मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

थोरै पुँजी भए पनि अमेरिकी सेयरमा लगानी गर्न थालौं

थोरै पुँजी भए पनि अमेरिकी सेयरमा लगानी गर्न थालौं


शेयरमा लगानी गर्ने भन्ने बित्तिकै नेपाली समुदाय पैसा डुब्ला भनेर डराउने गरेका छन् । अमेरिकामा बसेका नेपाली समुदाय पनि यस्तै ठान्छन् । केही बचत भएको पैसा सेयरमा लगानी गर्नुसन भन्यो भने यसलाई पैसा गुम्ने ठाउँ ठान्ने अधिकांश नेपाली छन् । 
 
जबकि दीर्घकालका लागि लगानी गर्ने हो भने अमेरिकाको सेयर बजारमा गुमाउने भन्दा कमाउने सम्भावना बढी छ । छोटो समयका लागि र कम्पनीको वित्तीय अवस्था नहेरि लगानी गर्दा भने लगानीकर्ताले गुमाउनुपर्ने हुन्छ । 
 
अमेरिकाको अर्थतन्त्र बलियो भएको तथ्यांक बाहिर आऊदा बजारमा कम्पनीको सेयर मूल्य घट्ने गरेको छ । अर्थतन्त्रमा सुधार भएको र रोजगारी बढेको तथ्यांक सार्वजनिक हुदा सेयरको मूल्य बढ्ने गरेको छ। कुनै ठुलै राजनीतिक उथलपुथल हुने घटना बाहेक अमेरिकी सेयर बजार अर्थतन्त्र र कम्पनीको अवस्थामा केन्द्रित छ । 
 
शेयरमा लगानी गर्नु भनेको कम्पनीको मालिक हुनु हो । थोरै लगानी भए सानो सेयर होल्डर र धेरै लगानी गर्ने ठुलो हुने हो । यसरी लगानी गर्ने शेयर होल्डरलाई कम्पनीले कमाएको पैसा लाभांशका रूपमा दिने गर्छ । अमेरिकामा कम्पनीले तीन–तीन महिनामा यस्तो लाभांश सेयरका लगानीकर्तालाई दिने गर्छन् । दीर्घकालमा बजारमा सेयरको मूल्य बढेर हुने फाइदा अलग्गै छ । यसैले सेयरमा लगानी गर्दा दीर्घकालमा फाइदा नै हुने पक्का छ । 
 
सेयर बजारमा कम्पनी हेरेर लगानी गर्ने हो । कमाई र राम्रो ब्राण्ड भएको कम्पनीको शेयरमा लगानी गर्दा गुमाउने भन्दा कमाउने सम्भावना बढी हुन्छ । अझ अमेरिकाको शेयर बजारमा लगानी गर्दा जुनसुकै कम्पनीको शेयर किन्ने हो भने गुमाउने सम्भावना पनि अधिक हुन्छ । कम्पनी छनोट गरेर लगानी गर्ने हो भने अमेरिकी शेयर बजारमा कमाउने सम्भावना पनि उत्तिकै छ । 
 
नोभेम्बरमा नयाँ राष्ट्रपति चुनिएपछि अमेरिकी सेयर बजार बढेको बढ्यै छ । करका दर घटाउने घोषणा नयाँ राष्ट्रपतिले गरेपछि सेयर बजार बढेको हो । अमेरिकी केन्द्रीय बैङ्क फेडले व्याजदर बढाएपछि बैंक तथा वित्तीय संस्थाको सेयर मूल्य अकासिएको छ । अहिले पनि यिनै कारणले अमेरिकाको शेयर बजार बढ्को बढ्यै छ । 
 
नेपालमा कम्पनीले कमाएको रकम लाभांशका रूपमा एक वर्षमा बाड्ने गरेका छन्  । अमेरिकामा भने कम्पनीले तीन महिनामा नै लगानीकर्ताको ब्रोकर एकाउन्ट मार्फत लाभांश जम्मा गरिदिन्छन् । यसबाट लगानीकर्ताले तीन महिनामा लगानीको प्रतिफल पाएको महसुस गर्छन् ।  
 
