मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

भो प्रभु, मलाई पैसा चाहिएन !

भो प्रभु, मलाई पैसा चाहिएन !


मान्छेका सबै रहर र उद्देश्य पूरा हुन्थ्यो भने, 'प्रभु मेरो यो कामना पूरा होस्' भनेर बोका–कुखुराको भाकल गर्नुपर्ने थिएन होला । आशावादी बनाइरहन हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ कविता लेखेर मान्छेहरुमा थोरै आशा र आकांक्षा बढाइदिए । लक्ष्यचाहिँ ठूलै राख्नुपर्छ भन्ने सन्देश छोडर उनले धर्ति छोडिहाले । उनको कालजयी कविताको मर्मभन्दा अहिलेको समय फरक भैसक्यो । मान्छेले चन्द्रमामा हनिमुनै मनाएर फर्किसके, कुकुरले समेत चन्द्रमामा टेकेर आयो, हामी भने अझै चन्द्रमालाई हेरेर धनुषटङ्कार शैलीमा नमस्कार गर्छौं ।
 
एकजना भलादमीले भन्थे– लखपति बन्नु छ भने बाबु करोडपतिको सपना देख्नुपर्छ । अहिले नेपाली उद्योगी नै डलरमा अरबपति बनिसके भने हाम्रा भलादमी अझै करोडपतिको सपना देख्न लगाउँछन् । त्यस्ता करोड त नेपालमा ‘डन’हरुले हप्ता उठाएर पनि कमाउँछन् । तस्करहरुले खाग बेचेर पनि कमाउँछन् । रक्तचन्दन ओसारेर पनि कमाउँछन् । नक्कली डलर-भारु नेपाल छिराएर पनि कमाउँछन् । सपनामात्रै देखेर पैसा आउँदो रहेनछ । पैसा अक्करमा हुन्छ त त्यसै भनिएको होइन । अक्करमा हुने पैसाका लागि कति चक्कर लगाउनु पर्ने हो कति ठाउँमा ठक्कर खानुपर्ने हो । यसको वर्णन त हजारजिब्रा भएका शेषनाथले पनि गर्न सक्दैनन् ।
 
दर्जन जति व्यापारमा हात हाले पनि पैसा कमाउन सकिएन् । भलादमीहरु पैसा कमाउने व्यवसायमा हात हाल्न सुझाव मात्र दिन्छन् । सुझावअनुसार हिँडेको भए बचेखुचेको बाबुबाजेको झिटी पनि सकिन्थ्यो होला । करोडपति त त्यस्तै हो उधारोपति वा रोडपति चैं पक्का बनिने थियो । मेरा करिब एकसय जना साथी त पक्का व्यापारी नै होलान् । जहिले पनि पैसा कमाउन नसकेको, व्यापार घट्दै गएको, घाटामा चलिरहेको, व्यापारको पुँजीभन्दा साहुलाई तिर्नुपर्ने ऋण बढी भएको पीडा ओकल्छन् । उनीहरु स्वयं सोध्छन्– पैसा कसरी कमाउने होला ?
 
पैसा कमाउने सूत्र थाहा पाएको भए, कसैले सित्तैमा सेयर गर्ने थियो र ? ‘पैसा कमाउने आइडिया चाहिएमा’ भनेर पत्रिकामा विज्ञापनै हालिन्थ्यो होला । अहिलेको जमाना ‘आइडिया’को चैं हो । आइडिया मास्टरहरु नयाँ-नयाँ आइडिया बिक्री गरेर पैसा कमाउन सक्छन् । कतिले पैसा कमाउन करोडौं लगानी गर्छन् । पैसा त बिनालगानी पनि कमाउन सकिँदोरहेछ । मात्र दिमाग चाहिन्छ पासा दिमाग । बिनालगानी पैसा कमाउन सकिने भए कसले ऋण खोजी खोजी लगानी गर्छ र ? लगानीविना नै पैसा कमाउन त कि आइडिया बेच्नुप¥यो कि खतरापूर्ण बाटोमा हिंड्न सक्नुप¥यो । ‘नो रिक्स, नो बेनिफिट !’
 
