प्रवास

नेपाली पासपोर्ट बनाउन ड्यालसमा घुम्ती शिवीर हुँदै

1675 पटक पढिएको

22nd Jun 2017, Thursday | २०७४ आषाढ ८, बिहीवार ११:४५
हिमालय खबर संबाददाता 
ड्यालस (अमेरिका) – तपाईसँग रहेको नेपाली पासपोर्टको म्याद सकिनै लाग्यो या सकिनै सक्यो ? यस्तो अवस्थामा तपाईलाई अमेरिकाबाट बाहिर जान समस्या पर्नसक्छ । तर चिन्ता नलिनुस् । नेपाली समाज टेक्ससको पहलमा दुईसाता पछि पासपोर्ट बनाउनका लागि नेपाली दूतावासको टोली ड्यालस आउँदैछ ।
 
यही जुन ३० देखि जुलाई २ सम्म हुने नेप्लिज अमेरिकन कन्भेन्सनको अवसरमा नेपाली दूतावास वासिङटन डिसीको एक टोलीले ड्यालसमा पासपोर्ट बनाउने शिविर सञ्चालन गर्न लागेको हो । ‘हामीले दूतावासका अधिकारीहरुसँग कुराकानी गरेर सम्मेलनका अवसरमा पासपोर्ट बनाउन शिविर राख्न आग्रह गरेका थियौँ,’ नेपाली समाज टेक्ससका अध्यक्ष कृष्ण लामिछाने र महासचिब कमल सत्यालले हिमालय खबरसंगको  कुराकानी बताय । 
 
नेपाली समाज टेक्ससको आग्रह अनुसार दूतावासले अस्थायी शिविर राखेर नयाँ राहदानीको आवेदन, नविकरण लगायतका कार्य गर्ने भएको छ । कतिपय नेपालीहरुसँग पुरानो हस्तलिखित पासपोर्टमात्र छ । हस्तलिखित पासपोर्टको म्याद बाँकी भएपनि अन्तर्राष्ट्रिय यात्रा गर्न मिल्दैन । त्यसो हुँदा नयाँ बनाउनैपर्छ ।
 
शिविरमा पासपोर्टको फर्म भर्ने, भराउने काम हुन्छ । पासपोर्ट तयार भएर आउन भने केही साता लाग्नसक्छ । 
 
अहिले नेपाली पासपोर्ट बनाउनका लागि नेपालीहरुले फर्म भरेर तीनसय डलर शुल्क सम्लग्न गरि नेपाली दूतावास डिसी वा नेपाली कन्सुलर कार्यालय न्यूयोर्कमा हुलाकबाट पठाउँदै आएका छन् । न्याक सम्मेलनका अवसरमा ड्यालसमै फर्म भर्न र आवेदन गर्न सकिनेछ । 
 
‘यो एउटा राम्रो अवसर हो, पासपोर्टको म्याद सकिएका र सकिनै लागेकाहरुले अवसरको फाइदा उठाउन विशेष आग्रह गर्छु,’ अध्यक्ष लामिछानेले भने ।