जीवन एक - मोड अनेक

सपनामा पनि आफ्नै गाउँ देख्छन् चन्द्रकान्त

3125 पटक पढिएको

सफल प्रवाशी नेपालीको कथा

हिमालयखबर | 4th Jun 2017, Sunday | २०७४ जेष्ठ २१, आईतवार ०९:३०
(जीवन अचम्मको छ । साधारण लाग्छ हेर्दा । तर बुझ्दै जाँदा यो गहिरो र रहस्यमयी  लाग्छ । सामान्य लाग्ने मानिसका पनि जीवनमा अनेक असमान्य घटना घट्छन् । कुनैबेला कसैको जीवनका ती अनुभवहरू अरुकालागि उदाहरण र प्रेरणा श्रोत बन्न सक्छन् । मानिसको जीवन त एउटै हुन्छ तर त्यहाँ धेरै मोडहरू पार गर्नु पर्ने हुन्छ । जीवनभित्र संघर्षका कथाहरू हुन्छन् । खुशी र उन्मादका क्षणहरु आउँछन् । आफूले कल्पनै नगरेका सफलताका मोडहरू फेला पर्छन् । यिनै सेरोफेरोमा हामीले, प्रवासमा बसेर समयसँग कुस्ती खेल्दै जीवनको यात्रालाई डोर्याइरहेका नेपालीहरूको खुशी अनि कथा व्यथा प्रस्तुत गर्ने  यो नयाँ स्तम्भ प्रारम्भ गरेका छौँ - सम्पादक )  
 
अमेरिकाको चौथो ठूलो शहर ह्युस्टन - डेयरी अस्फोर्ड र ब्रेयर फरेस्ट ड्राईभको क्रसिङ्गमा आसियाना छ । हिन्दी वा उर्दु भाषामा आसियानाको शाब्दिक अर्थ स्यानो राम्रो घर हो । त्यहाँको यो घर स्यानो त हैन ठूलै छ , रमाइलो छ , रङ्गीन छ । तर यो मानिसको आवास हैन मीठो स्वादिस्ट भोजन पाइने रेष्टुराँ हो । कुनैबेला यो रेस्टुराँको मालिक भारतीय थिए । तर विगत १२ वर्षदेखि यसको संचालन नेपालीको स्वामित्वमा छ । र त्यसमा पनि यतिबेला यो रेस्टुराँले अर्को फड्को मार्दै ग्रेटर ह्युस्टनको केटी शहरमा ब्रान्च जन्माएको छ । सुन्दा आकर्षक र आनन्द लाग्छ तर एक दशकमै यसरी फड्को मार्ने सफलताको पछाडि कस्को र कस्तो प्रयास हुनसक्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । यसभित्रका आरोह अवरोह बारे सबैलाई जानकारी हुदैन ।  आज यीनै सेरोफेरोमा एउटा सफल  प्रवाशी नेपालीको जीवनका मोडहरूलाई पाठक समक्ष प्रस्तुत गर्दैछु ।  
 
स्कुल शिक्षकदेखि रेष्टुराँ मालिकसम्म 
पश्चिम नेपालको गुल्मी, विशुखर्कको किउँ गाउँमा ५८ वर्ष अघि जन्मेका चन्द्रकान्त शर्मालाई आज यो स्थानमा आइपुग्छु भन्ने अलिकति पनि भेउ थिएन । आफ्नो बुबा मित्रलाल गौतम भारतीय सेनामा काम गर्नु हुन्थ्यो । बुबाको सैनिक रवाफ देखेर उनलाई पनि सेनामा भर्ती हुने ठूलै रहर थियो । तर चन्द्रकान्तको रहरले मात्रै त्यो इच्छा पुरा हुने थिएन, बुबाको स्विकॢति उनले पाएनन ।  
 
चन्द्रकान्त जेठो छोरो, गाइबस्तु चराउनेदेखि घरको काम पनि बेलाबेला भ्याउनु पर्ने । स्कुल पनि जानै पर्यो । इन्द्रचौक प्राविमा प्रारम्भिक शिक्षा सकेर शान्तिपुर उच्च माविबाट २०३२ मा एस एल सी गरे । आफू तीन वर्षको छंदै आमाको वात्सल्य ममता हठात चुँडियो ।
 
