विचार / ब्लग

मेरो जन्मदिनको उपहार : युद्धपीडित बालबालिकालार्इ

2423 पटक पढिएको

- उमा कार्की थापा

30th May 2017, Tuesday | २०७४ जेष्ठ १६, मंगलवार ११:२४
आज मेरो जन्मदिन, मलाई जिन्दगी दिने मेरा मातापिताप्रति सत्सत् नमन । यतिबेला म महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिकामा सुन्दर भविष्यको सपनालाई सार्थक बनाउने अभिलाषा बोकेर मेरा सन्तान र परिवारको भविष्य सुन्दर बनाउन अहोरात्र डटिरहेको छु । जिन्दगी जिउने क्रममा मैले मेरो जन्मदिनका अवसरमा धेरै उल्लासमय क्षणहरुमा साथी, संगी र परिवारसँग रमाएको छु । तर मलाई कहीं कतै केहि नपुगेजस्तो सधैँभरि भइरह्यो । 
 
अमेरिका आगमनसँगै मेरो पारिवारिक विरासतले दिएको सेवा परमो धर्म र स्वतन्त्रताको मेरो मन भित्रको अमीट छापकै प्रतिफल मातृभूमि नेपालमा होस् वा अमेरिकामा मैले आफ्ना लागि बैभवता मात्र होइन सामाजीकरण र न्यायको लागि आफुलाई मैदानमा होमे । म एउटी नेपाली मूलकी, छोरी, बुहारी र आमा, घरको पर्खाल नाघेर अमेरिकी स्वतन्त्रताको मूल्य उपभोग गर्न नेपाली अमेरिकनलाई डोर्याउने कोशिस गरेकै प्रतिफल नेपाली अमेरिकनको सामाजिक संस्था नेपाल अमेरिका एकता समाजको अध्यक्ष हुँदै गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, (एनआरएनए) अमेरिकाको महिला संयोजकमा निर्वाचित भएर अमेरिकामा रहेका नेपाली समुदायका आमा दिदी बहिनीहरुको सेवामा आफ्नो कार्यकाल समर्पण गरे । गर्व साथ् भन्छु यतिबेला (एननआरएनए) अमेरिकाको आसन्न निर्वाचनमा उपाध्यक्ष पदको प्रत्याशीका रुपमा यहाँहरु माझ उपस्थित भएको छु । मलाई विश्वास छ, सदाझैं यहाँहरुको अमूल्य मत, साथ्, समर्थन र मायाले म सदाझैं यहाँहरुको अमूल्य मतले निर्वाचित हुनेछु । 
 
तर मेरो मन यतिबेला पश्चिम नेपालका रुकुम रोल्पाका जस्ता विकट गाउँका बाल-बालिकाले शिक्षाको उज्यालोबाट बञ्चित हुनु परेको दर्दनाक दृश्य मेरो मानसपटलमा घुमिरहेको छ । मलाई हेक्का छ, प्रवाशका नेपालीलाई मातृभूमिसँग जोड्ने गैर आवासीय नेपाली अभियानसँग मेरो आवध्दता र नेतृत्वको आकांक्षा मात्र पदको लागि हुनुहुन्न । 'जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी' अर्थात् आमा र जन्मदिने दिने धर्तिको ऋण तिर्नु पर्छ मैले । नेपाल आमाका सन्तान कोहि काखमा कोहि विकट गाउँको पाखामा हुनुहुन्न । अर्थात् मेरो मनले भन्यो रुकुमका युध्दपीडित २५ बाल-बालिकालाई शिक्षाको उज्यालो घामबाट बञ्चित हुनु भनेको भोलिको नेपाल अँध्यारो हुनु हो । 
 
मन दुख्यो, म के गर्न सक्छु मलाई मेरो मनले सोध्यो र मैले अठोट गरें । रुकुमका युध्दपीडित २५ बाल-बालिकालाई माध्यामिक तह सम्मको शिक्षाको लागि  लाग्ने सम्पूर्ण खर्च मेरो तर्फबाट मेरो जन्मदिनको उपहार दिने सोच बनाएँ । यसै शैक्षिक सत्रबाट रुकुमका युध्दपीडित २५ बाल-बालिका भोजन सहित स्कुल जाँदैछन् ।  
 
मेरो मन मुटुमा लोकतन्त्र, स्वतन्त्रता, सेवा परमो धर्म र जननी जन्म भूमिश्च स्वर्गादपि गरियसीको अमीट छाप छोड्ने मेरा पिताजी नेपालको प्रजातान्त्रिक आन्दोलनका जिउँदा सहिद गणेशबहादुर कार्की, मेरी स्वर्गीय माता तिर्थ कार्की, मेरा पति र मेरा बहिनीहरु प्रति यो क्षण साथ्, समर्थन र उत्प्रेरणाको लागि कृतज्ञता जाहेर गर्दछु । 
 
मलाई र गणेश तिर्थ कार्की फाउन्डेसनलाई रुकुमका युध्दपीडित बालबालिकाको शिक्षामा डोर्याउने र पुर्याउने महिला नेत्री कुसुम थापाप्रति यो अवसरमा आभार प्रकट गर्दछु । जननायक बिपी कोइरालाको भनाई, ठुलो होइन असल मान्छे बन्ने प्रेरणा मभित्र जगाउने भगवानलाई जन्मदिनको यो घडीमा कोटी कोटी नमन टक्र्याउछु । जिन्दगीले प्राप्त गर्ने पद र प्रतिष्ठा सेवा परमो धर्मको मूल मन्त्रमा डोर्याउने प्रण गर्दछु । आउनुहोस मिलाउ हातहरु 'जननी जन्म भूमिश्च स्वर्गादपि गरीयसीको मूल मन्त्र सहित मातृभूमिको सेवामा ।