जीवन एक - मोड अनेक

आँटिला व्यापारीको जीवन यात्रा

4067 पटक पढिएको

गार्मेन्ट व्यापारदेखि अमेरिकाको लिटिल नेपालसम्म

हिमालयखबर | 5th Aug 2017, Saturday | २०७४ श्रावण २१, शनिबार ०८:१६
(जीवन अचम्मको छ । साधारण लाग्छ हेर्दा । तर बुझ्दै जाँदा यो गहिरो र रहस्यमयी  लाग्छ । सामान्य लाग्ने मानिसका पनि जीवनमा अनेक असमान्य घटना घट्छन् । कुनैबेला कसैको जीवनका ती अनुभवहरू अरुकालागि उदाहरण र प्रेरणा श्रोत बन्न सक्छन् । मानिसको जीवन त एउटै हुन्छ तर त्यहाँ धेरै मोडहरू पार गर्नु पर्ने हुन्छ । जीवनभित्र संघर्षका कथाहरू हुन्छन् । खुशी र उन्मादका क्षणहरु आउँछन् । आफूले कल्पनै नगरेका सफलताका मोडहरू फेला पर्छन् । यिनै सेरोफेरोमा हामीले, प्रवासमा बसेर समयसँग कुस्ती खेल्दै जीवनको यात्रालाई डोर्याइरहेका नेपालीहरूको खुशी अनि कथा व्यथा प्रस्तुत गर्ने  यो नयाँ स्तम्भ प्रारम्भ गरेका छौँ - सम्पादक )
 
काठमाण्डुको ठमेल, जेपी हाइस्कुल छेउमा पाण्डेजीको टी- सर्ट पसल अझै पनि गुल्जार देखिन्छ । ग्राहकहरुको दिनहुँ चहलपहल हुने त्यो पसलका मालिक भने त्यहाँ विरलै भेटिन्छन् । पाण्डे ह्यान्डिक्रयाफ्टको नामले शुरु भएको त्यो पसलका मालिक पुरुषोत्तम पाण्डे यतिबेला अमेरिकाको कोलोराडोमा  रैथाने भएका छन् । त्यसैले उनलाई ठमेलको टी - सर्ट पसलमा कहाँ भेटिनु ! " इदका चाँद "  झैं आक्कल झुक्कल देखिन्छ त्यहाँ उनलाई ।  कोलोराडोको दोश्रो ठूलो शहर कोलोराडो स्प्रिङ्गको  8th Street  मा उनको दिनचर्या बित्तैछ हिजोआज । पुरुषोत्तमलाई पनि अमेरिकी मोहले नेपालबाट हुत्याएर यहाँ ल्याइ पुर्यायो । 
 
नेपालमै व्यापार व्यवसाय फस्टाएर हुनेखानेमा गनिन थालेका पाण्डे किन यसरी परदेश भासिए होला ? आफ्नो जन्मथलो स्याङ्जा, आलमदेविदेखि कोलोराडो स्प्रिङ्गसम्म आइपुग्दा उनले आफ्नो जीवनमा केकस्ता मोडहरु पार गरे ? यिनै विषयमा जान्ने उत्सुकता बोकेर हिमालयखबरको टोली  उनको प्रवाश थलो स्प्रिङ्गस्थित नेपाली रेष्टुराँ Little Nepal पुग्यो ।  नेपाली कला र संस्कृति झल्किने त्यो रेष्टुराँको बाहिरी र भित्री रुपले पहिलो नजरमै मलाई आकर्षण गर्यो । भित्र पस्ने बित्तिकै पुरुषोत्तम पाण्डेले  हँसिलो र फुर्तिलो मिजासले हाम्रो स्वागत गरे । साँझको पाँच बजे, दुई घण्टाको बिश्रामपछि रेष्टुराँ खुल्दै थियो ।  गोरा ग्राहकहरु भित्र पस्न थाले । एकछिनको औपचारिकतापछि उनले हामीलाई अर्कै कोठामा लगे । त्यसै पनि कुराकानीकोलागि शान्त, हल्ला नहुने ठाउँ चाहिने नै थियो ।  
 
वकिल बन्नु पर्ने मान्छे गार्मेन्ट व्यापारी 
पुरुषोत्तम पाण्डे
गाउँको हुनेखाने परिवारमा २०१३ साल कार्तिकमा कान्छो छोरो भएर जन्मिएका पुरुषोत्तमले त्यति धेरै गरिबीको उतार चढाव बेहोर्नु परेन । बुबाको खाध्यान्न र लत्ता कपडाको पसल थियो । दुइछाक मीठो मसिनो खान र गाउँकै स्कुलमा पढ्न पाउने भाग्यमानी मै पर्थें उनी । विर्घाको जनता माविबाट एस एल सी सकेपछि कलेज पढ्न काठमाण्डु हानिए पुरुषोत्तम । वकिल बन्ने धुन थियो ,  २०३३ सालमा ल क्याम्पस भर्ना भए ।  पढाइमा अब्बल नभए पनि औसत भन्दा माथि नै थिए  । सजिलै कानुनमा स्नातक पुरा गरे पुरूषोत्तमले २०३९ मा । 
 
