विचार / ब्लग

केपी ओली र एमालेको लिङ्ग

8501 पटक पढिएको

- रामचन्द्र भट्ट

4th Jun 2017, Sunday | २०७४ जेष्ठ २१, आईतवार १९:०३
नेकपा एमालेको सम्बन्धमा एउटा पुरानो कहानी छ । 
 
तीन मित्रहरु चिया पसलमा पुग्छन् । पहिलोले भन्छ–‘साहुजी, चिया बनाउनुस् त । अलि मज्जाले दूध हालेर है ।’
 
दोस्रो भन्छ–‘आफू त बाहुन परियो । मलाई त मज्जाले चिनी राखेर चिया बनाउनुस् है ।’ 
 
तेस्रो चुपचाप बस्छ । चिया पसलले सोध्छन्–‘तपाईंको लागि कस्तो चिया बनाऊँ ?’ ‘मलाईजस्तो भए पनि हुन्छ,’ तेस्रोले भन्छ । 
 
‘जस्तो भए पनि भनेको कस्तो ?’ चिया पसलेले सोध्छन् । तेस्रो मित्र भन्छन्– ‘उहाँलाई जस्तो दूध बढी र उहाँको जस्तो चिनी धेरै हालेर दिए हुन्छ मलाई त ।’ उनको जवाफ सुनेर चिया पसले भन्छन्– ‘तपाईं त कस्तो ठ्याक्कै एमालेजस्तो ।’ 
 
यो कुनै बेलाको कहानी हो । यही तेस्रो मित्रको जस्तै अवस्था थियो एमालेको केही वर्ष अघिसम्म । अर्थात् कुनै अडान र आफ्नै धारणा नभएको दलको पहिचान थियो एमालेको । त्यसो हुँदा धेरैले एमालेलाई भन्थे–लिङ्ग नखुलेको पार्टी ।
 
लिङ्ग नखुलेको दल एमालेलाई केपी ओलीले कुन लिङ्गी हो भनेर पहिचान दिएका छन् । लिङ्ग नखुल्दासम्म एमालेलाई आधा काँग्रेस, आधा माओवादी पनि भन्थे धेरैले ।
 
केपी ओलीले एमालेको पहिचान दिएपछि धेरैलाई चासोको विषय भएको छ । एमालेले आफ्नै अस्तित्व खडा ग¥यो भन्नेमा धेरैको चिन्ता र चासो देखिन्छ । त्यही भएर ओलीलाई गाली गर्ने लिगलिगे दौड छ– सामाजिक सञ्जालहरुमा ।
ओलीलाई गाली गरेर लेख लेख्यो भनेमात्र होइन, स्टाटस लेख्यो भने, ट्विटरमा ट्विट ग¥यो भनेमात्र पनि रातारात हिट होइन्छ भन्ने धारणा सामाजिक सञ्जालका नयाँ प्रयोगकर्तालाई मात्र होइन, स्थापित लेखक खगेन्द्र सङ्ग्रौलादेखि लिएर नेपाली राजनीतिमा आशालाग्दा भनिएका विश्वप्रकाश शर्मादेखि प्रदीप पौडेलसम्ममा धङधङी देखिएको छ ।
 
केही दिनअघि शर्माले ओलीलाई किन झापा छाडेको भन्दै लेख लेखे । त्यसको दुईसाता नपुग्दै नेपाल विद्यार्थी संघका अर्का पूर्व नेता प्रदीप पौडेलले खुल्ला पत्रको नाममा लेख लेखेर ओलीलाई अरुले जसरी नै ‘उखाने नेता’सम्म भन्न भ्याए । पौडेलले यतिसम्म भन्न भ्याएका छन् कि, काठमाडौँ महानगरपालिकामा काँग्रेस पराजित हुनुमा लोकतान्त्रिक मत विभाजन भएको दलिल पेश गरेका छन् । उनले लोकतान्त्रिक पार्टीको ठेक्का काँग्रेसमात्र रहेको दाबीसमेत गर्न भ्याएका छन् ।
 
