मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

गायक विक्रमले ल्याए आफ्नै बिहेको म्युजिक भिडियो (हेर्नुहोस् भिडियो)

गायक विक्रमले ल्याए आफ्नै बिहेको म्युजिक भिडियो (हेर्नुहोस् भिडियो)


नारायणगढ । पर्वतको भंगारा–४ काउले गाविसमा जन्मिएर ०६४ सालमा चितवनको शरदपुरमा बसाइँ सरी आएपछि अहिले विक्रम क्षेत्रीको परिचय फेरिएको छ । उनी लोकदोहोरी गायकमा स्थापित भइसकेका छन् । उनको लोकदोहोरी यात्रा ०७१ सालदेखि सुरू भएको हो । भजनर्कीतन गाउँदा गाउँदै शिव अधिकारीबाट प्रेरणा जागृत भएर लोकदोहोरीमा प्रवेश गरेका उनी यही क्षेत्रमै समर्पित हुने सोच बोकेका छन् । 
 
उनका बुबाआमाको चाहना छोराले सरकारी जागिर खाओस् वा राम्रो देशमा गएर कमाओस् भन्ने थियो । उसो त उनका बुबा युधिष्ठिर शिक्षक हुन् । आमा गृहणी हुन् । आमाबुबाको चाहनाविपरीत लोकदोहोरी क्षेत्रमा लागेका उनले ‘आकाशको जुन’, ‘बतासै चल्यो’, ‘जुनी जुनी’ र ‘लगन जुरेर’ गरी चारवटा लोकदोहोरी एल्बम बजारमा ल्याइसकेका छन् । जसमध्ये जुनी जुनीको म्युजिक भिडियो निर्माण हुँदैछ ।   
 
उनले मौलिक पञ्चेबाजाको धून र पञ्चिमेली भाकामा लगन जुरेर लोकदोहोरी एल्बम ल्याएका छन् । अवसर म्युजिक प्रालिले बजारमा ल्याएको सो एल्बममा शब्दसंगीत र स्वर विक्रमकै रहेको छ भने गायिकामा देवी घर्तीको आवाज रहेको छ । दृश्य निर्माण एक्सआर्मी फोटो स्टुडियोले गरेको छ । क्षेत्रबहादुर क्षेत्रीले गीतको निर्देशन गरेका छन् । उक्त एल्बममा रोचक पक्ष के छ भने उनले आफ्नै बिहेको म्युजिक भिडियो बनाएका छन् । 
विक्रम भन्छन्, ‘संभवतः आफ्नै बिहेको म्युजिक भिडियो बनेको यो नै पहिलो हुनुपर्छ । नयाँ प्रयोग पनि हुने ठानेर मैले आफ्नै बिहेको दृश्यलाई म्युजिक भिडियोमा कैद गरेको हुँ ।’
 
०७४ वैशाख ७ गते भरतपुरकै माछापुच्छ«ेचोककी आश्मा पाठकसँग विवाह बन्धनमा बाँधिएका विक्रमले योजनावद्ध ढंगले बिहेको दृश्यलाई म्युजिक भिडियो बनाउने कल्पना गरेका थिएनन् । विवाहबारे उनी भन्छन्, ‘वैशाख १ गते कुराकानी चल्यो । ३ गते पक्कापक्की भयो । र, ७ गते बिहे भयो ।’ 
 
केटीपट्टी दुई दिदीबहिनीकै बिहे एकैदिन हुनुपर्ने कारण हतारमै बिहे गर्नुपरेको उनी बताउँछन् । दुई दिनको अवधारणाले बिहेकै दृश्यलाई म्युजिक भिडियो बनाउन प्रेरित गरेको उनी सुनाउँछन् । 
 
०७१ सालमा लोकदोहोरी साँझमा गीत गाउने अवसर पाएपछि सांगीतिक मोह बढ्दै गएको उनी बताउँछन् । २४ वर्षीय क्षेत्री हालसम्म आफ्नो कामबाट सन्तुष्ट रहेको बताउँछन् । भन्छन्, ‘सबैले मलाई माया गर्नुभएको छ, गीत रुचाइदिनुभएको छ । भविष्यमा राष्ट्रिय गायक बनेर चिनिने मेरो लक्ष्य छ ।’ 
 
स्नातक उत्तीर्ण गरिसकेका क्षेत्रीले विभिन्न मेला महोत्सवहरुमा स्टेजमा गाउने अवसर पाउँछन् । उनले हालसम्म इलाम, पर्वत, वाग्लुङ, पोखरा, बुटवलजस्ता सहरहरुमा आफ्नो प्रस्तुति देखाइसकेका छन् । मौका मिले विदेशमा स्टेज प्रोगाम देखाउने धोको उनको छ । 
चारवटा एल्बम निस्किसकेपछि उनका आमाबुबाको सोच बदलिसकेको छ । गीत सुनेपछि मेरो छोरा भविष्यमा राम्रो र ठूलो गायक बन्छ भन्ने विश्वास उनका आमाबुबामा पलाइसकेको छ । उनी अहिले भरतपुरस्थित चारतले दोहोरी साँझमा गीत गाउँदै आएका छन् । जसबाट उनलाई अतिरिक्त आम्दानी पनि हुने गरेको छ भने दोहोरी गीतमा अभ्यास । 
 
उनी समय–समयमा संगीतसमेत सिकाउने गर्दछन्, जसले उनलाई अझै परिपक्व र सिर्जनशील बनाउँछ । तीन वर्षे यात्रामा जुन अपेक्षा लिएर उनले गीत गाएका थिए, त्योभन्दा धेरै प्रतिक्रिया दर्शक-स्रोताले दिएका छन् । 
 
आश्मासँग लगन गाँठो जुराएका उनले आफ्नी जीवन संगिनीबाट पनि हौसला र अघि बढ्ने ऊर्जा पाएका छन् । जीवनमा सबैभन्दा खुशीको क्षण आएको उनी बताउँछन् ।