एनआरएन विशेष

परिवारका सदस्यको एकै इमेल आइडी भएपनि मान्य हुने

731 पटक पढिएको

22nd Jun 2017, Thursday | २०७४ आषाढ ८, बिहीवार ११:४२
हिमालयखवर संवाददाता- 
ड्यालस (टेक्सस) । गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको निर्वाचन समितिले सदस्यता वैधानिकताको सन्दर्भमा इमेल संबन्धि नयाँ निर्णय गरेको छ ।
 
परिवारका सदस्यहरुको हकमा सबै सदस्यहरुले एउटै इमेल प्रयोग गरेको अवस्थामा पनि एनआरएनको निर्वाचनको सन्दर्भमा मताधिकार दिने निर्णय निर्वाचन समितिले गरेको छ । त्यस्तै परिवारका सदस्यहरु नभएपनि एकै घरमा बस्ने व्यक्तिहरुले समेत एउटै इमेल आइडी प्रयोग गरेको अवस्थामा पनि मताधिकारका लागि मान्य हुने निर्णय समितिले गरेको छ ।
 
उल्लेखित दुई अवस्था बाहेक धेरै व्यक्तिले एउटै इमेल आइडी राखेको सन्दर्भमा सिरियल नम्बरका आधारमा इमेल प्रयोग गर्ने सुरुको व्यक्तिलाईमात्र मताधिकार दिइने सूचना समितिले जारी गरेको छ । 
 
यसअघि निर्वाचन समितिले हरेक व्यक्तिको फरक फरक इमेल आइडी हुनुपर्ने भन्दै परिपत्र जारी गरेको थियो । तर सबैको इमेल आइडी नहुने भन्दै त्यो परिपत्रको विषयमा गुनासो बढेपछि नयाँ व्यबस्था गरिएको हो । 
 
एनआरएनको चुनावको सन्दर्भमा निर्वाचन समितिले केही दिनभित्रै अन्तिम नामावली प्रकाशित गर्ने तयारी गरिरहेको छ । 
 
एनआरएन अमेरिकाको वेवसाइटमा सदस्यता आवेदन गर्नेको नाम छुटेको भए nec.nrnnccusa@gmail.com मा इमेल गर्न समेत समितिले सूचित गरेको छ । 
 
समितिले जुलाईको तेस्रो साता चुनाव गर्ने तयारी गरिरहेको एनआरएन अमेरिकाका उपाध्यक्ष राम सी पोखरेलले हिमालय खबरलाई जानकारी दिएका छन् ।