मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

नवनिर्वाचित मेयर रेणु दाहालका चुनौती र अवसर

नवनिर्वाचित मेयर रेणु दाहालका चुनौती र अवसर


लामो विवाद, लफडा र अन्योलपछि अन्ततः भरतपुरमा रेणु दाहाल र पार्वती शाहले मेयर र उपमेयरका रुपमा काम सुरू गरेका छन् । रेणु महानगरमा नेपालकै पहिलो प्रमुख बन्न पुगेकी छन् भने दुवै प्रमुख पदमा पहिला भएको भरतपुर नै पहिलो महानगर हो । मेयर रेणुले शपथ लिएसँगै आफ्नो पहिलो योजनामा भरतपुर अस्पतालमा महिलालाई ओपीडी टिकटमा छूट गरेकी छन् । म महिलाका लागि केही गरेर देखाउँछु भन्ने यो नै उनको पहिलो संकेत हो । जसरी प्रारम्भमा रेणु भरतपुरको मेयर बन्दा उनका कार्यकर्ता तथा समर्थकहरुमा बेग्लै उत्साह र उमंग छाएको छ, त्यसैगरी यो खुसीको माझमा उनका सामु थुप्रै चुनौतीका चाङ पनि देखिन्छन् । 
 
भरतपुर महानगरपालिकामा रेणुको उम्मेदवारी परेसँगै भरतपुरले राष्ट्रिय रुपमा चर्चा बटुलेको थियो । विशेषतः उनको उम्मेदवारी परे ताका उनका पिता प्रचण्ड देशको प्रधानमन्त्रीका रुपमा रहेका थिए । कांग्रेस र माओवादी केन्द्रको गठबन्धनमा सरकार बनेको थियो भने स्थानीय निर्वाचनमा पनि प्रायः जिल्लाहरुमा दुई दलको नै गठबन्धन भएको थियो । कांग्रेसको बलियो किल्ला मानिएको भरतपुर कांग्रेसका मेयरका उम्मेदवार दिनेश कोइरालाको नाम केन्द्रबाटै फिर्ता लिएर एक्कासि रेणु दाहाललाई कांग्रेसले समर्थन गरेपछि भरतपुर चर्चाको शिखरमा पुगेको हो ।
 
भरतपुरका २९ वडा वडामा माओवादी केन्द्रले जम्मा ३ वटा मात्र वडा अध्यक्ष जित्न सफल भयो । अन्य वडाहरुमा पनि माओवादीको भोट निकै कमजोर रहेको थियो । सानो र कमजोर दलले तल्लो तहमा कुनै सहमति र समझदारी नबनी माथिल्लो पद प्राप्त गर्नु आफैँमा अनौठो विषय थियो, जसले गर्दा पनि भरतपुरको राजनीति चर्चाको शिखरमा पुग्यो । कांग्रेस तथा माओवादी केन्द्र गठबन्धनले जसरी हुन्छ एमालेलाई एक्ल्याउन र स्थानीय निर्वाचनमा हराउने रणनीति बनाएकोले पनि भरतपुर राष्ट्रिय राजनीतिको केन्द्रमा पुग्यो । 
 
अर्काेतर्फ, भरतपुरको चुनावी सभालाई सम्बोधन गर्न तत्कालीन प्रधानमन्त्री प्रचण्ड कांग्रेस सभापति देउवासँगै एउटै मञ्चमा देखिए । हिजोको द्वन्द्वकालमा आपसी विरोधी र दुश्मन शक्ति आज एउटै मञ्चमा देखिनु पक्कै पनि सबैका लागि नौलो थियो । यो सबै अन्ततः रेणु दाहाललाई जिताउन नै गरिएको थियो । प्रचारमा मात्र आक्रामक शैली नभएर प्रचण्डले अघिल्लो सरकारमा रहँदा अन्य विकास आयोजनाको बजेटलाई रकमान्तर गरेर अरबौँ रूपैयाँ चितवनमा ल्याए । यसकै कारण चितवनमा प्रचण्डकी छोरीले भरतपुरमा जितेमा स्थानीय विकासमा केही हुन्छ भन्ने मनोभावनाको विकास भयो । स्वयं प्रचण्डले पनि चितवनको विकासका लागि म केही गर्न तयार छु भन्ने प्रतिबद्धता पटकपटक दोहो¥याए ।
 
