मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

एकगाग्री पानीका लागि बिहान ३ बजे उठ्नुपर्ने नियति

एकगाग्री पानीका लागि बिहान ३ बजे उठ्नुपर्ने नियति


भक्तपुर । भक्तपुर नगरपालिका–७, गोलमढीकी कृष्णलक्ष्मी कवांलाई बिहान उठ्ने बित्तिकै पानीको चिन्ताले सताउने गरेको छ । मध्य वर्षात्मा पनि धारामा भनेजस्तो पानी नआएपछि कवाँको बिहानीको समय पानीको जोहो गर्नमा नै बित्ने गरेको छ । 
 
उनी भन्छन्, “धारामा पानी आउने ठेगान छैन । एकछिन ढिला भयो भने इनारमा पनि पानी हुँदैन ।” इनारको पानीको लागि बिहान ३ बजे नै उठ्नुपर्ने बाध्यता रहेको उनी बताउँछन् । 
 
“बिहान ३ बजेतिर उठेर पानी लिन गए अलि छिट्टै गाग्री भरिन्छ, नत्र इनारमा पनि पानी तान्दा एउटा गाग्रो भर्न एक घण्टा लाग्ने गर्छ । पानी तान्दा बढी आए एक माना जतिमात्र आउँछ ।” उनले भने ।
 
त्यसैगरी, भक्तपुर नगरपालिका–६ की रामकेशरी खाइतुले वर्षामा पनि धारामा पानी नआएका कारण निकै समस्या आएको बताए । उनले एक गाग्री पानी लिन कहिले तचपाल त कहिले बेखालसम्म जानुपर्ने समस्याले निकै सकस भएको बताए । 
 
“धारामा पानी आउने ठेगान छैन । आए पनि आधा घण्टा जति मात्र पानी आउँछ ।” उनले भने, “भएका सार्वजनिक धारामा पनि पानी आउन छोड्यो । घरमा धारा हुनेका लागि पानी आउने बेला थाप्न पाए पनि धारा नहुनेका लागि निकै ठूलो समस्या बेहोर्नु परेको छ ।”
 
वर्षात्को मौसममा पनि भक्तपुर नगरपालिकामा पानीको हाहाकार घट्न सकेको छैन । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (काउखाली) ले मागअनुसारको आपूर्ति गर्न नसकेपछि भक्तपुर नगरभित्र पानीको हाहाकार भएको हो । काउखालीले पर्याप्त पानी आपूर्ति गर्न नसक्दा उपभोक्ता सार्वजनिक इनार र ट्यांकरबाट पानी किनेर खान बाध्य छन् । 
 
भक्तपुर नगरभित्र करिब एकलाख जनसंख्या बसोबास गर्छन् । भक्तपुर नगरभित्र दैनिक एक करोड लिटरको हाराहारीमा पानीको माग रहेको छ । तर काउखालीले मागको आधा मात्र आपूर्ति गरिरहेको काउखाली भक्तपुर शाखाका प्रमुख सुरेन्द्र हिमालयले बताउनुभयो । उहाँका अनुसार काउखालीले सुक्खामा दैनिक ३० लाख देखि ३५ लाख लिटर पानी वितरण गरिरहेकोे छ भने वर्षामा दैनिक ४० लाख देखि ४५ लाख लिटर पानी वितरण गर्दै आएको छ । 
 
काउखालीले भक्तपुर नगरभित्र दुईवटा स्रोतबाट पानी वितरण गर्दै आइरहेको छ । मध्यपुर थिमिको बोडेस्थित पानी प्रशोधन केन्द्रबाट उत्पादित पानी भक्तपुर नगरको पश्चिम दूधपाटी, इटाछें, डोक्छें, वंशगोपाल, मंगलाछें, नासमना हुँदै टौमढीसम्मको क्षेत्रमा वितरण गर्दै आइरहेको छ । सो क्षेत्रमा काउखालीले पाँच दिन बिराएर पानी वितरण गर्दै आइरहेको प्रमुख हिमालयले बताए ।
 