आमाको निधन पछि उनको लालन पालन हजुर बुबा-आमाले गर्नु भयो । बुबा सेनामा हुनाले घर बस्न नपाउने । चन्द्रले बुबा आमाको माया हजुर बुबा हजुर आमाबाट पाए । उहाँहरुबाटै जीवनको शिक्षा दीक्षामा भरथेग भयो । 
 
साधारण गाउँले परिवार, जिविकोपार्जनकोलागि केही त गर्नै पर्यो - चन्द्रले एसएलसी सकेपछि गाउँकै स्कुलमा प्रावि शिक्षक भएर काम गर्न थाले । अध्यापनमा दखल देखाए, त्यसैले उनलाई विज्ञान शिक्षा कार्यक्रमको एउटा प्रोजेक्टले काठमाण्डुको ताहाचल क्याम्पसमा आइएड पढ्ने कोटा उपलब्ध गरायो । राजधानी बस्दा धेरै साथीभाई बनाए । त्यही साथीहरुको संगत नै पछि उनको विदेश पलायनको एउटा सहयोगी पाटो बन्यो । 
 
आइएड सकेर गाउँ फर्केपछि उनको पदोन्नति निमावि शिक्षकमा भयो । स्यानोमा विध्यार्थी हुँदा लामो कपाल हुन्थ्यो । डोरी बाटेझैं कपाल बाटेर स्कुल जाने चन्द्रकान्त शिक्षक भएपछि सामान्य भए , कपाल छोटो भयो । १२ वर्ष स्थायी निमावि शिक्षक भएर काम गर्दा पनि आर्थिक अवस्था उस्तै । जहिले पनि अपुग , अभाव ! त्योबेला नेपालमा कति नै हुन्थ्यो र निमावि शिक्षकको तलब !! सेनामा भर्ती हुन जाउँ बुबाले नदिने , उनको उकुसमुकुसले हरेक क्षण चन्द्रकान्तलाई पिरोल्न थाल्यो । 
 
जे पर्ला पर्ला ! साथीहरुसंग सम्पर्क थियो ,अमेरिकामा  व्यापार व्यवसायको कार्यक्रम अन्तर्गत भीसा आवेदन हाले । सन् १९९६ चन्द्रकान्तकोलागि नयाँ अवसर लिएर आयो । भीसा लाग्यो , आफ्नी पत्नि र तीन सन्तानलाई एक्लै छोडेर उनी अमेरिका आए । ठूलै हिम्मत बोकेर यता त आए तर न त अङ्रेजी भाषामा बेजोड दखल  न त कुनै कामको अनुभव ! स्कुलमा पढाएजस्तो सजिलो कहाँ हुन्थ्यो र अमेरिकी जीवन ! 
 
जर्जिया पुगेपछि केही समय त अत्यास लाग्यो चन्द्रकान्तलाई । तर एउटा नेपाली साथीले भारतीय रेस्टुराँमा काम खोजिदियो । आफ्नो परिवार र देशै छोडेर यता आइसकेपछि पछाडि फर्किने अवस्था थिएन , त्यहिंबाट संघर्ष शुरु गरे । तीन वर्ष जर्जिया बस्दा उनले अमेरिकी रेष्टुराँ मोरिसन र स्टिक एएलएमा समेत कामको अनुभव बटुले । त्यतिबेलासम्म चन्द्रको आँत आँटिलो भैसकेको थियो । खाना पकाउनेदेखि पस्किनेसम्मको अनुभवले उनको पेशागत अनुभव खारिन थालेको थियो ।  
 
