अन्तर्वार्ता

परोपकारी पत्रकारबाट अलग हुन सक्दिन : रवि भट्ट ‘रोषी’

778 पटक पढिएको

परोपकारी पत्रकारितामार्फत् सामाजिक अभियानमा तल्लिन रोषीसँग गरिएको कुराकानी–

केशव भट्टराई / हिमालय खबर | 28th May 2017, Sunday | २०७४ जेष्ठ १४, आईतवार ०४:१९
कतारका प्रवासी नेपालीका लागि भरोसाका केन्द्र हुन्- रवि भट्ट ‘रोषी’ । चितवनको रत्ननगर–१३, जगमंगलामा स्थायी घर भएका रोषीको परिचयको आयाम फराकिलो छ । उनी लेखक, पत्रकार, गीतकार, साहित्यकार, कलाप्रेमी र खेलप्रेमीका रुपमा चिनिएका छन् । अध्ययनका क्रममा कलकत्तामा सन् १९८९ मा दार्जिलिङबाट प्रकाशित हुने पत्रपत्रिकामा विभिन्न विधामा कलम चलाएर साहित्य क्षेत्रमा आकर्षित दोषी बंगला नाटकको प्रभावले विभिन्न सांस्कृतिक कार्यक्रमहरुमा सक्रिय रहँदै आए ।
 
केही वर्ष घरगृहस्थी जीवन व्यतीत गरी उनी जागिरको शिलशिलामा कतार हान्निए । सन् २००२ देखि कतारमै भविष्यको खोजी गरिरहेका उनी साहित्य लेखनमा क्रियाशील हुनुका साथै अन्तर्राष्ट्रिय युवा नेपाली साहित्य समाजको प्रथम उपाध्यक्षका रुपमा जिम्मेवारी पूरा गरे । एनआरएनको संस्थापनकालदेखि हालसम्म विभिन्न भूमिका निर्वाह गरेका रोषी गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को सञ्चार कार्यदलको मध्यपूर्व एसियाका संयोजक हुन् । नेपाल पत्रकार महासंघ कतार शाखाको (२०१३–१५) सम्म अध्यक्ष भई प्रवासमा समेत पत्रकारितामा क्रियाशील हुँदै आएका उनी परोपकारी पत्रकारितामार्फत् सामाजिक अभियानमा तल्लिन छन् । 
 
सामाजिक सञ्जालको प्रयोग गरेर होस् या पत्रकारिता उनले प्रवासमा दुःख पाएका धेरै नेपालीको उद्धार गरेका छन् । उनकै एकल प्रयासमा कोमामा लडेका नेपाली हुन् वा उपचारको खोजीमा छटपटाइरहेका बिरामी, दाताहरुबाट आवश्यक सहयोग जुटाउँदै आएका छन् । कतारमा उनको निवासलाई ‘मिनी दूतावास’ मानिने गर्दथ्यो । उनी दयालु छन् । कसैको दुःख–पीडा देख्नै चाहँदैनन् । सहयोग गर्न सकेको पर्यत्न गरिहाल्छन् ।  यतिबेला पारिवारिक कामको शिलशिलामा केही समयदेखि गृहनगर चितवनमा रहँदै आएका यिनै बहुआयामिक व्यक्तित्व रोषीसँग हिमालयखबरका नेपाल संयोजक केशव भट्टराईले गरेको कुराकानी– 
 
१) कामको खोजीमा कतार जानु भएको थियो । पत्रकारिता पो गर्न थाल्नुभयो । कसरी बन्नुभयो परोपकारी पत्रकार ? 
 