त्यसैगरी, सूर्यविनायक नगरपालिकाको सृजनानगरदेखि काँलाचासम्म र चाँगुनारायण नगरपालिकाको सल्लाघारीदेखि दुवाकोटसम्म बोडेको पानी वितरण गरिरहेको प्रमुख हिमालयले बताउनुभयोे । भक्तपुर नगरभित्र बोडे प्रशोधन केन्द्रबाट सुक्खायाममा दैनिक १२ लाख लिटर र वर्षायाममा दैनिक १७ लाख लिटर पानी आपूर्ति भइरहेको उहाँले जानकारी दिए । 
 
नगरको पूर्वी भाग २, ५, ७, ८, ९ र १० नं वडाका कमलविनायक, च्याम्हासिंह, दत्तात्रय, इनाचो, गोल्मढी, सुकुलढोकालगायतका क्षेत्रमा नगरकोटस्थित महादेव खोला मुहानको पानी वितरण भइरहेको छ । काउखालीका अनुसार महादेव खोला मुहानबाट सुक्खायाममा दैनिक १७ लाख लिटर र वर्षायाममा ३५ लाख लिटर पानी उत्पादन हुने गर्दछ । 
 
वर्षामा पनि मागअनुसारको पानी आपूर्ति गर्न नसकिएको स्वीकार्दै हिमालयले मुहान क्षेत्रमा पर्याप्त वर्षा नहुँदा पानीको उत्पादन बढ्न नसकेको जानकारी दिए । वर्षौं पुरानो पाइपलाइनका कारण पनि कतिपय स्थानमा पानी वितरणमा समस्या आएको उल्लेख गर्दै उहाँले पाइपलाइन परिवर्तनका लागि प्रयास भइरहेको जानकारी दिए । 
 
मेलम्चीको पानी वितरणका लागि काठमाडौँमा पाइपलाइन परिवर्तन र विस्तारका कार्य अगाडि बढेपनि भक्तपुरमा सो कार्य अगाडि नबढ्दा थप समस्या आएको बताए । 
 
कतिपय ठाउँमा पुराना पाइपका कारण पनि पानी वितरण भए पनि पुग्न नसकेको उनले बताए । वर्षायाममा पानी पर्दा धमिलो भएका कारण पनि कहिलेकाहीँ वितरणमा गडबडी भइरहेको छ । 
मुहान पोखरी हुँदै बाँसबारीमा प्रशोधन भएर आउने पानीलाई रोपाइँको सिजनमा ढुसीफाँट क्षेत्रमा धान रोप्न कुलो बनाएर लाने भएकाले पनि नगरको पूर्वी भागमा पानी सहजरुपमा वितरण हुन नसकेको उनले बताए ।
 
नगरवासीलाई सहजरुपमा पानी वितरण गर्न हाल सल्लाघारीमा बोरिङ भइरहेको जानकारी दिँदै प्रमुख हिमालयले सो बोरिङ सम्पन्न गर्न छ महिना समयलाग्ने बताए । यसअघि भक्तपुर नपा–१, भार्वाचोमा बोरिङ कार्य सम्पन्न भइसकेको र सो बोरिङको पानी वितरण भएपछि दूधपाटीदेखि टौमढीसम्मका उपभोक्तालाई सहजरुपमा पानी वितरण हुने उनले बताए । 
 
नगरमा पानीको समस्या चुलिएपछि भक्तपुर नगरपालिकाले ट्याङ्करमार्फत पानी वितरण गरिरहेको छ । नगरका पानीको आपूर्ति कम हुने क्षेत्रमा दैनिक ट्याङ्करबाट पानी वितरण गरिरहेको जानकारी दिँदै नगर प्रमुख सुनिल प्रजापतिले दीर्घकालीन समाधानका लागि काउखालीसँगको समन्वयमा नगरका सम्भव भएका ठाउँमा डिपबोरिङ गरी उपभोक्तालाई पानीको समस्याबाट मुक्त गर्न नगरपालिका लागिपरेको बताए । रासस