मैले केही ‘ग्याङस्टार’हरुको ‘रिक्स’गफ सुनेको थिएँ । उनीहरु विनालगानी कमाइकै बारेका चर्चा गर्दै थिए । ‘हिजो एकट्रक मल पास गरेको पुलिसले हैरान ग¥यो’, ‘आजराति गोरु बोकेको ट्रक झर्दैछ रे, पाट्लाहरुले कल गर्दैथे’, ‘अस्ति चोरीको ‘आरवनफाइभ बाइक’ डेढ लाखमा सेल हान्देको कप्स्ले कमिसन मागेर हैरान पारिरा’छ । ठेकेदार दा’ले ‘सामान’ ठीक राख केटा हो टेण्डरमा लफडा भयो भने ‘चाउ’ हान्नुपर्छ भन्दैछ । एक पेटी ‘डो’ दिएको थियो केटाहरुको जङ्सन खर्च र पेट्रोलमैं चालीस हजार खर्च भो । शुक्रबार अमलेखगञ्जबाट २ हजार क्यूफिट फेन्टा झर्दैछ, १५ पेटी जति नाफा हुन्छ । फलानोको डुबेको दशच लाख उठाइदिएको २० प्रसेन्ट कमिसन झ¥यो । एउटाले रक्सौलबाट ‘गन’ अर्डर ग¥या छ, एकदिनको खर्चपानी उठ्छ । ‘त्यो रक्तचन्दन मात्रै पास गर्न चान्स पाइयोस् न हरेकको टक्सन, फोर्ड गाडी हुन्छ । महिनामा दुईचार पेटी पनि हात परेन भने बाँच्नै गाह्रो छ’ आदि । 
 
मान्छेलाई जब महत्वाकांक्षा बढ्न थाल्छ, घोडाको लगामजस्तो एकोहोरो अगाडि मात्र हेर्न थाल्छ । चाहे जोखिम मोल्नु परोस्, चाहे अनैतिक क्रियाकलाप गर्न नै किन नपरोस् । अहिले एकाथरि मान्छेहरु पैसा पैसा भनेर बेपत्तासँग कुँदिरहेछन् । अहिले आधारभूत आवश्यकतादेखि जेमा पनि प्रसङ्ग पैसाकै आउने गरेको छ । पैसाको पछाडि दौडनेलाई लगाम लगाउने उद्देश्य त मेरो हुँदै होइन । राम्रो काम गरेर पैसा कमाउनुपर्छ भन्ने धारणा हो । यस्तो सादा विचार अहिलेको अवस्थामा ‘आउटडेटेड’ पनि हुनसक्छ । 
 
कतिपय मान्छेहरुसँग सम्बन्ध बढ्यो । उनीहरुको सपना–जपना पैसामैं छ । उनीहरु जुनसुकै कोणबाट पनि पैसा कमाउनुपर्छ भन्ने मत राख्छन् । व्यवहार, मित्रता, नातेदार जे अगाडि आए पनि एकमात्र उद्देश्य पैसासँग जोडिएको हुन्छ । नदेखिने पेशा त कसले के के गर्छ कसले नीतिखोजी गरोस् । देखिने पेशा गर्नेलाई चाहिँ पैसाले फनफनी घुमाइरहेछ । अर्थशास्त्रीहरुले पैसा साधन मात्र हो साध्य होइन भनेका थिए । अहिले त यो दर्शन ठीक विपरित जस्तो भान पर्न थालेको छ ।
 