–पत्रकारिता नगरे पनि साहित्य–सिर्जनामा लाग्दै गर्दा कतारमा नेपाली कामदारका कथा–व्यथाले नराम्ररी मन भाँच्चियो । कामदारका रुपमा कतार पुग्नेहरु कोही कम्पनीबाट तलब नपाउने, कतिपय कम्पनीले भिसा नै नलगाइदिने, बिरामी हुँदा उपचार नगरिदिने, कन्ट्रयाक्ट पूरा भैसक्दा पनि नेपाल फर्कन नदिनेजस्ता समस्या मैले उजागर गरेँ ।
 
कतारबाट प्रकाशित हुने राजधानी अन्तर्राष्ट्रिय साप्ताहिकमा नेपाली कामदारका पीडाबारे निरन्तर समाचार लेखेपछि कतारमा रहेका विभिन्न संघसंस्था-एनआरएनको पहलमा राजदूतावासमार्फत् न्याय दिलाएर नेपालीहरुलाई नेपाल फर्काउन सहयोग पु¥याएँ । यो क्रम अझै चलिरहेको छ । १४८ जना नेपाली कतारमा अलपत्र हुँदा आफैँले खाद्यान्न जुटाएर वितरण गरेँ । र, विभिन्न व्यवसायीहरुसँग याचना गरी नेपाल फिर्तीको टिकट दिलाएँ । कसैको पीडा÷समस्यामा सहयोग गर्दा मनमा बिछट्टै आनन्द छाउँदो रहेछ, त्यसैले म परोपकारी पत्रकारिताबाट अलग रहन सक्दिन ।
 
 
२) कतारमा तपाईंको डेरा (निवास)लाई ‘मिनी दूतावास’ नै भनिँदो रहेछ । यसको राजचाहिँ के हो ? 
 
–पीडितको समस्यालाई उपेक्षा गरेपछि समाचारको माध्यमबाट त्यसको निकास निकाल्न मैले सक्दो प्रयास गरेँ । दुःख पाएका नेपालीहरुको मन बिसाउने चौतारीका रुपमा मेरो डेरालाई उनीहरुले ‘सेल्टर’ बनाए । अलपत्र परेर मकहाँ केही अपेक्षा राखेर आएकालाई मैले आश्रय नदिने कुरा भएन । उनीहरुलाई होटलमा खानाको प्रबन्ध गर्ने, विभिन्न व्यवसायीहरुसँग समन्वय गरेर उनीहरुलाई न्याय दिलाउन सक्दो सहयोग गरेकाले यस्तो उपमा दिएका हुन् । दूतावासको पहुँचसम्म नपुग्नेहरुका लागि मैले केही राहत प्रदान गरेको पक्कै हुँ ।
 
३) १५ वर्षसम्म तपाईँ कतारमै रहनुभयो,  नेपाली राजदूतावास कत्तिको सहयोगी पाउनुभयो ?
 
–वैध र अवैध गरी कतारमा साँढे पाँच लाख नेपाली छन् । ५० हजार श्रमिक रहेको देशमा दूतावासलाई परराष्ट्र मन्त्रालयअन्तर्गत एकजना श्रम सहचारी दिनुपर्ने प्रावधान छ । कतारको हकमा जम्मा दुईजनामात्रै श्रम सहचारीको व्यवस्था गरिएको छ । दुई कर्मचारीले हजारौँ पीडितको समस्या सुन्नुपर्ने हुन्छ । कर्मचारी अभावले गर्दा उनीहरुले सबैको समस्या सम्बन्धित कम्पनीहरुमा पु¥याउन सक्दैनन् । पीडितले न्याय पाए पनि ढिलासुस्ती र हेलचक्र्याइँ हुन जान्छ । जसबाट पीडितले राजदूतावासले वास्ता गरेन भन्न बाध्य हुन्छन् । कुनै पनि दूतावासले नेपालीका पीडा-समस्या हल नगरुँ भन्ने चाहँदैनन् । तर कर्मचारी अभावका कारण सोचेजस्तो सहयोग भने हुन सकेको छैन ।
 
४) तपाईंको कतारकी राजदूत मायाकुमारी शर्मासँग घम्साघम्सी नै परेको सुनिएको थियो । विवादको कारण के थियो ? 
 
