बिजनेस

ग्वालीमै बित्छ दिन दृष्टिविहिन चिरन्जीवीको !

322 पटक पढिएको

गोपालप्रसाद पोखरेल | 2nd Jun 2017, Friday | २०७४ जेष्ठ १९, शुक्रबार ०३:०६
पथरी (मोरङ) । जन्मँदै दुवै आँखा गुमाएका मोरङको पथरी शनिश्चरेका २२ वर्षीय चिरञ्जीवी अधिकारीले जन्मिएको एक वर्ष नपुग्दै आमा गुमाउनु प¥यो । उनी एकवर्ष नपुग्दै आमाको मिर्गौला फेल भएर मृत्यु भयो । हालसम्म उनले तीनवटी आमा पाए । २०५२ मङ्सिर १६ गते मोरङको पथरी शनिश्चरेमा जन्मिएका चिरञ्जीवी एक ठाउँबाट अर्को ठाँउ सर्न सक्दैनन् । 
 
मोरङको पथरी शनिश्चरे नगरपालिका–९ सिंहवाहिनी स्कुल छेउका बासिन्दा मदनबहादुर अधिकारीका माइला छोरा उनी २२ वर्ष पुगे तर कतै हिँड्डुल गर्न सक्दैनन् । सानामा भित्ता समाएर अलिअलि बामे त सर्ने गर्थेे । तर हाल उनी दुई घुँडाको  बीचमा टाउको निहुराएर झोक्रिएर बस्छन् । आमाको मृत्युपछाडि बाबु काममा बाहिर हिँड्नुपर्ने भएकाले चिरञ्जीवी मूलघरमा हजुरबा–आमासँग बसे । 
 
उनी बिहान–बेलुका खानाबाहेक अरू केही खाँदैनन् । २२ वर्षीय चिरञ्जीवीको तौल १२ किलो छ । न आँखा देख्छन्, न कान नै मज्जाले सुन्छन् । हात चल्छ, खुट्टा चल्दैन । उनी खाना ढिलो भयो भने चिच्याउने र मन खुसी भएको समयमा गीत गाउने गर्छन् । 
 
उनी आवाज र स्पर्शले आफन्तहरूलाई चिनिहाल्छन् । आमाको मृत्युपछि माइली आमाले स्याहारसुसार गरेपनि उनी अर्कैसँग बिवाह गरेर गएपछि हाल कान्छी आमाले घरमा स्याहार गर्दै छिन् । बा, आमा, दाजु, भाइ भए पनि सबै आ–आफ्नो काममा जाने भएकाले चिरञ्जीवीको स्वास्थ्य दिनहुँ झन् जटिल हुँदै गएको छ ।
 
उनका एक दाजु र दुई भाइ छन् । आमाबुबा सामान्य खेती किसान भएकाले हातमुख जोड्नै गाह्रो भएको बाबु मदनको भनाइ छ । चिरञ्जीवीलाई अहिले घरपरिवारले ग्वालीमा खाट राखी हेरचाह गर्दै आएका छन् । 
 
“घरभित्र र सिमेन्टीमा राख्दा चिच्याउने, कराउने र दिसापिसाब गरेको थाहा नपाउने भएकाले उनलाई ग्वालीमा खाटमा राखिएको बुबा मदनको भनाइ छ । उनलाई बिहानजस्तो छोड्यो बेलुकी आउँदा पनि त्यस्तै रहेको भेटिन्छन् । बसेकै ठाउँमा दिसापिसाब गर्ने भएकाले सरसफाइमा कमी हुँदा हैजा उठ्ने समस्या हुन्छ । बाबु मदन भन्छन्, “सरकारले मासिक दुई हजार त दिएको छ, तर चिरञ्जीवीका लागि लुगा किन्नसमेत पुग्दैन ।” 
 
सरकारले चिरञ्जीवीका लागि उचित व्यवस्था मिलाई दिनुपर्ने माग उनको छ । बाबुले विभिन्न सङ्घसंस्थासँग हारगुहार पनि नमागेको हैन । सङ्घसंस्थाले आएर उल्टै हप्काएर गएको गुनासो छ । 
 
उनी अहिले सबैबाट हार खाएर छोराको मायाले स्याहारसुसारमा आफैँ लागेका छन् । उनले सरकारले अपाङ्गता भएकाको हकमा केही भए र उद्वार गर्ने केही उपाय भए सहयोग गरिदिन अनुरोध पनि गरे । रासस