निर्वाचन घोषणासँगै उनले औद्योगिक क्षेत्रको विकासमा विशेष चासो र सक्रियता देखाए । चितवन आफ्नो गृह जिल्ला पनि भएकाले भोलिको राजनीतिक भविष्यका लागि उनले चितवनप्रति विशेष चासो राखेका छन्, जसकै कारणले उनले चितवनको राजनीतिक मैदानमा आफ्नो छोरीलाई उतार्न सफल भए । अबको रेणुको विकास निर्माण र राजनीतिक यात्राको गति कसरी अगाडि बढ्छ भन्ने विषय भने सबैले हेर्न नै बाँकी छ । 
 
निर्वाचन प्रारम्भदेखि नै तातेको भरतपुर एक्कासि मतगणना प्रक्रियामा मतपत्र च्यातिएपछि झनै चर्चामा पुग्यो । निकै सुस्त र झन्झटिलो प्रक्रियाबाट चलिरहेको मतगणनामा प्रारम्भदेखि नै एमालेका देवी ज्ञवालीले लगातारको अग्रता लिइरहेका थिए । जब माओवादी केन्द्र र कांग्रेसको प्रक्षेपणमा गठबन्धनले मेयर पदमा हार्ने देखियो, तब एक्कासि मध्यरातमा भरतपुर १९ का मतपत्रहरु माओवादी केन्द्रका कार्यकर्ताबाट च्यातिए ।
 
जिल्ला प्रहरी कार्यालय र प्रमुख निर्वाचन अधिकृतले तयार गरेका प्रतिवेदन पनि आफैँमा बाझिन पुगे । गठबन्धन पुनः मतदानको पक्षमा उभियो भने एमाले पुनः मतगणनाको पक्षमा उभियो । नेपालको निर्वाचनसम्बन्धी कानुन पनि निकै पुरातनवादी थियो, जहाँ यस्तो अवस्थामा पुनः निर्वाचन हुने भनेर उल्लेख गरिएको थियो । प्रमुख निर्वाचन आयुक्तले रणभूमि, मतगणना स्थल कब्जा भन्ने शब्द प्रयोग गरेपछि स्वतः निर्वाचन हुने कानुनमा प्रावधान थियो । निर्वाचन आयोगले मतदानको निर्णय गरेसँगै मतगणनाको माग राख्दै एमाले कार्यकर्ताहरुले सर्वाेच्चमा मुद्दा हाले ।
 
निकै लामो छलफल र बहसपछि सर्वाेच्चले पनि पुनः मतदानकै पक्षमा निर्णय ग¥यो । १९ नम्बरको पुनः मतदानमा एमालेका देवी ज्ञवाली रेणुभन्दा २०३ मतले पराजित बन्न पुगे । नैतिक रुपमा देवीको जित भए पनि जनमत र प्राविधिक रुपमा भने रेणु नै भरतपुरको मेयर बन्न पुगिन् । अघिल्लो संविधानसभामा काठमाडौँको क्षेत्र नम्बर १ बाट पराजित भएकी रेणु, कांग्रेसको समर्थन र सहयोगमा भरतपुर महानगरपालिकाको मेयर पदमा निर्वाचित बन्न पुगिन् । अब उनले कांग्रेस र माओवादी केन्द्र दुवैको चाहनाबमोजिम सन्तुलनमा रहेर काम गर्नुपर्ने चुनौती थपिएको छ । 
 
नेपालमा सबैभन्दा जटिल विषय राजनीतिक अस्थिरता नै हो । नेपालको सरकार कुन बेला ढल्छ र कहिले बन्छ वा नयाँ समीकरण कुन दलसँग बन्छ भनेर कसैले ठोकुवा गर्न सक्दैन । सत्ता र सरकारका लागि जस्तोसुकै घृणित खेल पनि खेलिन्छ, जसको सबैभन्दा पछिल्लो उदाहरण राप्रपा पार्टीको विभाजन नै बनेको छ । पार्टी फुटाउनासाथ अब पशुपतिशमशेर राणाको समूह सरकारमा जाने भएको छ । त्यसैले, भोलि लामो समयसम्म यही गठबन्धन नेपाली राजनीतिमा कायमै रहला भन्ने कुनै ग्यारेन्टी पनि छैन । यदि कांग्रेस र माओवादी केन्द्रको केन्द्रीय सत्ता समीकरण चुँडियो भने पक्कै पनि त्यसको प्रतिबिम्ब भरतपुर महानगरमा पनि देखिने छ । कतै कांग्रेसका निर्वाचित प्रतिनिधिले रेणुलाई सहयोग गरेनन् भने पाँच वर्षसम्म काम गर्नका लागि उनलाई निकै कठिन हुनेछ ।
 
