विचार / ब्लग

हामी नेपाली, रिंगटा र पहाड

1447 पटक पढिएको

- सन्जय घिमिरे

हिमालयखबर | 11th Jun 2017, Sunday | २०७४ जेष्ठ २८, आईतवार १८:५९
“अमेरिकामा पनि किन यति धेरै नेपाली संघ संस्था ?”
 
नेपालबाट आउने कतिपय मित्रहरुले गर्ने यो प्रश्नको, मसँग खासै जवाफ छैन ।
 
भन्दिउँ भन्दिउँ त लाग्छ– ‘मनमा नेपाल भएपनि दिमागमा अरु थोकै बोकेर हिँडेपछि यस्तै हुन्छ ।’
 
तर मलाइ अमेरिकामा नेपाली संघ संस्थाका बारेमा खासै टिप्पणी गर्नु छैन । राम्रो गर्छु र अरुको भलै गर्छु भनेर हिँडन खोज्नेहरुलाइ हिँडन दिनुपनि पर्छ ।
 
डर त, मेरा नाममा अरु कोही एक्लै हिंडिरहेको छ र ‘एक्लो भलाइ’ भैरहेको छ कि भन्ने मात्र हो । खुटटा मेरा, बल मेरो, हिंडने र पुग्ने अर्कै हुन्छ कि भन्ने मात्र डर हो ।
 
यो डर यसै पैदा भएको होइन । यो डर हाम्रो नेपाली मानसिकतासँग जोडिएको छ ।
 
बिकासका दृष्टिले नेपाल जुन चौरास्तामा खडा छ, हाम्रो नेपाली मानसकिता पनि उस्तै चौरास्तामा खडा छ ।
 
हामी कहिले पुर्ण सामाजीक हुने चेष्टा गर्छौ, कहिले हामीलाइ अमेरिकीहरु जस्तो अति व्यक्तिवादी हुने धुन चढ्छ ।
 
साँच्चै, हामी प्रवासी नेपाली सामाजीक चरित्रका हौं कि व्यक्तिगत ?
 
पुर्वीय संस्कार र सभ्यता तथा नेपालको परम्परागत जीवनशैली, व्यबहार र भोगाइले हामी नेपाली सामाजीक जस्तो देखिन्छौँ । तर हाम्रा चरित्रहरु न सामाजीक छन, न व्यक्तिगत ।
 
समयक्रममा टेढिदैं, टेढिदैं जाने हाम्रो बानी छ । अमेरिकीहरु व्यक्तिबाट क्रमशः समाजतिर लम्किन्छन, हामी नेपाली–समाजबाट क्रमश व्यक्तितीर लम्किइरहेका छाैँ ।
 
हामी समाज बनाउँछौ–आफु सुहाउँदो । हामी समाज खोज्छौं–ठयाक्कै आफू जस्तै। हामी समाजलाइ हिँडाउन खोज्छौ–आफनै बाटोमा । आफु छ, समाज छ, आफू छैन समाज छैन भनेजस्तो गर्छौ ।
 
हामी नेपाली व्यक्तिगत स्वार्थ, रिस, इर्स्या र महत्वाकांक्षाको सुत्रले  समाजको हिसाब मिलाउन खोज्छौँ । सिंगो समाज मेरो लागि होस भनेजस्तो गर्छौ तर आफु समाजको लागि कती हो कती होइन ख्यालै गर्दैनौ ।
 
व्यक्तिको स्वार्थ समाजले पुरा गरिदिए हुन्थ्यो जस्तो गर्ने तर समाजको स्वार्थ व्यक्तिले पुरा गर्नुपर्छ भन्ने भुसुक्कै बिर्सने बानी छ हाम्रो ।
 
यो बानीकै परिणाम हुन प्रवासमा बग्रेल्ती संघ संस्थाहरु ।
 
यस्ता संस्थाहरु जो, तिर्खा, पानी र खोलाको सम्बन्ध बुझ्दैनन् । कोही खोलै सुकाउन खोज्छन, कोही पानीलाइ एकातिर , खोलालाइ अर्कैतिर र तिर्खालाइ झन अर्कैतिर फर्काउन बढी समय खर्च गर्छन ।  
 
यस्ता संस्थाहरु जो, जनावरलाइ जस्तो डोरीले बाँध्न खोज्छन मान्छेलाइ । उनीहरु बुझदैनन कि बुझ पचाउँछन, मान्छेलाइ डोरीले होइन, भाव र वचनले बाँध्छ । कर्मले बाँध्छ ।
 
जसले जति भने पनि मान्छे वा तपाँइ–हामी यो ब्रम्हाण्डका सबैथोक होइनौं । समग्र प्रकृतीका अगाडी हामी खासै केही होइनौं । मेरा मनपर्ने एकजना भारतीय दार्शनीक यु जी कृष्णमुर्ती भन्थे - we are Heating our Planet. Human Species is the last thing that is very essential on the earth. we haven't been in scene for long time.
 
