानका साथ भित्र खाना खान बोलाइन् । मलाई त केही थिएन मनमा । सबै साथीहरूसँग भित्र जान लाग्दा एक्कासि साथी आएर रोकिन र भनिन् -" भित्र जानु हुँदैन । छोइन्छ, तिमी यही बस । म यहीँ  खाना ल्याईदिन्छु ।" आश्चार्य चकित भएँ म । अफिस र घरमा गरिने व्यवहारमा आकाश पातालको फरक थियो। पढे लेखेका, जाने बुझेका एउटा स्तरमा पुगिसकेका आफ्नै साथीबाट सबैको अगाडि जातकै कारणले अपमानित हुनुपरेकोले सारै ग्लानि भयो । मैले म भित्रको ईखलाई मर्न दिइन । उत्तिबेलै केही बनेर यो समाजलाई देखाउने अठोट लिएँ ।"
 
मलाई लाग्यो, त्यही चोटले विष्णुमायालाई संकल्प र अठोट दिएर यति संघर्षशील बनायो ।   
 
त्यसपछि लगत्तै  सन् १९९६ मा दलित महिला उत्थान संघ (एड्वन) नामक संस्था खोल्नु भयो उहाँले काठमाण्डौमा । संस्थाको मुख्य उद्देश्य  दलित अधिकारलाई सुनिश्चित गर्दै, जातीय भेदभाव र छुवाछुत रहित  हरेक पक्षबाट महिलाहरूलाई  सबल बनाउनु थियो । संस्थाले बालबालिकाको हकहितलाई पनि समेटेको छ ।
 
शुरुमा जम्मा दश हजार नेपाली रुपैंयाबाट शुरु गरिएको संस्थाले अहिलेसम्म आठ करोड भन्दा बढी रकम सङ्कलन गरी नेपालमा सहयोग गेरको छ । यसबाट प्रत्यक्ष अप्रत्यक्षरूपले चौध हजार भन्दा बढी बालबालिका र करिब पैंतिस हजार  महिला लाभान्वित  भएका छन् ।  सानो प्रयासबाट सुरु गरेको संस्थाले आज यो रूप लिएकोमा गौरव गर्नुहुन्छ उहाँ । लाभान्वित बालबालिका र महिलाका हर्ष अनुभूतिका चिठ्ठी र फोनले बिष्णुमायालाई असाध्यै खुशी बनाउँछ ।
 
कस्तो लाग्छ तपाईँलाई अहिले ती घटनाहरू संझिदा ? 
अमेरिकामा महिलाहरूको घरेलु हिंसा सम्बन्धी  हक अधिकारको सुरक्षामा लागिरहनु भएकी उहाँले यो पंक्तिकारको प्रश्नमा भन्नुभयो - "ती घटनाहरूलाई अहिले अबसरकोरुपमा लिन्छु। जसबाट म संघर्ष गर्न उत्प्रेरित भएँ। संघर्ष गर्‍यो भने सफल भईदो रहेछ।"
 
प्रेरणादायी उत्तर सुनेर मनभरि श्रद्धा उर्लियो ।
 
उहाँको सम्मानमा प्रत्येक वर्ष सेप्टेम्बर २७ लाई केन्ट्टकीको  लुईभील शहरले" बिष्णुमाया परियार डे" मनाउने घोषणा गरेको छ । 
 
नेपाल र अमेरिकाको सामाजिक न्यायको  क्षेत्रमा उल्लेख्यनीय भूमिका खेलेकोले उहाँलाई यो सम्मान प्रदान गरिएको हो । एउटा नेपालीको सम्मानले अर्को नेपालीलाई गौरव नलाग्ने कुरै भएन । विष्णुमायाको सत्य घटना संघर्षशील सबैकालागि प्रेरणा हुन सक्छ । 
 
(यो कथा होइन - दुःख बाँड्दा घट्छ । सुख बाँड्दा बढ्छ । हामी मानिस मन शान्तिकोलागि प्रयत्नरत छौँ । गुम्सिनु दुःख हो, पीडा हो ।  प्रस्फुटन प्राप्ति र आनन्द । कुनै त्यस्ता घटना छन् जुन तपाईँ भित्र उकुसमुकुस भएर बसेका छन् । तपाईँको स्मरणमा बारम्बार आउने गर्छन् । रूवाउँछन् , हसाउँछन् ,  अचम्भित पार्दछन् । वा त्यस्तो घटना जसले तपाइको वा कसैको जीवन बदलेको छ । कसैको मन छुन सक्छ ।  कसैलाई मार्ग निर्देश गर्छ । हो यस्ता शतप्रतिशत सत्य घटनालाई हामीले ससम्मान प्रकाशित गर्ने जमर्को गरेका छौँ । आफ्ना मूल्यवान ती पलहरू बाँड्न तपाँईको अन्तरआत्मा सहमत हुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् ।  www. Himalyakhabar.com / bitubaral@yahoo.com )
फोटो: विष्णुमायाको फेसबूकबाट