बीएल सकेर त्यतिबेलाका चर्चित वकिल मुकुन्द रेग्मीको ल फर्ममा काम थाले उनले । एक वर्ष जति त्यहाँ प्राक्टिस गरेपछि पुरूषोत्तमको चन्चले मन भौंतारिन थाल्यो । त्यतिबेला काठमाण्डुको ठमेल विदेशीहरुको आकर्षण स्थल थियो , उनलाई पनि त्यहाँको चकाचौंधले तान्न थाल्यो । त्यहाँ नेपाली कला र संस्कृति झल्किने लुगाहरु देख्थे , थान्का र अन्य नेपाली हस्तकलाका सामानहरुमा विदेशीहरु झुम्मिएको पाउँथे ।  उनलाई पनि त्यस्तै व्यापार गर्न पाए कति फाइदा हुँदो होला भन्ने उत्सुकताले डोर्याउन थाल्यो ।  
 
उनको ध्यान अब वकिलतिर हैन विदेशीहरु घुम्ने ठाउँमा पसल खोल्ने हुटहुटीले तान्न थाल्यो । टीसर्ट, नेपाली कागजको क्यालेन्डर, पस्मिना र अन्य तयारी लुगाहरुको व्यापारतिर आकर्षित भए पुरूषोत्तम । त्यही औडाहा र लगावले २०४३ सालमा पाटनको मंगलबजारमा उनको पहिलो पसल खुल्यो । 
 
उनले पसल खोलेकै वर्ष क्यानडाको एउटा ठूलो व्यापारिक टोली कन्कर्ड जेट लिएर काठमाण्डु आएको थियो । १५० जनाको उक्त टोलीका क्यानाडेली व्यापारीले भक्तपुरका सबै पसल रित्याइदिएको समाचार पुरूषोत्तमले थाहा पाए । 
 
तुरुन्तै मंगलबजारको आफ्नो पसलमा उनले सामानहरु थपे । भक्तपुर रित्तो पारेपछि त्यो टोली मंगलबजार छिर्यो । उनको पसलका सबै सामान निख्रिए । सामान निख्रिएकोमा जति खुशी उनलाई भयो , त्योभन्दा पनि डलरमा आफ्नो सामान बिक्री भएकोमा  थियो । एउटा नेपाली व्यापारीलाई त्योभन्दा ठूलो खुशी अरु के थियो होला ! पुरुषोत्तमले आफ्नो आश्चर्य मिश्रित प्रश्न हामीसंग गरे ।  
 
त्यो घटनाले उनलाई व्यापारमा झनै प्रोत्साहित गर्यो । २०४४ सालमा ठमेलको जेपी हाइस्कुल छेउमा त्यस्तै गार्मेन्टको होलसेल पसल खोले पुरूषोत्तमले । उनलाई डलरको आकर्षणले लोभ्याइ सकेको थियो । 
 
ठमेलको पसल राम्रो चल्न थाल्यो । पुरुषोत्तमसंग व्यापार बढाउने लगन र जोखिम लिनसक्ने आँट थियो । त्यसैले उनले पछाडि फर्किन जानेनन् । रंगीन धागोको(आर्टसील )  व्यापार गर्न थाले । दिल्ली पुगेर एक्कैचोटी उनले ठूलो परिमाणमा त्यो धागो लिएर आए । मनमा चिसो पनि थियो - धागो बिक्री नभए के गर्ने ! तर पाण्डेको हिम्मत , लगन र शायद भाग्यले पनि साथ दियो , राम्रो नाफा कमाए । 
 
कानुन मन्त्रालयमा केही समय नासुको जागिर पनि खाए । तर त्यसले पनि उनलाई आकर्षित गर्न सकेन । घुस नखाई काठमाण्डुको जागिरे जीवन पाल्न मुश्किल हुन्थ्यो । उनको मनले त्यो कुरा स्वीकार गरेन । गरीब नेपालीलाई ठग्नुभन्दा व्यापार मार्फत  विदेशीहरुबाट पैसा कमाउनु नै उनकोलागि उत्तम लाग्यो । 
 
वकिल पेशामा लागेको भए शायद न्यायाधीस हुन्थें, सरकारी जागिर नछोडेको भए सचिवसम्म बन्थें होला । 
तर मेरो जीवनको मोडले मलाई व्यापारतिरै हिंडायो, म यसैमा खुशी छु - आफ्नो सन्तुष्टी पुरूषोत्तमले यसरी व्यक्त गरे । 
 