हो, अरु धेरै चिजको उत्पत्ति पछि मात्र मान्छेको उत्पत्ति भएको हो । उही मान्छे हामी आज सेलाउने भन्दा तताउने काममा बढी सक्रिय छौं । प्रकृतीका बाँकी चिजका लागी मान्छे अर्थात हामी त एउटा बिनाशकारी तत्व मात्रै हो, जसको  स्थान पुछारमा छ । एकछिन सोचौ त, मान्छेका कारण प्रकृतीका कुन चिज वा वस्तुलाइ फाइदा पुगेको छ हानी बाहेक ? ब्रम्हाण्डका अरु सबै सृजनालाइ टिकाइराख्न एक अर्काको भुमिका छ तर मान्छे मात्र एउटा यस्तो सृजना हो, जसले बाँकी सबैको दोहन गरिरहेको छ । प्रकृतीलाइ त्यही रुपमा रहन दिएको छैन । न चरालाइ राम्ररी उँडन दिएको छ, न माछालाइ राम्ररी पौडीन ।
 
प्रकृतीको सबैभन्दा खराब र कम महत्वको सृजना भएरपनि, हामी मान्छे आफुलाइ सम्हाल्न कम र अरुलाइ बिगार्न बढी अभ्यास गर्छौ । कतिपय त, मान्छेलाइ मान्छे नै रहन नदिनका लागि अभ्यासरत समेत छन् । आजको दुनीया कस्तो हुँदै गैरहेको छ भने कोही कसैलाइ चुपचाप रहन दिंदैन । उनै कृष्णमुर्ती भन्ने गर्थे-
 
You are making me to bark
 
आज हामी अधिकाँशको समय शान्त रहन होइन , ‘भुक्न’ प्रेरित गर्ने काममा खर्च भैरहेको छ । कसैलाइ भुक्न प्रेरित होइन, शान्त बसिरहन प्रेरित गरौ  ।
 
शान्त , प्रकृती जस्तै ।
 
हुनत, ब्रम्हाण्डमा मान्छे मात्र एउटा यस्तो सृजना हो, जो सधैँ ‘कन्फयुजन’मा रहन्छ । यस्तो ‘कन्फयुजन’ जो जीवनको  वजनलाइ जिवनभरी तौलीइरहन्छ तर कती वजन सही हो भन्ने निष्कर्षमा कहिल्यै पुग्दैन । आफनो वजनको टुंगो लगाउन नसक्ने हामी अरुको वजनको चर्को हिसाब किताबमा लाग्नु र अरुको वजनलाइ घटाउन वा बढाउन समय खर्चनु अज्ञानताको नमुना मात्रै हो । यसले कहिल्यै कसैलाइ शान्त राख्दैन । अर्काको हिसाब किताब गरेर होइन कि आफुभित्रको बिश्वास र वजन सम्हालेर राखे, जिबन बढी सरल र शान्त हुँदो हो ।
 
भानुभक्तिय रामायणको एउटा श्लोक सारै सम्झना आउँछ –
 
बादलले अरु ढाक्छ , ढाक्छ अरु क्या श्री सुर्यलाइ पनि
 
लोक ता भन्छ उठयो बादल ठुलो, सब सुर्य ढाक्यो भनी
 
जसलाइ रिंगटा छ, भन्छ उ फगत, घुम्छन उ पर्वत भनी
 
घुम्दैनन यी त , घुम्छ त त्यही रिंगटा जान्दैन कोही पनि ...।
 
हो, हामी अधिकाँशमा त्यही रिंगटा छ । तर जिध्दी, हामी अरु घुमेकोमा गरिरहेका छौँ । भनीरहेका छौं यो वा त्यो यसरी घुमिरहेको छ । आफनो रिंगटाको हिसाब, पहाडमा खोज्ने मुर्खता, हामी अधिकाँशमा छ ।
 
आफु उभिएको धरातल धान्न नसक्नेले क्षितीजको हिसाब गरेको त्यत्ती सुहाउँदैन । तर यसै गर्न बढी रुची मान्छन हाम्रा कतिपय मित्रहरु ।
 
हिसाब आफनो रिंगटाको गरौं , घुमेको देखिएका पहाडको होइन ।