अन्तर्वार्ता

मैले टिकट पाउनु पार्टीकै लागि गर्व : सन्तलाल घिसिङ

1976 पटक पढिएको

केशव भट्टराई / हिमालय खबर

7th Aug 2017, Monday | २०७४ श्रावण २३, सोमबार ०३:१३
सन्तलाल घिसिङ चितवनका सांस्कृतिक नेता हुन् । तामाङ समुदायमाझ सांस्कृतिक अभियन्ताका रुपमा चर्चित छन् उनी । तामाङ मुक्ति मोर्चामा रहेर सांस्कृतिक विभागमा क्रियाशील घिसिङ हत्याहिंसाको राजनीतिबाट क्रान्ति सफल नहुने भएकाले सांस्कृतिक आन्दोलनबाट सामाजिक परिवर्तन हुने ठान्छन् । तामाङ संस्कृतिको संरक्षण, जातीय पहिचान र पीडित सर्वहारा वर्गको उत्थानका लागि उनको भूमिका रहँदै आएको छ । राजनीतिशास्त्रमा बीए उत्तीर्ण ३९ वर्षीय घिसिङ भरतपुर–२४ स्थित जगतपुर नयाँबस्तीका स्थानीयवासी हुन् । माडीको अयोध्यापुरी, मेघौलीको पर्साबजार, जगतपुरको नयाँबस्ती, पार्वतीपुर र पदमपुरमा करिब दशवर्ष शिक्षण पेसामा बिताएका उनी ०५८ सालदेखि माओवादीको तामाङ मुक्ति मोर्चामा रहेर सशस्त्र विद्रोहभन्दा फरक धार अंगाल्दै सांस्कृतिक आन्दोलनमार्फत् जनतामा चेतना जगाउँदै हिँडेका एक कर्मठ र इमान्दार माओवादी नेता हुन् । 
 
नेकपा माओवादी–केन्द्रमा रहेर सांस्कृतिक क्रान्तिका एक्लो अभियन्ता उनी प्रदेश नं ३ अन्तर्गत चितवनको साविक क्षेत्र नं ५ बाट विधायक बनेर जनजाति, आदिवासी, दलित तथा अल्पसंख्यक समुदायको उत्थान गर्ने उद्देश्य बोकेका छन् । समाजसेवा र राजनीतिलाई नै आफ्नो पेसा ठान्ने उनी तामाङ समुदायका सञ्चारकर्मी पनि हुन् । उनले सिनर्जी एफएममा तामाङ भाषाको ‘जेसुम’ कार्यक्रम सञ्चालन गरेर सांस्कृतिक संरक्षणमा लागे । यालमाया, जालमायालगायतका दर्जनौँ चलचित्र निर्माण गरेर जनचेतना अभिवृद्धि गर्न जुटे । जसमध्ये ‘दुङ्गाल’ले इन्टरनेशनल इन्डिजिनियस फिल्म अवार्ड हासिल ग¥यो । तामाङ चलचित्र संघको संस्थापक केन्द्रीय अध्यक्ष, नेपाल सरकारको चलचित्र विकास बोर्डका सदस्यलगायत थुप्रै सामाजिक संघसंस्थामा आवद्ध उनीसँग हिमालय खबरका नेपाल संयोजक केशव भट्टराईले गरेको संवाद यहाँ प्रस्तुत गरिएको छ ।   
 
१) तपाईं सांस्कृतिक आन्दोलनका अभियन्ताका रुपमा परिचित हुनुहुन्छ । सांस्कृतिक क्षेत्रमा के कस्ता परिवर्तन भएको पाउनु भयो ? 
 
–सर्वप्रथम त सांस्कृतिक आन्दोलनको मर्म बुझ्नुपर्छ । यसभित्र सामाजिक, आर्थिक सबै पक्ष पर्दछन् । भाषा, संस्कृति र पहिचानको संरक्षण गर्दै कूरीति र कुसंस्कारको अन्त्य गरी वर्गीय समुदायको आर्थिक र सामाजिक रुपान्तरणमा परिवर्तन ल्याउनु नै सांस्कृतिक आन्दोलनको मर्म हो । तर, मेरै पार्टी नेकपा माओवादी केन्द्रले पनि यसको आत्मसात् गर्न सकेन् । दुर्भाग्य नै भनौँ, सांस्कृतिक आन्दोलनबाट समाज परिवर्तन गर्न सकिन्छ भन्ने सोच मेरोमात्रै हो भन्दा पनि हुन्छ । समुदायमा सामाजिक कूरीति र अन्धविश्वासले अझै पनि गाँजिरहेको छ । यस्तो स्थिति अझैसम्म विद्यमान छ । यसलाई हटाउन समुदायमा चेतनामूलक कार्यक्रम लिएर जानुपर्छ । मैले तामाङ चलचित्रबाट जेजति देखाउन सकेँ, त्योमात्र पर्याप्त भएन । पहिलेको अवस्थामा निकै सुधार आएको छ । तर, अझै सांस्कृतिक आन्दोलनको जरूरी देखिएको छ । 
 
२) प्रदेशको विधायकमा तपाईंको आकांक्षा किन ? 
 