कुनै एक समय एउटी महत्वाकांक्षी युवतीसँग संगत भएको थियो । उसको ध्यान नै पैसा कसरी आर्जन गर्न सकिन्छ भन्नेमा सीमित थियो । उसको महत्वाकांक्षा अनुसार डेनमार्क बस्ने एउटा मुन्द्रेलाई प्रभावित बनाएरै छाडी । अन्ततः आफ्नै सुरले बिहे पनि गरी । मुन्द्रेसँग एकवर्ष जति घरजम पनि गरी । मुन्द्रेले धेरै पर्यत्नपछि एउटा सपिङ सेन्टरको रिसेप्सनमा जागिर पनि लगाइदियो ।
 
केही समयको अन्तरालपछि मुन्द्रेसँग ‘स्तर नमिलेको’ आरोप लगाएर अर्कैसँग रिलेसन गाँस्न पुगी । मुन्द्रेले पत्नीवियोगको प्रलापमा डेनमार्क नै ‘बङ्क’ ग¥यो । तर ती निस्फिक्री युवतीले छोटै समयमा यतिबिध्न प्रगति गरेर देखाई कि घर, जग्गा, गाडी के के हो जोड्ने जति जोड्न भ्यार्इ । सामान्य अवस्थाकी उसको आय स्रोत र छोटो समयमा नै यति धेरै प्रगति गरेको थाहा पाएपछि कति त इष्र्याले बेहोसै भएर ढले । कतिले रहस्य जान्ने कोसिस गरेर कुराको चुरो बुझेर जिब्रो काडे । तर ती विन्दास युवतीको पैसा कमाउने राज कसैले बुझ्नै सकेन ।
 
हुन त नेपालमा त्यस्तो प्रकारको काम गर्ने वातावरण र कानूनीरुपमा त्यसलाई व्यवस्थित गर्ने निकायले पक्कै पनि सोचेकै होला । ऊ यहीँ रहेको भए कसले उसको बारेमा सोधखोज गथ्र्यो र ? विदेश गएर जसले जसरी कमाए पनि देखिने कुरा पैसामात्रै हो अरु होइन । डेनमार्कमा ‘हाइ प्रोफाइल’ बनाएकी उसलाई भेट गर्नुपूर्व नै ‘क्रेडिटकार्ड’ लिनुपर्छ रे ! उसले नेपालमा सामाजिक कर्ममा पनि हात हाल्ने विचार गरेकी छ रे । कुनचाहिँ सामाजिक संस्थालाई सहयोग गरेर अभिनन्दित हुने हो, त्यो त्यसैदिन थाहा पाइने छ । अर्काको रिस गरेर पनि त भएन नि ? कि पैसो कमाउन जान्नुप¥यो कि अरुले भनेको मान्नुप¥यो ।
 
जसरी कमाए पनि तँलाई के भो ? तैँले टाउको किन दुखाउनुप¥योे ? भनेर त्यसले मलाई कटाक्ष पनि गर्न सक्ली । कसले त्यसलाई भेट गर्न चाहन्छ र ? अहिले त यसरी कसैको पेशालाई आक्षेप पनि लगाउन नपाइने जमाना छ । उसको संगठन उल्टिएर आयो भने मेरो के कन्तविजोग होला ? ट्यापे, मुन्द्रे, चुल्ठेदेखि लिएर प्रशासनका मान्छेसम्मलाई आफ्नो बनाउन भ्यार्इ भने म मोरोको के लाग्दो हो । फेरि यस्तै बेलामा पैसोले गर्छ जे गर्नु । 
 