–त्यसबेला राजदूत शर्माले नेपाली दूतावासले नेपाली संघसंस्था र व्यवसायीसँग आर्थिक सहयोग नलिने घोषणा गर्नुभएको थियो । त्यही आशयको समाचार मैले राजधानीमा लेखेको थिएँँ । उहाँको आशय कतारलगायत खाडी मुलुकमा बिचल्ली परेकाहरुको लागि सरकारले छुट्टै परोपकारी कोषको व्यवस्था गर्नुपर्छ भन्ने थियो । तर संयोग कस्तो प¥यो भने, नेपालबाट वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, परराष्ट्र-श्रम मन्त्रालय, वैदेशिक रोजगार व्यवसायी संघको जम्बो टोली कतार गएको थियो । त्यसबेला राजदूतले पत्रिकाको हेडिङमात्र पढेर आक्रोशित हुनुभयो । त्यसबेला मेरो स्पोन्सरलाई बोलाएर डिपोट (घर फिर्ती) गर्ने तयारीसमेत गरिएको थियो । पूरा समाचार पढेपछि उहाँले गल्ती स्वीकार गरेपछि समस्या समाधान भयो । कतारमा कूटनीतिक नियोग खुलेदेखि दूतावाससँग सम्बन्ध सुमधुर नै रहेको छ । कतारमा श्रमिकको हितमा काम गर्ने र ४५० रियालबाट न्यूनतम पारिश्रमिक ८०० रियाल पु¥याउन राजदूत डा सूर्यनाथ मिश्रको ऐतिहासिक योगदान रहेको छ ।
 
५) तपाईं आफूलाई साहित्य र पत्रकारितामध्ये एउटा रोज्नुपर्दा केबाट परिचित गराउन चाहनुहुन्छ ? 
 
–वास्तवमा गीत, लेख तथा साहित्य–सिर्जनाहरु आत्मरतिका लागि लेखिएको थियो । जव कतारमा राजधानी अन्तर्राष्ट्रिय साप्ताहिकमा आवद्ध भएँ, साहित्य र पत्रकारिता दुवैलाई एकसाथ अगाडि बढाउने मौका पाएँ । साहित्यले मलाई एउटा अन्तर्राष्ट्रिय पहिचान दियो । प्रवासमा बसेर पत्रकारिता गर्दा मैले लेखेका एक÷दुई समाचारको प्रभावले दुःख पाएका नेपालीको उद्धारका लागि आर्थिक÷भौतिक सहयोग जुट्न थाल्यो । उद्धारपछि नेपाल फर्किएका नेपाली दाजुभाइको अनुहारमा कान्ति छाएको देखेपछि परोपकारी पत्रकारितालाई मैले निरन्तरता दिएँ । मेरो पहिचान साहित्यभन्दा बढी पत्रकारिता नै हो ।
 
६) सामाजिक कार्यमा तपाईंको सक्रियता र प्रभावबारे केही दुष्टान्त सुनाइदिनुहोस् न ? 
 
–सामाजिक सञ्जाल फेसबुक र अनलाइनका माध्यमबाट थुप्रै सहयोग जुटाएको छु । आर्थिक संकलनको पहलकदमी संस्थागत रुपमा भए पनि फेसबुक/अनलाइनको माध्यमबाट बाग्लुङका विष्णुबहादुर ठकुरी, जो ७८ महिनादेखि कतारको हमाद मेडिकल कर्पोरेशनको कोमामा थिए । उनीबारे समाचार लेखेपछि आश्रित परिवार र दुई छोराको पठनपाठनमा करिब १२ लाख रुपैयाँ संकलन गरेर वाग्लुङमै अक्षय कोष स्थापना गरिएको छ ।
 
