मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

टेक्ससको ड्यालसमा समर क्याम्प (भिडियो सहित)

टेक्ससको ड्यालसमा समर क्याम्प (भिडियो सहित)


टेक्सस(अमेरिका)-  नेपाली बाल बालीकाकालागी डयालसस्थित श्री पशुपति तथा बौद्ध मन्दिरमा सञ्चालन गरिएको समर क्याम्पमा बालबालिकाको निकै उत्साहपुर्ण सहभागिता रहेको छ ।  
 
नेपाली समाज टेक्ससका उपाध्यक्ष कमल सापकोटाका अनुसार, क्याम्पमा एक सय ७० बालबालिकाले भाग लिइरहेका छन् । 
 
आइतबार औपचारिक रूपमा उद्घाटन भएको क्याम्पमा अझपनि बालबालिका आउने क्रम जारी रहेको  तर  स्थान अभावका कारण थप बालबालिकालाई लिन आफूहरूलाई समस्या परेको उपाध्यक्ष सापकोटाले बताए  । 
 
क्याम्पको आयोजक संस्था नेपाली समाज टेक्ससका अध्यक्ष कृष्ण लामिछानेका अनुसार, अमेरिकामा  जन्मिएका र हुर्कदै गरेका नेपाली बालबालिकालाई अध्यात्म, नेपाली संस्कृति, परम्परा, नैतिक आचरण तथा नेपालबारे जानकारी दिने उद्देश्यले शिविर आयोजना गरिएको हो ।  
 
क्याम्प सन्चालनकालागी नेपालबाट आउनु भएका  हिन्दु विद्यापीठ नेपालका संस्थापक गुरु डा. चिन्तामणि योगी क्याम्पमा बालबालिकाको ठुलो सहभागिता देखेर निकै खुसी भएका छन् ।  गुरु योगीले भनेँ–  “यत्रो सहभागिता देखेर मलाइ निकै खुसी लागेको छ ।” 
 
हिमालय खबरसँग कुरा गर्दै गुरु योगीले बालबालीकाहरुलाइ सत्य, प्रेम, शान्ति, सेवा र अहिंसा गरी पाँच समूहमा बाँडिएको र उनीहरूले आनन्दपुर्वक बसेर नेपाली परम्परा, धर्म, अनुसाशन र अध्यात्मका बारेमा शिक्षा हासिल गरिरहेको बताए । गुरु योगीकै शब्दमा– “कहिलेपनि भजन नगाएका बच्चाहरूले भजन गाइरहेका छन् । टिका नलगाइरहेका बच्चाहरूले टिका लगाइरहेका छन् । ओम नव शिवाय भनिरहेका छन् । बुद्धं शरणम गच्छामी भनिरहेका छन् ।” गुरु योगीले, आफुहरुको काम चासो जगाइदिने मात्र भएको र बाँकी काम अभिाभावकहरुको भएकोपनि बताए । 
 
क्याम्प सञ्चालनका लागी सक्रिय भूमिका निर्वाह गरिरहनु भएका नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र बोर्ड अफ ट्रस्टीका पूर्व अध्यक्ष तथा समाजसेवी डा. मुरली अधिकारीले हिमालय खबरसँगको संवादमा बालबालिकामा आध्यात्मिकताका साथै दया, माया, करुणा, सेवा, सकारात्मक सोच, लक्ष्यपूर्ण जीवनको वीजारोपण गराउन समर क्याप आयोजना गरिएको बताए  ।
 
विगतमापनि यस्ता क्याम्प आयोजना गरिएको जानकारी दिँदै डा अधिकारीले क्याम्पले बालबालिकामा सकारात्मक प्रभाव पारेको बताए । विगत वर्षहरूमा  नेपाली समाज टेक्ससले आयोजना गरेका यस्ता क्याम्पमा सहभागी बालबालिकाको व्यक्तित्वमा सकारात्मक प्रभाव पारेको आफूले पाएकोपनि डा. अधिकारीले बताए । उनले भनेँ–‘ड्यालास–फोर्टवर्थ क्षेत्रका नेपाली समुदायका बालबालिका कुलतमा लागेको, अध्ययन बिगारेको मैले पाएको छैन । बरु उनीहरूमध्ये धेरैजसो डक्टर इन्जिनियर भएका छन्,’ । 
 
समाजका महासचिव कमल सत्यालले यसअघि गुरु चिन्तामणी योगीबाटै नैतिक शिक्षा लिएका आईशा ओझा र कृतिमा लामिछाने लगायतका स्वंयसेवकहरुको सक्रिय सहभागिताका  कारणपनि क्याम्प थप प्रभावकारी बनेको बताए । 
 
बालबालिकालाई समर क्याम्प ल्याउन पाउँदा अभिभावकहरू पनि खुसी देखिएका छन् । आफ्नै समुदायका, आफ्नै मातृभाषा बोल्ने बालबालिकासँग घुलमिल गराएर आफ्नो धर्म संस्कृतिबारेमा जानकारी गराउने उद्देश्यले आफ्नी छोरीलाई क्याम्पमा भर्ना गरेको युलेस निवासी उमेश पोखरेलले बताए । 
 
हामीले नै धर्म, संस्कृति बारे जानकारी नगराए सन्तानले नसिक्ने भएकाले आफूले छोरा लिएर क्याम्पमा आएको केलर निवासी आशा आचार्य बताउँछिन् । उनले बालबालिकासँगै आफूले पनि क्याम्पमा आएर ज्ञान आर्जन गरिरहेको बताइन् । ‘छोरासँगै मैले पनि यहाँबाट हाम्रो धर्म संस्कृति, समाजबारे धेरै कुरा सिक्ने मौका पाएकी छु’  उनले भनिन् । 
 
लामो विद्यालय बिदाका कारण टिभी, ल्यापटप, ट्याब, ग्याजेट, मोबाइललगायतको अत्यधिक प्रयोगले एकोहोरिएको अवस्थामा यस्ता क्याम्पले बालबालिकालाई परिवर्तन गर्न  ठुलो सहयोग गर्ने पत्रकार रामचन्द्र भट्टको मत छ । विद्युतीय सञ्चारसाधनको अत्यधिक प्रयोग कम गर्न तथा पूर्वीय दर्शन, अध्यात्म, संस्कृति, रीतिरिवाज तथा नैतिक ज्ञानका सामान्य कुरा जान्न सके पनि ठुलो उपलब्धि हुने ठानेर आफूले यस क्याम्पमा छोरीलाई सहभागी गराएको उनले बताए । 
 
क्याम्पमा पाँच देखि १६ वर्षसम्मका बालबालिका सहभागी छन् । जुलाई १६ बाट सुरु भएको क्याम्प २९ सम्म सञ्चालन हुने छ । सन् २००९ देखि सन् २०१२ सम्म उनै डा.योगीले यस्तै शिविर सन्चालन गरेका थिए। आफूले यस समर क्याम्पमा बच्चा राखेपछि उनीहरुमा व्यवहारिक ज्ञान निकै फरक र अनुसासनयूक्त पाएको समाजसेबी टिका पौडेलले हिमालयखबर संगको कुराकानीमा बताए ।