मनोरञ्जन

एनएएचले क्यान्सर पीडित बसन्तलाई सहयोग गर्न अपील गर्यो

4169 पटक पढिएको

हिमालयखवर संवाददाता- ह्युस्टन । | 7th Jun 2017, Wednesday | २०७४ जेष्ठ २४, बुधवार १४:३९
“ढलेका घरहरू उठाएर आऊ 
गलेका मनहरू उठेर आऊ ‘‘” 
 
यति मीठो राष्ट्रिय भावनाको गीत लेख्ने बसन्त सुनार आफू भने कहिल्यै नउठ्ने गरी अस्पतालको ओछ्यानमा मस्त निद्रामा छन् । उनको उपचारमा संलग्न डा. हैदरको भनाई मान्ने हो भने बसन्त अब यस्तो निद्रासंगै सांसारिक मोह मायाबाट बिदा हुनेछन् । 
 
गत हफ्ता हिमालयखबरले फोक्सोको क्यान्सरबाट पीडित बसन्त सुनारको अन्तिम अवस्थामा पुगेको समाचार प्रकाशित गरेपछि नेप्लिज एसोसिएसन अफ ह्युस्टनले उनको सहयोगकोलागि सार्वजनिक आह्वान गर्यो ।  
 
क्यान्सर पीडित बसन्त सुनार सहयोग कोष खडा गरेर एनएएचले आफ्नो सक्रियता बढाएको छ । जुन ३० सम्ममा १० हजार डलर संकलन गर्ने उदेश्यले स्थापना गरिएको उक्त अभियानलाई धेरै नेपालीहरुले सहयोग गर्ने अपेक्षा एनएएचले गरेको छ । उठेको रकम बसन्त सुनारको परिवारलाई उपलब्ध गराइने कुरा बताइएको छ ।  
 
अमेरिकाकै उपल्लो स्तरको मानिने एम डी एनडर्सन क्यान्सर अस्पतालमा विगत एक महिनादेखि उनको उपचार चलिरहेको छ । तर रोगको अन्तिम अवस्था पुगिसकेकोले कुनैपनि बेला परिवारले बसन्तलाई गुमाउनु पर्ने दुखद समय आउँछ, उपचारमा संलग्न टोलीका प्रमुख डा. हैदरले यो पंक्तिकारसंग भने । 
 
बसन्तका बुबा भीम बहादुर सुनार र आमा हरिकला विगत छ महिनादेखि छोरो हेरेर बसेका छन् । छोरोको स्वर अझै सुन्न पाए हुन्थ्यो भन्ने प्रतीक्षा छ आमालाई ।  तर त्यो पुरा हुने सम्भावना चिकित्सा विज्ञानले देखेको छैन । दुई दिदीहरू घरी भाइको निधार सुम्सुम्याउछन् घरी पैताला । 
 
आफ्नै देशको माटोमा मर्ने बसन्तको इच्छा अब पुरा हुने सम्भावना छैन । यो तितो सत्य पचाउन नसकेर दिदी पवित्रा आँखाभरि आँसु पोख्छिन् । बुबा आमाको व्यथा झनै गहिरो छ ! आफ्नै सामुन्ने छोराको अन्तिम अवस्था टुलुटुलु  हेरेर बस्नु बाहेक अरू उपाय छैन ।  
 
आफ्नो बुबा आमा, दुई दिदी र छोराछोरी सँगै भएपनि आफ्नी श्रीमतीलाई भने बसन्तले भेट्न नपाउने भए । उनलाई अमेरिकी दूतावासले भिसा दिएन। 
 
आफ्नो छोराछोरीको उज्ज्वल भविष्यको सपना बोकेर अमेरिका पसेका युवा संगीत साधक अधुरो सपना छोडेर सधैकोलागि बिदा नभैदिए हुन्थ्यो भन्ने कामना गरौँ । 
 

सहयोगको लागि यो लिंकमा थिच्नुहोला >>http://nahtx.org/cause/help-cancer-patient-basanta-sunar