मनोरञ्जन

गायक सुनार क्यान्सरसँग अन्तिम संघर्ष गर्दै अमेरिकामा (सहयोग लिंक सहित)

6910 पटक पढिएको

5th Jun 2017, Monday | २०७४ जेष्ठ २२, सोमबार १७:२५
हिमालयखवर संवाददाता- 
ह्युस्टन (अमेरिका) – ‘तिमी बिना जिन्दगीमा बाँच्नु कसरी’ गीतका गायक बसन्त सुनार यतिखेर अमेरिकामा जीवनको अन्तिम क्षणमा संघर्ष गर्दैछन् । 
 
२०३५ सालमा बाग्लुङको सुन्दर गाउँ गल्कोटमा जन्मेका सुनारले ‘घुम्तीमा हावा सरर’, ‘तिमीलाई भेट्न आउँदैछु’ लगायत दर्जनौ गीतमा स्वर र संगीत दिएका छन् । १८ वर्षकै उमेरमा रेडियो नेपालबाट स्वर परिक्षा उत्तिर्ण गरेका सुनार चार वर्षदेखि अमेरिकामा छन् ।
 
क्यान्सर रोगको उपचार गराइरहेका सुनारले नेपाली गीत, संगीतलाई अझै पनि केही गर्ने सोच बनाएका थिए । तर जबदेखि क्यान्सरसँग संघर्ष गर्न थाले उनले त्यतातिर धेरै ध्यान दिन सकेनन् । करिब एक दर्जन गीतहरुमा स्वर दिएपनि बजार विस्तारमा त्यति ध्यान नदिएकोले त्यति चल्तीको भने हुन पाएनन् ।
 
उनी गितार, सारंगी, मादल, पियानो लगायत ६ प्रकारका बाजा बजाउनसक्छन् । गीत पनि आफँै रचना गर्ने, संगीत भर्ने र कतिपय गीतहरु आफैँ पनि गाउँछन् उनी । 
 
गत वर्ष भारतले नेपालमाथि नाकाबन्दी लगाउँदा पनि सुनार अमेरिकामै थिए । उनले यहीँबाट देशप्रेमले ओतप्रोत स्वदेशगान लेखे–‘उठ उठ नेपाली ।’ सुमधुर स्वरका धनी सुनार यतिखेर अमेरिकाको दक्षिणी राज्य टेक्ससको सामुद्रिक शहर ह्युस्टनस्थित एमडी एण्डरसन क्यान्सर अस्पतालमा उपचारार्थ छन् । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उनको जीवन लामो छैन । 
 
‘मलाई थाहा छ मेरो जीवन छोटिँदै छ । तर म चाहन्छु, जीवनको अन्तिम स्वास आफ्नै माटो सुँघेर लिन चाहन्छु,’ उनी भन्छन् । तर अति सघन उपचार गराइरहेका उनलाई चिकित्सकले नेपाल जान अनुमति दिएका छैनन् । 
 
यस्तो अवस्थामा उनको इच्छा मृत्यु पश्चात शरिरले नेपालीभूमि छोइदियोस् भन्ने रहेको उनकी दिदी पवित्रा सुनारले बताइन् ।