उनको दिमागमा , अब स्यानो शहरमा बसेर जीविका चल्दैन भन्ने सोच आफुसंगै काम गर्ने  भारतीय शैफले   हाल्दिएपछि भने चन्द्रकान्तको आँखा खुल्यो । त्यहि भारतीय मित्रको साथ लागेर १९९९ मा उनी ह्युस्टन आए । त्यहाँ आएपछि  यसअघि घिस्रिएको उनको जीवन यात्राले रफ्तार लियो । चर्चित भारतीय शैफ मल्होत्राको संगतले भान्साको काम उनकोलागि सजिलो भैसकेको थियो । बम्बै ब्रेसरीमा चन्द्रले काम थाले । 
आसियाना , ह्युस्टन 
समयसंगसंगै चन्द्रकान्तको शीप पनि खारिंदै थियो । त्यो खारिएको शीपलाई चन्द्रको आफ्नै गाउँको मित्र सन्जय श्रेष्ठले कतैबाट नियालि  रहेका थिए । संजयले आफ्नो संचालनको आसियाना रेस्टुराँमा साझेदारीमा काम थाल्न अनुरोध गरे । अस्वीकार गर्ने कुरा थिएन । सन्जय , दीपक अर्याल र चन्द्रकान्तको साझेदारीमा २००७ देखि आसियानाले नयाँ मोड लियो । नेपालको सुदूर गाउँको निमावि शिक्षक अमेरिकाको रेष्टुराँ मालिक बन्न पुग्यो । अहिले पनि चन्द्र सन्जयको विशेष प्रोत्साहनको तारिफ गर्छन् । तीनजनाको साझेदारीमा कुनै दिन पनि तिक्तता आएन । अन्यथा " पार्टनरशीप " त्यसमा पनि नेपालीहरु बीच शायदै फापेको होला ! तर आसियानाको साझेदारी एउटा उदाहरण हो भन्छन् उनी । केही समय संगै काम गरेपछि एकदिन सन्जयले नै चन्द्रलाई प्रस्ताव गरे- अब यो रेष्टुराँ तपाँई नै चलाउनुहोस् , हामी अन्यत्र लाग्छौं । 
 
शुरुमा उनलाई विश्वास लागेन । तर सन्जयले हार्दिकता देखाएर नै प्रस्ताव गरेको थियो । सौहार्दपूर्वक तीनजना छुट्टिए । अब चन्द्रकान्त आसियानाको एक्लो मालिक बने । त्यसपछि चन्द्रकान्तको भान्साले विश्राम लिएको छैन । आसियानालाई उनले आफ्नी प्रेमिका झैं माया गर्छन् । उनको मिहिनत र समर्पणको परिणामले आसियानको ब्रान्च ह्युस्टन छेउको अर्को शहर केटीमा समेत संचालनमा आएको एक वर्ष नाघिसक्यो । केटीमा आफ्नो ठूलो छोरा सुभाष गौतमसंगै चन्द्रकान्त खटिएका छन् । यता पुरानो आसियाना कान्छो छोरो नविन गौतमले सम्हालेको छ । नविनलाई आफ्नी दिदी गीता र भिनाजु सलिलले सघाउँछन् ।  
 
आसियाना, टेक्सास र खासगरी ह्युस्टनका सेलीब्रेटीहरुको मन पर्ने रेष्टुराँ भनिन्छ । टेक्सासका गभर्नर जर्ज एभर्ट, ह्यारिस काउन्टी कमिस्नर  र पूर्व मेयर अनिसी पार्कर आसियानाका नियमित ग्राहक हुन् ।  त्यसो त भारतीय र नेपालीहरु  मुख्य ग्राहक हुन् । भारतीय र नेपाली खाना यहाँको विशेषता हो । 
 
टाढिनुको पीडा 
शर्मा परिवार 
चन्द्रकान्त शर्मा गौतम अथवा छोटकरीमा चन्द्र शर्मा आज जुन सफलताको भर्याङ उक्लदै छन् त्यहाँसम्म पुग्न धेरै उतार चढाव झेल्नु पर्यो । पैसा कमाउने अभियानमा उनले नौ वर्षसम्म परिवारबाट टाढा हुनुपर्यो । ससाना छोराछोरी र पत्नीसंगको वियोग खप्नु पर्यो । आफ्नो गाउँघर र समाजबाट टाढिएर विदेशिनु पर्दाको दुख त छँदैछ , बॢद्ध  पिताको हेरचाह गर्ने अवसर समेत नपाएको तीतो अनुभव छ । बुबालाई अमेरिका मन पर्दैन , यहाँ टिक्नै सक्नुहुन्न आफू यताको व्यवसाय छोडेर उता जान सक्ने स्थिति छैन - चन्द्रकान्तको दुखेसो यस्तो छ । 
 
१९९६ मा आफ्नो परिवार र नेपाल छोडेका चन्द्रकान्तले २००५ मा परिवारसंग पुनर्मिलन गर्न पाए ।   चन्द्र २१ वर्ष हुँदा  गाउँकै शालीन युवति कुमारीसंग बिबाह बन्धनमा बाँधिए । नेपालमै हुँदा एउटी छोरी र दुई छोराका बाबु भैसकेका उनले अमेरिकामा कसरी एक्लै नौ वर्ष बिताए , त्यसको व्यथा त उनैलाई थाहा होला !  
 