लेख्न सबै स्वतन्त्र छन् । बिक्नेका कुराले सञ्चारमाध्यममा ठाउँ पाउँछन् । सर्वसाधारणले आफ्ना कुरा सामाजिक सञ्जालमा लेख्छन् । फरक यतिमात्र हो । तर, स्थापित नेताले लेख्दाखेरी समाजमा द्वेष फैलाउने खालको होइन, द्वन्द्व निम्त्याउने शैलीले होइन, व्यक्तिगत कुरालाई गौण मानेर समाजलाई शान्त बनाउनुपर्ने थियो ।
 
२०४८ सालदेखि मृत्युअघिसम्म पनि नेपाली राजनीतिका पात्रहरुमध्ये सबैभन्दा बढी आलोचना कसैको हुन्थ्यो भने गिरिजाप्रसाद कोइरालाको हुन्थ्यो । अरु दलबाट होस् या काँग्रेसकै कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहदेखि लिएर पछिल्लो पटक तत्कालीन राजा ज्ञानेन्द्रले दण्ड दिएपछि नेपाली काँग्रेसलाई फुटाएर ‘नेपाली काँग्रेस प्रजातान्त्रिक’ गठन गरेका शेरबहादुर देउवासम्मले सराप्ने मुख्य पात्र थिए कोइराला । 
 
नेपाली राजनीतिमा उनै कोइराला सधैँभरि ‘मियो’ बनि नै रहे । उनलाई नत गणेशमान, नत कृष्णप्रसाद, कसैको श्रापले केही दाल गलेन । छुट्टै दल गठन गरेर हिँडेका देउवासम्म कोइरालाकै टाङ्गमुनि घुस्न आइपुगे । 
 
मलाई हेक्का छ । मैले यति लेखिरहँदा स्वदेशबाट परदेशमा भासिएको मलाई पनि पक्कै ‘ओलीको हनुमान’, ‘कथित राष्ट्रवादी’ को बिल्ला भिराइने छ । तर, मलाई नेपालका नेताहरुसँग कुनै स्वार्थ छैन । उनीहरुबाट मलाई व्यक्तिगत, पारिवारिक कुनै आशा अनि अपेक्षा पनि छैन । तर, यसो भन्दैमा खराबलाई खराब र राम्रोलाई राम्रो भन्न सकिएन भने हामी र पशुमा कुनै अन्तर रहँदैन । किनकि मानवलाई असल र खराब खुट्याउन सकुन् भनेर नै भगवान्ले बुद्धि र विवेक जन्मसँगै दिएर पठाएको हुन्छ । त्यसै कारण मलाई कुनै आश र त्रास छैन । 
 
सुरूमै उल्लेख भैसक्यो– मदन भण्डारीको निधनपछि पहिचान बनाउन नसकेको एमालेलाई एउटा जिउँदो पार्टीका रुपमा ओलीले चिनाएका छन् । 
 
सीधा विषयवस्तुमा प्रवेश गर्नका लागि ब्रह्माण्डको उत्पत्तिबाट कुरोको थालनी गर्ने झलनाथदेखि लिएर ‘वर्तमान परिप्रेक्षमा’ बाट विषयवस्तुको उठान गर्ने माधवकुमार नेपालसम्म नेतृत्वमा एमाले सधैँभरि अरु दलको पुच्छर बनिरहेको यथार्थता लुकेको छैन ।
 
लुकाएर साध्य पनि छैन । बिन्तिपत्र हालेर प्रधानमन्त्री पद मागिएको सन्दर्भमा होस् या २०६१ सालमा प्रतिगमन आधा सँच्चियो भनेर शेरबहादुर देउवासँगै घाँटी जोडेर सरकारमा गएको सन्दर्भमा होस् । एमाले कहिल्यै पनि आक्रामक रुपमा अघि बढ्न नसकेकै हो । सधैँभरि प्रतिरक्षात्मक भूमिकामै अलमलिएको थियो एमाले । ती घटनाले एमालेले लामो समयसम्म घाटा पु¥याइरहेको छ । 
 