अमेरिकी  मोह 
कोलोराडोको दोश्रो ठूलो शहर  स्प्रिङ्गको  8th Street  मानेपाली रेष्टुराँ Little Nepal
 
नेपालमा व्यापारबाट आर्जन गरेको पैसा खर्च गरेर अमेरिकामा अर्को व्यापार खोल्न पाए गजबै हुन्थ्यो होला भन्ने सोचले उनलाई सधैं घोच्न थाल्यो । क्यानेडिएन व्यापारीलाई नेपालमा आफूले डलरमा सामान बेचेको झल्झल्ति सम्झिन थाले पुरुषोत्तम ।त्यही डलरको मोहले  सन् २००३ जुन महिनामा उनी टेक्ससको ड्यालस आइपुगे । एउटा अरबी वकिलको सल्लाहमा ८० हजार डलर खर्च गरेर Laxmi International LLC भन्ने कम्पनी दर्ता गरे । परिवार नेपालमै थियो । त्यो कम्पनी खोलेर उनी परिवार लिन नेपाल फर्के । नेपालमा धेरै समय बस्ने कुरै थिएन , अमेरिकमा व्यापार शुरु गरिहाल्ने औडाहा थियो । श्रीमती र छोराछोरी लिएर फर्किए ।  आफ्नो लगन र आत्मविश्वास बोकेर पुरुषोत्तम टेक्ससको स्यानो शहर कुइन्ल्याण्डमा एउटा ग्यास स्टेसनको मालिक भएर अमेरिकी जीवनको नयाँ अनुभव भोग्न थाले । तीन वर्षभन्दा बढी त्यहाँ बिताएपछि पनि उनको उकुसमुकुस रोकिएन । छोराछोरी पनि ठुलै शहरतिर बस्नु पर्छ भनेर जिद्दी गर्न थाले । यस्तै उकुसमुकुसले उनलाई चलिराखेको स्टोर बेच्न वाध्य बनायो , २००६ डिसेम्बरमा पुरुषोत्तम  स्टोर बेचेर कोलोराडो घुम्न हिंडे ।  
 
बोल्डरले उनलाई लोभ्यायो , नेपाल झैं सम्झे कोलोराडो । त्यतैतिर बसेर व्यापार व्यवसाय शुरु गरिहालौं भन्ने औडाहा मनभित्र जाग्न थाल्यो ।  तर साथीहरुले क्यालिफोर्निया पनि हेर , त्यता झनै राम्रो होला भन्ने सल्लाह दिएकोले पुरुषोत्तम लसएन्जलस पुगे । उनलाई क्यालिफोर्नियाले तान्न सकेन । त्यहाँ भाडा धेरै महङ्गो लाग्यो , कोलोराडो फर्के । 
 
पुरूषोत्तमको अन्तरमनले सोचिसकेको थियो कोलोराडो नै व्यापारकोलागि उपयुक्त ठाउँ हुनसक्छ । आखिर त्यस्तै भयो, डेनभरमा तीनवटा सटर भाडामा लिए , नेपालमा भएका   तयारी पोशाक र अन्य सबै सामान झिकाए ।  टीसर्ट र उपहारका तीन कन्टेनर सामान आइपुग्यो । थोक र खुद्रा दुबै व्यापार शुरु गरे । पुरूषोत्तमको भाग्य बलियो रहेछ । आफ्नो परीश्रमलाई भाग्यले पनि साथ दियो । उनको लगानी त उठ्यो नै २० हजार डलर कमाए ।
 
आँटिला व्यापारी 
गार्मेन्ट पसल काठमाडौँ 
हातमा मनग्गे पैसा भएपछि उनको आँतमा अरु हिम्मत थपियो । कति गार्मेन्ट र गिफ्ट आइटम मात्रै बेच्नु , नयाँ व्यवसाय किन नगर्ने ! उनको मनले फड्को मार्यो , पुरानो व्यापार छोडेर रेष्टुराँ तिर लागे । जीवनमा कहिल्यै नगरेको रेष्टुराँ व्यवसायमा हाम्फाल्दा स्याङ्गजाका चिनेका भाइमित्र केशवराज अधिकारीले भरथेग गरे । अधिकारी कोलोराडो स्प्रिङ्गको एसियन गार्डेन नामको रेष्टुराँमा काम गर्थे । उनको सल्लाह र हिम्मत पाएपछि पुरूषोत्तमलाई के चाहियो ! २००७ मा उनले नितान्त नौलो व्यवसायमा पाइला राखे । पछि त्यसैको नााम परिवर्तन गरेर लिटिल नेपाल भयो । कोलोराडोमा पुरूषोत्तम अहिले त्यही लिटिल नेपालले चिनिन्छन् । उनी आफु खाना बनाउन माहिर छैनन् तर रेष्टुराँको अरु सबै व्यवस्थापन गर्छन् । 
 