अर्काेतर्फ, झन्डै गठबन्धनकै हाराहारीमा वडा अध्यक्षहरु जितेको एमाले पनि भरतपुरमा कमजोर छैन । कुनै पनि विकासको योजनामा एमालेलाई लत्याएर जाऊँ भन्न खोजेमा वा उसले असहयोग गरेमा पक्कै पनि काम गर्न सहज हुने देखिँदैन । फेरि मतपत्र च्यातिएकै कारण देखाउँदै शपथ पनि अलग लिएको एमालेको मन बुझाउन मेयरलाई पक्कै पनि कठिन पर्दछ । उनीमाथि लागेका आरोपहरुको सम्पूर्ण खण्डन अब जनलोकप्रिय कामहरुबाट मात्र हुने छ । महानगरपालिकाको मेयर पद सम्हाल्नु भनेको पक्कै पनि उनका लागि राजनीतिक अग्निपरीक्षा पनि हो । स्थानीय तहको क्षेत्र र अधिकार स्पष्ट नभएको वर्तमान अवस्थामा पक्कै पनि काम गर्न त्यति सहज हुनेछैन ।
 
भरतपुर भर्खर मात्र महानगर भएकाले पनि यसको विकासको रेखा वा मार्गचित्र कोर्ने जिम्मेवारी पनि उनकै हातमा परेको छ । समयमै उर्वर भूमिमा भइरहेको प्लटिङलाई रोक्न नसकेमा र प्रत्येक घरघरमा दमकल पुग्न सक्ने बाटो निर्माण नगरेमा, सहरमा यथेष्ट पार्क, रंगशालाहरु, अन्तर्राष्ट्रियस्थलको सभाहल निर्माण गर्न नसकेमा नगरवासीले वास्तवमा महानगर हुनुको अनुभूति गर्न पाउने छैनन् । हाम्रो देशमा राम्रो राजनीतिक र प्रशासनिक प्रणालीको विकास नभएकाले पनि योजना बनाउन वा घोषणापत्रमा उल्लेख गर्न जति सजिलो छ, काम गरेर देखाउन त्योभन्दा कयौँ गुण कठिन देखिन्छ ।
 
मेयरको कुर्सीमा बसेर पाँच वर्षसम्म निष्कलंकित र स्वच्छ छवि कायमै राख्न सक्नु पनि अर्काे चुनौतीको विषय हो । मेयरले गर्ने काम कत्तिको नागरिकप्रति जवाफदेही र पारदर्शी बन्छ, त्यो त भोलि नागरिकका माझमा छर्लंग हुने विषय हो । मेयरका रुपमा निर्वाचित रेणु दाहालका माझमा जति चुनौतीका चाङ छन्, त्यति नै भोलिका लागि सुनौला अवसर पनि छन् । उनले ४० वर्षकै उमेरमा निकै मह¤वपूर्ण जिम्मेवारी पाएकी छन् । 
 
भरतपुरलाई बनाउन सकेमा उनको प्रतिष्ठा प्रचण्डकी छोरीबाट एक खुड्किलो माथि उक्लने छ । भरतपुर नै उनको भोलिको आशा र राजनीतिक सम्भावनाको केन्द्र पनि बन्ने छ । छोरीकै भूमिकाका कारण भोलि प्रचण्डलाई पनि चितवनलाई आधार बनाएर राजनीति गर्न सजिलो हुनेछ । कहिले कीर्तिपुर त कहिले रोल्पा, कहिले सिरहाबाट उठेका प्रचण्डलाई अबको आफ्नो निर्वाचन क्षेत्र चितवन बनाउन सहयोग पुग्नेछ ।
 
रेणुको मेयरको भूमिकाले चितवनमा विभाजित र खस्किएको माओवादी राजनीतिलाई केही हदसम्म भने पनि नयाँ ऊर्जा दिने छ । उनी भरतपुर महानगरकी पहिलो महिला मेयर भएकोले पनि उनले सुरू गरेका राम्रा काम भोलिको पुस्ताको लागि पनि निकै चासो र चर्चाको विषय बन्न पुगोस् भन्ने नै सबैले राखेको अपेक्षा हो । अब उनले कार्यकर्ता वा पार्टीका लागि राजनीति होइन, समग्र भरतपुरवासीका लागि केही गरेर देखाउने सुनौलो अवसर प्राप्त गरेकी छन् । उनले पाएको यो अवसरलाई श्रीखण्डजस्तो बहुमूल्य सामग्री बनाउँछिन् वा हँसियाको बिँड बनाउँछिन्, त्यो भने हेर्न नै बाँकी छ ।