परिआउँदा कार्यकर्ताको संरक्षण गर्न नसक्नेदेखि लिएर अवसर मिल्दा ‘होइन, यस्तो त गर्नुहुँदैन’ भन्दै अवसरबाट सधैँभरि वञ्चित गर्नेमा माधव नेपाल अग्रणी रहे । उनैले आफ्ना भाइलाई हङकङको महावाणिज्यदूत सिफारिस गरेको घटना भने सायद कसैले पनि भुलेका छैनन् होला । उनको विशेषता नै रह्यो– ‘चोरलाई चौतारो र साधुलाई शूली ।’ प्रधानमन्त्री छँदा सिडिओ कुट्ने राज्यमन्त्री करिना बेगमलाई समेत कारबाही गर्ने आँट नगरेर आफ्नो कमजोर मानसिकता उनले प्रदर्शन गरिसकेका हुन् ।
 
कहिले यता ठोक्किने र घरि उता ठोक्किएर अस्तित्वकै संकटमा परेको एमालेलाई ओलीले अप्रत्याशित रुपमा नयाँ गति दिएको देखिन्छ । उनले एमालेलाई कुनै परम्परागत जडसूत्रवादी कम्युनिष्ट पार्टी नभै बहुदलीय प्रजातन्त्र, लोकतन्त्रप्रति दह्रो प्रतिबद्धता रहेको दलको पहिचान दिलाउन सफल भएका छन् । जुन कुराको अपेक्षा कसैले पनि ओलीबाट गरेका थिएनन् । 
 
‘बिरामी छन्, कुन बेला के तलमाथि पर्ने हुन् । एकपटक अध्यक्ष त दिइहालौँ न त’ भन्ने सोचाइ धेरै एमाले कार्यकर्ताको थियो उनीप्रति । सहानुभूतिले अध्यक्ष भएका ओलीले एमालेको संगठनलाई चलायमान बनाएकै हुन् । आवधिक निर्वाचन नहुँदा भुत्ते हुन पुगेको एमालेको संगठनलाई उनले गति दिएकै हुन् । 
 
संविधान घोषणापछि भारतले नाकाबन्दी लगाएको अवस्थामा सुशील कोइरालाले ओलीलाई निकै गह्रौँ गरी सत्ता हस्तान्तरण गरेका थिए । प्रतिकूल अवस्थामा पनि शिर ननिहु¥याइ उनले त्यतिखेर खेलेको भूमिकालाई सकारात्मक नै मान्नुपर्छ । हावाबाट बिजुली, रेल, पानीजहाज, भान्सामा ग्यासजस्ता कुरालाई लिएर उनको खिसिटिउरी गर्नेलाई मसला भने मिलेकै हो । तथापि यो असंभव भने थिएन ।
 
लक्ष्य लिएपछि सानो किन लिने ? अझ कतिसम्म भने विदेशमा बस्ने नेपाली समुदायबाटै ओलीका योजनालाई लिएर उडाउने, व्यङ्ग्य गर्ने काम भयो । जसलाई आफ्नो घर, अपार्टमेन्टको कुन कुनाबाट ग्यास जोडिएको छ भन्ने हेक्कासमेत हुँदैन तिनले नेपालमा ग्यासको कुरालाई लिएर बढ्ता उडाउने काम गरे ।  
 
ओलीले थालेका कामहरु वास्तवमै नेपालको समृद्धिसँग सम्बन्धित थिए । जसले दीर्घकालीन रुपमा नेपाललाई आत्मनिर्भरताको मार्गमा हिँडाउन बल पुग्ने अवस्था थियो । 
 
यति हुँदाहुँदै पनि ओली साक्षात् भगवानै हुन् भन्ने कुरासँग सहमत हुन सकिँदैन । विगतमा धेरै ऐन, मौकामा उनी चुकेका छन् । गणतन्त्रको यात्रालाई ‘गोरूगाडा चढेर अमेरिका पुगिँदैन’ भन्नेदेखि लिएर महाकाली सन्धिमा ठूलो अवसर नेपाललाई छ भन्नेसम्मका कुरामा उनको कमजोरी पक्कै थियो । तर, एकपटक गल्ती गर्नेलाई समाजले स्वीकार्न सक्छ, तर नियतवशः पटक–पटक दोहो¥याउनेलाई मिल्दैन । 
 
