मनोरञ्जन

नर्सिङ पढ्ने एरिकाको मोडलिङ मोह (फोटो फिचरसहित)

2495 पटक पढिएको

केशव भट्टराई / हिमालय खबर

तस्बिरहरु : रवि भट्ट 'रोषी' | 7th Jun 2017, Wednesday | २०७४ जेष्ठ २४, बुधवार ०४:३४
चितवन । चितवनको भरतपुर महानगरपालिका–४ बेलचोककी एरिका पुन पेसाले डेन्टल हाइजेनिस्ट हुन् । नर्सिङ विषय अध्ययनरत २१ वर्षीया एरिकाको रुचि मोडलिङतिर ह्वात्तै बढेको छ । 
 
उनलाई एक्कासि मोडलिङप्रति मोह बढेकोचाहिँ होइन । सानैदेखिको मोडलिङको दुनियामा आकर्षण बढे पनि विद्यालय शिक्षा तगारो बन्यो । जव उनी उच्च शिक्षा अध्ययन गर्न लागिन् तव मोडलिङको प्यासले आकुल नै बनायो । उनी भन्छिन्, ‘सुन्दरताको तागतमा होइन, प्रतिभाको गुण प्रयोग गर्दै मोडलिङमा आकर्षित बनेको हुँ । मोडल बन्ने बाल्यकालदेखिको अभिलाषा अहिले पूरा भएको छ ।’ 
नर्सिङ विषय अध्ययनरत उनी रत्ननगर–२ हस्पिटलरोडमा एरिका डेन्टल क्लिनिक सञ्चालन गर्दै आएकी उनी आफ्नो क्यारिअर मोडलिङमार्फत् नै अघि बढाउन चाहन्छिन् ।
 
मोडलिङमा रुचि बढिरहेकै बेला केही महिनाअघि मात्र काठमाडौँमा आयोजित ‘मिस सगरमाथा २०१७’ मा भाग लिएपछि उनी त्यही प्रतियोगितामा प्राप्त सफलताले मोडलिङ क्षेत्रमा प्रवेश गर्न झनै प्रेरित गरेको बताउँछिन् । 
 
उनी मिस सगरमाथा–२०१७ मा शीर्ष दशभित्र मात्र पर्न सफल भइनन्, मिस सगरमाथाका आन्तरिक विधाअन्तर्गत उनले मिस व्यूटीफुल, मिस डिसिपिलिन, परफेक्ट डे«स र मिस अर्गनाईजेसन च्वाईसको उपाधिसमेत हात पार्न सफल भएको बताउँछिन् । 
 
मोडलिङ र अभिनयको माध्यमबाट आफूले अलग छवि तयार गर्ने कसम खाएर होमिएकी एरिका ब्याचलरको परीक्षा सकिएलगत्तै म्युजिक भिडियोहरुमा आफूलाई व्यस्त राख्ने बताएकी छिन् । नृत्य, अभिनय प्रशिक्षणबाट प्रशिक्षित एरिका आफ्ना आर्जित कला क्षमता मोडलिङमा भरपुर प्रस्तुत गर्न सक्ने दाबी गर्छिन् । मिस सगरमाथामा सहभागी भएर टप टेनभित्र परेको समाचार सुन्नेबित्तिकै मलाई एकाएक अफर आउन थालेको हो, उनी भन्छिन् । 
 
सानैदेखिको सौख, साथीहरुको प्रेरणा र परिवारको हौसलाका कारण भविष्यमा राम्रो मोडल बनेर अभिनयको दुनियामा होमिने सपना उनले देखेकी छन् । यसमा उनकी फूपू दिदी एलिसा शर्माको पनि भरपुर साथ र सहयोग मिलेको छ ।
 
उनको प्रतिभाको कदर गर्दै साहित्यकार एवम् पत्रकार रवि भट्ट ‘रोषी’ले आफ्नो आधुनिक गीतको ‘डाँडापरि घाम खस्दा...’बोलको म्युजिक भिडियोमा अनुबन्धित गरेका छन् । जसको छायांकन आगामी असारदेखि हुँदैछ । अफरअनुसार म्युजिक भिडियो, सर्टफिल्म, टेलिचलचित्र तथा डकुमेन्ट्रीहरुमा पनि काम गर्ने चाहना उनको छ । 
 
प्युठानमा जन्मिएर चितवनमा स्थायी बसोवास गर्दै आएकी एरिकाले रत्ननगरमा डेन्टल क्लिनिक सञ्चालनमा ल्याएपछि उनको क्लिनकमा युवाको भीड लाग्न थालेको छ । कारण उनी मोडलिङ गर्छिन् भनेर होइन । २१ वर्षे फुच्चीले डेन्टल क्लिनिक खोलेको देखेर बोल्नकै लागि पनि उनको क्लिनिकमा सेवा लिन आउने गरेको उनी बताउँछिन् । ‘सेवा लिएर जाने क्रममा सुन्दरताको प्रशंसा गरेर जाँदै गर्दा मलाई स्वच्छ आनन्द आउँछ’–उनले मुस्कुराउँदै भनिन् । 
मोडलिङ र अभिनयमा समयको मागले व्यस्त हुन बाध्य बनाएमा आफ्नो पेसा छोड्नुहुन्छ त ? भन्ने सवालमा उनले उनले मुस्कुराउँदै भनिन्, ‘त्यो समयमा मलाई जे कुराले व्यस्त हुन जुराउँछ, त्यही बाटो समाउँछु ।’
 
बिना कुनै तयारी रहरमात्र बोकेर मिस सगरमाथा २०१७ मा भाग लिन काठमाडौँ हानिएकी उनी टप टेनभित्र परेर चारवटा आन्तरिक विधामा उपाधि हासिल गर्न सफल हुनुलाई मिस सगरमाथाको ताज प्राप्त गरेसरहको अनुभव प्राप्त भएको उनी बताउँछिन् । ‘राम्रो तयारी गरेको भए मैले मिस सगरमाथाको ताज प्राप्त गर्न सफल हुने थिएँ, उनी भन्छिन् । 
 
 
मोडलिङप्रतिको सौखलाई व्यावसायिक पेसाको रुपमा दर्ज गराएर नै छाड्ने प्रतिबद्धता बोकेकी उनी अनुकूल अवस्था सिर्जना भएमा यसैलाई व्यावसायिक रुपमा अपनाउने बताइन् । ५ फिट २ इन्च उचाई र ४८ किलो वजन भएकी ऐरिकाले आत्मविश्वास छ, ‘म आफनो वजनभन्दा दोब्बर वजनको अभिनय प्रस्तुत गरेर सबैको मन मुटुमा बस्ने छु ।’ 
 
 
एरिकाको मुटुमा बस्नचाहिँ अहिलेसम्म कोही आए कि आएनन् ? उनले सहज रुपमा भनिन्, ‘म आफैँले यस बारेमा हिम्मत गर्न सकेको छैन भने अरु कोहीले कसरी मन–मुटुमा बस्ने हिम्मत गर्न सक्छन् र ?’ 
 
मृदुभाषी, लजालु र आफ्नो स्पष्ट दृष्टिकोण भएकी एरिका अहिले अवसरकै खोजीमा छिन् । रङ्गमञ्चमा उनको प्रस्तुति कस्तो रहने छ त्यो त हेर्न बाँकी नै छ । तर, यी चञ्चले फुच्चीको मोडलिङमा जम्ने सपना पक्कै पनि पूरा हुने विश्वास लिइएको छ ।