अमेरिकी शेयर बजारमा लगानीका लागि धेरै पैसा चाहिन्छ भन्ने धेरैको धारणा छ । एक हजार अमेरिकी डलर भन्दा कम रकमबाट लगानी सुरु गरे पनि हुन्छ । लगानीका लागि स्टक ब्रोकरकोमा गएर एकाउन्ट खोल्ने मात्रै हो । एकाउन्ट खोल्ने काम अनलाइनबाट गरे पनि हुन्छ । 
 
अनलाइनबाट झन्झट लाग्छ भने नजिकको स्टक ब्रोकरकोमा गएर एकाउन्ट खोल्न सकिन्छ । यस्तो एकाउन्ट खोल्न सोसियल सेक्युरिटी नम्बर, परिचयपत्र (ड्राइभिङ लाईसेन्स, ग्रीनकार्ड, नागरिकता) भए पुग्छ । 
 
स्टक ब्रोकर एकाउन्ट खोल्ने केही मिनेट लाग्छ । केही मिनेटमा बैंकबाट ब्रोकर एकाउन्टमा पैसा तान्न सकिन्छ। तत्काल नै सेयर खरिद र विक्री गर्न सकिन्छ । खरिद गर्दा कम्तीमा सात र विक्री गर्दा पनि यतिनै रकम स्टक ब्रोकरलाई शुल्क बुझाउनुपर्छ । सुरुमा कुनै लगानीकर्ताले रिफर गरेर ब्रोकर एकाउन्ट खोलेमा केही खरिद विक्री निःशुल्क पनि हुनसक्छ । एकै दिनमा धेरै पटक सेयर किनवेच गर्नका लागि भने न्यूनतम २५ हजार अमेरिकी डलर लगानी गर्नुपर्छ । यस्ता लगानीकर्तालाई डे ट्रेडर्स भनिन्छ । दिनदिनै धेरै पटक किनवेच नगर्नेका लागि भने जति लगानी गरे पनि हुन्छ । 
 
न्यून जोखिम चाहनेले सरकारी वण्ड किने हुन्छ । यसमा रिटर्न निश्चित जस्तै हुन्छ । सेयरको बारेमा केही पनि जानकारी छैन भने म्युचुअल फण्डको इकाई किनेहुन्छ । यस्ता फण्डले सेयर बजार लगायतमा लगानी गर्छन् र नाफा लगानीकर्तालाई दिन्छन् । कम्पनीको साधारण सेयरमा लगानीगर्दा सरकारी वण्ड र म्युचुअल फण्डमा भन्दा बढी जोखिम हुन्छ । तर दीर्घकालीन रूपमा सेयरमा लगानी गर्ने हो भने कमाउने सम्भावना नै अधिक हुन्छ ।
 
यसले अमेरिकी सेयर बजारमा लगानी गर्नु भविष्यका लागि उत्तम हुन्छ । बैंकमा जति पैसा राखे पनि एक प्रतिशत ब्याज पाउने अवस्था पनि छैन अमेरिकामा । बैंकमा बचत गर्दा आउने ब्याज एकदमै न्यून छ । यसैले केही बचतलाई सेयरमा लगानी गर्दै जाने हो भने भविष्यमा भविष्यमा धेरै ठुलो पूजी बन्ने सम्भावना सेयर बजारले दिन्छ । 
 
व्यापार व्यवसाय सुरु गर्नका लागि थोरै पुँजीले पुग्दैन । तर थोरै पुँजी भए पनि सेयरमा लगानी गर्दै जान सकिन्छ । लगानीकर्ताका लागि सबैभन्दा सकारात्मक पक्ष भनेकाय यही हो । अहिलेको थोरै पुँजी भविष्यमा धेरै ठुलो रकम बनाउने सम्भावना सेयर बजारले नै दिने हो । 
 
सेयरमा लगानीका लागि स्टक ब्रोकरमा लगानीकर्तालाई आवश्यक सल्लाह र सुझाव दिने लगानीकर्ता पनि हुन्छन् । उनीहरूलाई भेटेर र फोनबाट समेत आवश्यक सल्लाह लिएर लगानी गर्न सकिन्छ । 
 
यसैले थोरै पुँजीबाट भए पनि अमेरिकी सेयरमा लगानी गर्न थालौं । अहिलेको सानो लगानी केही वर्षमा नै ठुलो हुनेछ । 
 
(सापकोटा अमेरिकी सेयर बजारका लगानीकर्ता हुन् ।)