अरुको अस्तित्वलाई सम्मान गर्नमा उनको ठूलो कमजोरी देखिन्छ । विपक्षीलाई पेलेर भित्तामा पु¥याउने उनको वाक्शैली वास्तवमै अहिले केही समस्या बनेको पक्कै हो । तर पनि यथार्थता के पनि हो भने उनको यही शैलीले नै उनलाई यतिखेर चर्चाको शिखरमा मात्र नभई लोकप्रिय बनाएको हो । उनको कमजोरी छ– कूटनीतिक र चिप्ला कुरा नगर्ने । 
 
भुल्न नहुने एउटा पाटो के पनि हो भने, कुनै बनावटी नभई उखान–तुक्का मिसाएर ठेट जनजिब्रोको शैलीले नै उनको बोली बिकेको हो । नभए त एमालेमा केपी ओलीमात्र छैनन, माधव नेपाल पनि छन् । झलनाथ खनाल पनि छन् र वामदेव गौतम पनि छन् । उनीहरुको भाषणमा किन ताली बज्दैन ? किन ओलीको भाषणमा मात्रै ताली बज्छ ?
 
अनि काँग्रेसमा देउवाका भाषण बुझेर ताली पिट्ने कति छन् ? रामचन्द्र पौडेलका आदर्शवान् कुरा सुनेर समर्थन गर्ने कति छन् ? प्रचण्डका कुम हल्लाई हेरेर आकर्षित भएका कति छन् ? 
 
मधेसीलाई बिच्काउने ओली हुन् भन्ने आरोप खेप्दै आएका छन् उनले । ओलीले जे बोल्दै आएका छन् त्यो सही रहेछ भन्ने परिणत हुँदै गएको छ । किनकि काटेर गर्धन नै ओछ्याए पनि मधेसवादी दलहरु पारीको निर्देशन बेगर चुनावमा भाग लिँदैनन् । ‘मधेसवादी हौँ’ भन्नेहरुलाई तराई भनिने सबै समथर भाग चाहिएको छ । समथर भाग दिइयो भने पनि उनीहरुले अर्को कुनै माग ते¥स्र्याइ रहनेछन् । किनकि उनीहरुले नेपालमा शान्ति र स्थिरता हुनै नदिने तानाबुना रचिरहेका छन् । 
 
केपी ओली छन् र मधेसीको मागमा ओली बाधक भन्दै भाषण गर्न अन्य दलका नेताहरुलाई सहज भएको छ । भरखरैमात्र राजविराज पुगेर काँग्रेस नेता शेखर कोइरालाले सप्तरी पुगेर मधेसका सबै दोष जति एमालेको टाउकोमा खन्याइदिएका छन् । 
यदि ओली नहुँदा हुन् त मधेसीमोर्चाले उठ् भने उठ् र बस भने बसको अवस्थामा कांग्रेस पुगिसक्थ्यो । 
 
संसारमा जो बलियो हुन्छ, उसैका विरोधी धेरै पैदा हुन्छन् । जसको चर्चा धेरै हुन्छ, उसैका विरोधमा चर्का स्वरहरु निस्कन्छन् । विश्वप्रकाश र प्रदीप पौडेलले पछिल्लो समयमा केपी ओलीका नाममा खर्चेका शब्दहरु पनि योभन्दा थपमा केही होइनन् । शर्मा र पौडेलजी, ओलीको आलोचना गर्ने, टीका–टिप्पणी गर्ने पेटीठेक्का खगेन्द्र संग्रौलालाई नै परिसकेको छ ।
 
तपाईंहरु फेरि किन पेटीठेक्कामा मिसिन जानुहुन्छ ? बरु देउवाले भताभुङ्ग र लथालिङ्ग बनाएको काँग्रेसलाई सम्हालेर युवावर्गको मन जित्नेतिर अघि बढ्दा उचितै होला । काँग्रेसमा तपार्इंहरुको छुट्टै स्थान छ । अरु दलले पनि सम्मान गर्ने युवा नेतामा तपाईंहरु पर्नुहुन्छ । तसर्थ ओलीको विरोध गरेरभन्दा देउवाले भासेको काँग्रेसलाई उठाउन बल गर्नुस् । तपाईंहरुको ‘होस्टेमा–हैँसे’ गर्न धेरै युवाहरु तत्पर देखिएका छन् ।