पुरूषोत्तमको व्यापारी मन रेष्टुराँ मै मात्र के थामिन्थ्यो ! उनी फेरि २००९ मा क्यालिफोर्निया लागे श्रीमती संगै लिएर । Concept Craft  भन्ने नाममा Export Import  को व्यापार शुरु गरे । यता कोलोराडोको लिटिल नेपाल चलेकै थियो । आफु बुढाबुढी मिलेर चार वर्ष क्यालिफोर्नियाको व्यापार चलाए । तर उनको मन भने कोलोराडो स्प्रिङ्गतिरै अल्झेको थियो । आफ्नो छोरी ज्वाँइलाई क्यालिफोर्नियाको Concept Craft जिम्मा लगाएर २०१३ मा पुरूषोत्तम कोलोराडो फर्के ।  
 
यी आँटिला व्यापारीको आफ्नै पारिभाषा छ व्यापारको । उनी नशा भन्छन् व्यापारलाई । तर त्यो नशामा लगन, इमान्दारी र आत्मविश्वास भएमात्र व्यापार सफल हुने उनको अनुभव छ । शायद त्यसैले पुरुषोत्तम निस्क्रिय बस्न सक्दैनन् । व्यापारमा उनको गति चलायमान देखिन्छ ।  
 
सबैथोकका धनी एउटै चिजको अभाव 
श्रीमती भगवति पाण्डेसंग
आर्थिकरुपले सम्पन्न मै गनिन्छन् पुरुषोत्तम । खुशहाल पारिवारिक जीवन छ । २०३१ सालमा भगवति पाण्डेसंग माँगी विवाह भएको थियो । दुई वर्ष पनि संगै बस्न नपाई उनी पढ्न राजधानी सरे । झन्डै चार वर्ष श्रीमतीबाट छुट्टिएर बस्नु पर्दाको पीडा उनले बुझेका छन् । त्यसैले यता प्रवाश पसेपछि जता गएपनि श्रीमतीको साथ छुट्दैन । व्यापार व्यवसायमा पनि दुबै संगै हुन्छन् । अब त छोरी ज्वाँइले पनि भरपर्दो साथ दिएका छन् । छोरो मेडिकल डाक्टर छन् । नेपाल र अमेरिका  गरी चारवटा घरका धनी हुन् पुरुषोत्तम । नाच गानका निक्कै शौखिन छन् उनी । 
 
बुबा आमा हुनुहुन्न । आफ्नो देश छोडेर परदेशमा सम्पन्नता खोज्दै हिडेका पुरुषोत्तम बेला बेला आफ्नो गाउँ र नेपाल सम्झेर कल्पिन्छन् । सबैथोक भएर पनि त्यो गाउँ  ,त्यो माटोको स्पर्श पाउन सकिँदैन यहाँ - उनको अन्तर मनको व्यथा यसरी पोखिन्छ । 
 
पहिलो चोटि काठमाण्डुमा घर बनाएर सरेको दिन आफ्नो  जीवनको सबैभन्दा खुशीको क्षण मान्ने पुरुषोत्तम पाण्डे अमेरिकामा दुइटा घर जोड्दा खासै धेरै खुशी देखिदैनन् । 
 
यो त आवश्यकताले वाध्य पारेको हो रहरले हैन -  भन्छन् उनी । उनको इच्छा र रहर त स्याङ्गजाको पुर्ख्यौली घर कुनै स्वास्थ्य संस्थालाई प्रदान गरेर गाउँमा स्वास्थ्य सेवा पुर्याउने छ । यस्तो पुनित काममा आफ्नो डाक्टर छोरोको सहयोग र सक्रियता हुने विश्वास उनलाई छ । 
 
पुरुषोत्तम वर्षको २/ ३ चोटि नेपाल पुग्छन् । आफ्नो व्यापार व्यवशाय सुपरिवेक्षण गर्छन् । गाउँ घरतिर पुगेर सेवा गर्छन् । यता पनि आफ्नो समुदायलाई परेको बेला सहयोग पुर्याउछन् । यहाँको नागरिकता लिएका छैनन् अहिलेसम्म । उनको भित्री इच्छा त नेपाल नै फर्किने छ । अवकास पछिको जीवन आफ्नै गाउँ ठाउँको सेवामा बिताउने पुरूषोत्तमको इच्छा रहर मात्रै हो वा  पुरा भएरै छोड्छ ! भविष्यले बताउला । तर यी आँटिला व्यवशायीको आजसम्मको जीवन यात्रा हेर्दा लाग्छ उनको अन्तिम मोड भनेको नेपाल हो ।  
 
Email: tbaral09@gmail.com