–हाम्रो पार्टीले जुन जातीय पहिचानको एजेन्डा उठाएको छ । माओवादी केन्द्रले आत्मनिर्णयको अधिकारसहित तामसालिङ राज्यको एजेन्डा अघि सारेको थियो । प्रदेश नं ३ मा १३ वटा जिल्ला पर्दछन् जहाँ तामाङ जातिको अत्यधिक बाहुल्यता रहेको छ । आदिवासीको पहिचानसँग गाँसिएको तामसालिङ प्रदेश भएकाले त्यसका लागि म आफूलाई सबै दृष्टिले योग्य ठानेको छु । म जुन ठाउँमा बस्छु, चितवनको साविक क्षेत्र नं ५ अन्तर्गत भरतपुर–२४ को जगतपुर नयाँबस्ती, जहाँ बहुसंख्यक तामाङ र जनजाति भएको सुकुमबासी क्षेत्र हो । जनताले मेरो नेतृत्व चाहिरहेको र म स्वयम् पनि सर्वहारा वर्गकै भएकाले पहिचानवादी आन्दोलनका लागि मेरो तीव्र आकांक्षा रहेको छ । 
 
३) जनताले तपाईं र तपाईंको पार्टीलाई नै मत दिनुपर्ने किन ? 
 
–अत्यन्त मह¤वपूर्ण प्रश्न सोध्नुभयो केशवजी । हाम्रो पार्टीले हारिरहँदा हाम्रै पार्टीले उठाएका एजेन्डाहरुको जीत भएको छ । संघीयता, पहिचान, धर्मनिरपेक्षता, गणतन्त्र र उज्यालो अभियानजस्ता परिवर्तनगामी एजेन्डा नितान्त माओवादी केन्द्रले उठाएको हो । तर, समस्या के देखियो भने, यस एजेन्डा हामीले जनतालाई राम्रोसँग बुझाउन सकेनौँ । सिंहदरबारको अधिकार गाउँगाउँमा स्थापित गराउने एजेन्डा उठाउने हामी आफैँ कमजोर देखियौँ । परिवर्तनको मुद्दा उठाउने पार्टी कमजोर हुँदै जाने, परिवर्तनविरोधी र बुर्जुवा पार्टी नै हाबी हुने स्थिति देखिनु व्यवहारिक रुपान्तरण हुन नसक्नुको परिणति हो । त्यसैले त मैले पटकपटक भन्दै आएको छु कि जनताको चेतनाको स्तर उकास्न सांस्कृतिक अभियान अनिवार्य छ । पार्टीभित्र गुटबन्दीको अन्त्य गर्दै व्यक्तिगत स्वार्थलाई त्यागेर जनताले रुचाएको व्यक्तिलाई उम्मेदवार बनाउने र आफ्ना एजेन्डा सांस्कृतिक क्रान्तिमार्फत् अघि बढाउन सकियो भने हामीप्रति जनताको अपार समर्थन र मत हासिल हुनेमा शंका छैन । परिवर्तन चाहने र यही परिवर्तनमार्फत् देशलाई विकास र समृद्धिको मार्गमा दौडाउने पार्टी भएकाले माओवादी केन्द्र र म सन्तलाल घिसिङलाई जनताले मत दिएर एजेन्डा कार्यान्वयन गर्न सहयोग पु¥याउने विश्वास मैले लिएको छु । 
 
४) यस क्षेत्रमा तपाईंका प्रमुख मुद्दा के के हुने छन् ? 
 