"परिवार सम्झेर कुनैदिन रुन मन लागेन ? "-मेरो यो प्रश्नको उत्तर भने उनले सजिलै दिएनन । परिवारकैलागि भनेर त यहाँ दुख गरियो , रुनु नै किन पर्यो ! - उनले घुमाउरो पाराले भने । 
तर यतिबेला उनको परिवारसंगै छ , व्यापार व्यवसाय जमेको छ , समुदायमा राम्रो सम्बन्ध बनेको छ र त्यसैले चन्द्रकान्त खुशी छन् । 
  
बाबुको बिहे ! 
 
नेपालीमा एउटा उखान छ- देख्लास बाबुको बिहे ! साँच्चिकै चन्द्रकान्तले आफ्नो बुबाको बिहे हेर्न पाए । 
" आफू सानै छँदा आमा खसेकोले बुबाले अर्की आमा बिहे गर्नु भयो । म त्योबेला दश वर्षको थिएँ होला । जन्ती गएको , बिहे भतेर खाएको मलाई सम्झना छ । " - नेपाली उखानलाई गलत सावित गरेन त मेरो भोगाईले ? उनले हाँस्दै प्रश्न गरे । 
 
सामाजिक दायित्व 
ह्यारिस काऊन्टी कमिस्नर र ह्युस्टनकि पूर्व मेयर अनिसी पार्कर आसियानामा
चन्द्रकान्तको मन समाज र आफ्नो समुदायप्रति सदैव समर्पण भाव राख्छ । ह्युस्टनमा नेपाली समुदायले आयोजना गर्ने हरेक कार्यक्रममा आसियानाको सहयोग र सहभागिता देखिन्छ । समुदायमा कसैलाई सहयोग गर्नु पर्यो चन्द्रकान्तको मन र हात खुल्ला हुन्छ । कार्यक्रमा सौजन्य र सहयोग गर्न उनी कहिल्यै पछि हट्दैनन् ।  ह्युस्टनका नेपालीहरुको छाता संस्था नेप्लिज एसोसिएसन अफ ह्युस्टनमा उनी कार्यकारी सदस्य छन् । त्यो संस्थाको हरेक गतिविधिलाई उनी सहयोग पुर्याउछन् । 
 
अर्कोतिर आफू जन्मेको ठाउँप्रति चन्द्रको असाध्यै लगाव छ । भन्छन्- सपनामा पनि आफ्नै गाउँ देख्छु । आफूले पढेको स्कुलमा हरेक वर्ष ध्वादी महोत्सवको नाममा  जिल्ला स्तरीय भलिवल प्रतियोगिता हुन्छ, त्यसको प्रथम पुरस्कारको राशी ६० हजार रुपैयाँ उनैले सहयोग गर्छन् । 
 
आफ्नो जन्मथलो किउँमा रहेको लक्ष्मीनारायण मन्दीरको जीर्णोद्वारमा सहयोग गरेका छन् । गुल्मीको शान्तिपुर उच्च माविलाई(हाल चन्द्रपुर क्याम्पस ) फर्निचर खरिद गर्न एकलाख रुपैयाँ सहयोग पुर्याएका छन् । 
 
उनलाई प्रत्येक वर्ष नेपाल पुग्न मन लाग्छ तर व्यवसायको व्यस्तताले सक्दैनन् । पाँच बर्ष अघि पुगेको नेपाल फेरि यसपाली जाने धोको छ । 
 
अब त छोरा छोरी सबै गरिखाने भए , व्यवसाय फस्टाएकै छ उनी ढुक्क छन् । त्यसैले केही वर्षपछि नेपाल मै गएर जीवन बिताउने सोच छ चन्द्रकान्तको । नेपालमा गरीब निमुखाको सेवा गर्ने , सकिन्छ भने संसार घुम्ने रहर छ उनलाई । 
 
संसार घुम्ने रहर त चन्द्रजस्तो सफल व्यवसायीकोलागि जति सजिलो होला,  नेपालमै बाँकी जीवन बिताउने चाहना पुरा गर्न भने उनले निक्कै साहसिक  निर्णय गर्नु पर्ला ! 
 
Email: tbaral09@gmail.com
 
यो पनि पढ्नु होला