उसले एकझमेट ‘ककटेल्स् पार्टी’ दिर्इ भने उसको पक्षमा आवाज उठने पक्का छ । उसको संगठनको पक्षमा । यसपाला यस्तै संगठनको प्रतिनिधित्व गरेर उसले निर्वाचनमा उठी भने पनि जित्ने संभावना उसैको हुन्छ । साम, दाम, दण्ड, भेद सबै जानेकी उसलाई जुनसुकै संगठनले पनि भित्र्याउँछ । त्यसपछि उसको बोलाबाला चल्छ । ऊ जस्ताहरुको राज्य चल्छ । जब ऊ सांसद बनेर प्रतिनिधिसभाभित्र छिर्छे तब उसको पछि लाग्ने कति सांसद हुन्छन् । कार्यकर्ता बनाएपछि जहाँ–जहाँ घुमे पनि त भो । आखिर ऊ बाँचुञ्जेलसम्म पुग्ने रकम त उसको आफ्नै मेहनतर बलबुताले नै कमाएकी हो । श्रमको कमार्इ !
 
नेपालमा जुनसुकै इलम गरेर कमार्इ गरे पनि कमाएकालाई पूजा गर्ने चलनले स्वाभिमान भएका मान्छेहरु बाँच्नै गाह्रो भैसकेको छ । नराम्रो गरी कमाएको धन भए पनि उसको अनुहार हेरेर विश्लेषण गर्छ मान्छेले । तस्करीको सुन, चोरीको मोवाइल, ल्यापटप, चोरीको काठ, बाइक, गाडी के के आवश्यकता पर्छ ती सबै ‘सप्लाई’ गरेर पनि मान्छेले पैसा कमाएकै छन् । दुई नम्बरी गरेर आर्जित धनले एक नम्बरी काम त गर्न पनि सकिन्न ।
 
नेपालमा ‘नेटवर्किङ मार्केटिङ’ गरेर भागेका, थन्किएकाहरुले भारतमा आकर्षक रोजगारी दिने भन्दै घुमाइ फिराइ पुनः नेटवर्कमा जाक्ने गरेका छन् । सर्वसाधारणलाई महिनाको ‘एक लाख कमाइ’ हुुने लालसा देखाएर दिल्ली पु¥याउने र एक हप्ताको भूमिगत मान्छे ठग्ने प्रशिक्षण दिएर मान्छेलाई एकै क्षणमा अरबपति बनाइदिने । रातारात ‘स्टार’ बन्ने सुनौलो भविष्य बोकेर कतिले कमाइ खाने ट्याक्टर बेचे, कतिले श्रीमतीको गहना बेचे, कतिपय त प्रोजेक्टको आकर्षक जागिर छाडेर प्रलोभनमा फसे । म पनि झण्डै–झण्डै जाकिएको थिएँ । समयमैं बुद्धिको बिर्को खुलेर बाँचे ।
 
एकदिन त्यस्ता ‘स्मगलर’हरु प्रलोभन बाँड्न टुप्लुक्क आइपुग्न सक्छन् । समयमैं होसियार भइएन भने जहाज डुब्न सक्छ । अझ चेलीहरुले विशेष होसियारी अपनाउनुपर्ने देखिएको छ । डाक्टर अमितजस्ता ‘किड्नी’ तस्करहरु नेपालमा पनि थुप्रै सल्बलाइरहेका छन् । जसरी पनि पैसा कमाउनेहरुले किड्नी मात्र होइन मान्छे नै गायब गरिदिन पनि सक्छन् । यस्तो महङ्गीको जमानामा कहिलेकाहिँ त मन भरङ्ग पनि हुनसक्छ । सरकारले पनि दुई नम्बर गर्नेहरुलाई व्यापक छुट र सम्मान दिएको देखेर इमान्दारिता धरापमा पर्न सक्छ । ‘नो रिक्स नो गेन’ भन्नेहरु जेलमा पश्चाताप गर्दै दिन प्रलाप गरिरहेकोे सम्झन्छु । लाउँलाउँ र खाउँखाउँ भन्ने उमेरमा जेलमा कोचिएर जवानी बुढिएको देख्दा म गम्भीर हुन्छु । अनि, आत्माले भन्छः आत्मसम्मानले बाँच्न र दुई छाक खान पाए पुग्छ । भो प्रभु, मलाई पैसा चाहिएन !