– साबिक क्षेत्र नं ५ बाट विधायकका लागि प्रतिनिधित्व गर्न पाएको अवस्थामा मैले दुईवटा स्थानीय मुद्दालाई प्रमुख रुपमा उठान गर्नेछु । जगतपुर नयाँबस्ती, निकुञ्जले प्रभावित मध्यवर्ती क्षेत्रमा पर्छ । निकुञ्जबाट प्रभावितको समस्या अझैसम्म सामधान हुन सकिरहेको छैन । निकुञ्जलाई संरक्षण गर्ने बहाना बनाएर बोटे, माझी, कुमाललगायतको परम्परागत जीविकोपार्जन गर्ने पेसा नै खोसिएको छ । अन्तर्राष्ट्रिय श्रम महासन्धि–१६९ को नियम उल्लंघन भैरहेको छ । परम्परागत जीविकोपार्जन गर्न नदिने र वैकल्पिक व्यवस्थापन पनि नगर्ने गरेर बोटे, माझी, कुमालको पेसा संकटमा पारिएको छ । म उनीहरुका लागि पेसाको विकल्पको खोजी गर्नेछु । 
 
अर्को, ०३५ सालदेखि किसानको जग्गा ऐलानी अवस्थामै छ । अझैसम्म सुकुमबासी समस्याको समाधान हुन सकेको छैन । यसको सुनुवाइ गरेरै छाड्ने छु । जनचेतनाको अभावका कारण चोरी शिकार नियन्त्रण हुन सकिरहेको छैन । त्यसका लागि सरकार जिम्मेवार बन्नुपर्छ । सरकारले जनताको समस्याको उचित समाधान गरी जनचेतना जगाउने हो भने निकुञ्ज र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्न सकिन्छ । 
 
५) तपाईंले चुनाव जित्ने आधार के छ ? 
 
–स्थानीय ठाउँमा चिरपरिचित र यस क्षेत्रका समुदायसँग दुःखसुखमा सहकार्य गर्दै आएको छु । सबैको विश्वास जितेको छु । जनताको प्रतिनिधित्व गर्ने व्यक्ति राजनीतिक विचारधारा र दर्शनभन्दा पनि सामाजिक रुपमा कस्तो चरित्र छ, सक्षम छ कि छैन, विधेयक प्रस्तुत गर्न सक्छ कि सक्दैन भन्ने कुराले बढी प्रभाव पार्ने भएकाले मलाई अन्य दलको पनि सहयोग र समर्थन छ । 
अर्को जित्ने आधार भनेको यस क्षेत्रको कूल जनसंख्याको एकतिहाईभन्दा बढी तामाङ, आदिवासी र दलितहरुको बसोबास रहेकाले राजनीतिक दृष्टिकोणभन्दा सामाजिक र सांस्कृतिक दृष्टिकोणबाट जनताले मलाई भोट दिने आधार देखेको छु । मैले अवसर पाएको खण्डमा चुनाव जित्ने शतप्रतिशत विश्वास मलाई छ । 
 
६) पार्टीले तपाईँलाई नै टिकट किन दिने ? 
 
–मैले अघि नै भनिसकेँ । यस क्षेत्रमा एकतिहाई प्रतिनिधित्व जनजाति, आदिवासी र दलितकै छ । सबैको प्रतिनिधित्व गर्ने क्षमता मसँग छ । उनीहरुको विश्वास जितेको छु र उनीहरुकै चाहना पनि मेरो प्रतिनिधित्व होस् भन्ने नै छ । स्थानीय रुपमा जनताले व्यक्ति र उसको व्यक्तित्वलाई हेरेर मतदान गर्ने भएकाले त्यो क्षमता र दक्षता दुवै मसँग छ । पार्टीले मूल्यांकन गरे मैले जितेर देखाउने छु । मेरो जीत भनेकै माओवादी केन्द्रकै जीत हो । जनताले साथ दिएको अवस्थामा पार्टीले पनि उचित मूल्यांकन गर्छ भन्ने विश्वास छ । सर्वहारा वर्गबाट नेतृत्व गर्नुपर्छ भन्ने पार्टीले अवश्य नै न्याय गर्छजस्तो मलाई लागेको छ । 
 
७) आफ्नो क्षेत्रलाई कस्तो बनाउने सपना छ तपाइँसँग ? 
 
–म समस्या समाधानमा कटिबद्ध छु । यहाँको समस्याबारे मलाई राम्रोसँग ज्ञान पनि छ । किनभने, म आफैँ एउटा पीडित हुँ । आजीवन सुकुमबासीको पहिचान छ मेरो । २०४० सालदेखि मजस्तै समस्याग्रस्त अवस्थामा रहेका जनता छन् यहाँ । जसले जिते पनि अझै व्यवस्थापन हुन सकेको छैन । निकुञ्ज र जनताको सुरक्षाका लागि तारबारले घेरेर पनि राख्न सकिएको छैन । सीधासाधा जनताले निकुञ्जको सुरक्षाका नाममा दुःख र यातना भोग्नु परिरहेको छ । म यसबाट मुक्ति दिलाउन चाहन्छु ।