यस्तै, गामबेँसीको चेपाङ संरक्षण केन्द्रका लागि सुरूवातमा एनआरएन अध्यक्ष जीवा लामिछानेसँग पहल गरी एकलाख जुटाउने काम गरेँ । यसैगरी, राष्ट्रिय निकुञ्ज वरपरका वस्तीमा सेनाबाट अवैध रुपमा जन्मिएका बालबालिकाका लागि सहयोग जुटाउने काम भएको छ । आर्थिक अवस्था कमजोर भई नर्सिङ पढ्न नसकेका दुई चेपाङ किशोरीका लागि समाचारकै प्रभावले आर के शर्माले दुई वर्षसम्म पढ्ने व्यवस्था गरिदिए । नेपाल पत्रकार महासंघ चितवनको लागि ई–लाइब्रेरीका लागि व्यक्तिगत पहलमा आर के शर्माबाटै साँँढे तीनलाख रुपैयाँ सहयोग भयो ।
 
मानवसेवा आश्रम भरतपुरलाई बीबीसी नेपाली सेवाका रवीन्द्र मिश्रको एकल कविता वाचनबाट संकलित साँढे चारलाख रुपैयाँ प्रदान गरियो । धुर्मुस–सुन्तली फाउण्डेसनले गिरानचौरमा निर्माण गरेको एकीकृत नमूना वस्तीका लागि १४ लाख रुपैयाँ जुटाएर प्रदान गरियो । कास्कीका मृर्गौलापीडित सुवास परियारका लागि सञ्जालमार्फतै ११ लाख रुपैयाँभन्दा बढी सहयोग भएको छ । झापाको गरामनी–५ की मुटुरोगी निशा मिश्रका लागि ५ लाख ५४ हजार रुपैयाँ सहयोग भएको छ । यस्तै दर्जनौँ व्यक्तिका लागि समाचारको प्रभावबाट सहयोग जुटाउने काम भएको छ ।
 
७) तपाईं पत्रकारितासँगै खेलकुद क्षेत्रमा पनि जोडिने गर्नुहुन्छ । कसरी आकर्षित हुनुभयो खेलकुदमा ? 
 
–म पनि खेलप्रेमी हुँ । कतार फुटबल एशोसिएसन र भलिबल एशोसिएसनमा नेपाली कमिटीको तर्फबाट मिडिया संयोजक छु । चितवन युवा समूह दोहा कतारकै पहलकदमीमा सबैभन्दा पुरानो र प्रतिष्ठित अलह अहली क्लबसँग समन्वय गरी एन्फाका राष्ट्रिय खेलाडी लगेर दुईपटक मैत्रीपूर्ण फुटबल खेलाएका छौँ । सन् २०२२ मा कतारमा हुने विश्वकपमा नेपाली खेलाडीले निभाएको भूमिका देखेर १०० जना नेपालीमध्येमा सिफारिसमा परेको छु । कतार सरकारले २०२२ मा नेपाललाई ‘फोल्डिङ स्टेडियम’ दिने घोषणासमेत गरेको छ । त्यसको श्रेय हामी हौँभन्दा गर्व लाग्छ ।
 
८) तपाईं गीत पनि लेख्नुहुन्छ । एल्बम निकाल्ने सोच छ कि ? 
 
–पत्रकारितामै बढी समय दिनु परेकाले साहित्य–सिर्जना र गीत लेखनमा कमी आएको छ । तीन वटा गीत रेकर्ड भएका छन् । एउटा गीत र एउटा गजल रेकर्ड गर्ने तयारीमा छु । प्रमोद खरेल, मेलिना राई, सिडी विजय अधिकारी, शिवकुमार चौधरीले मेरा गीतमा स्वर दिएका छन् । एल्बम छिट्टै ल्याउने सोचमा छु ।
 
९) रवि भट्टका पछाडि ‘रोषी’ उपनाम राख्नुको रहस्य के होला ? 
 
–रिसको पर्यायवाची शब्द रोष हो । त्यसैलाई अपभ्रंश गरी रोषी बनाएको हुँ । उपनाम राख्ने लहरै चलेको थियो त्यसबेला । जतिबेला म नौ कक्षा पढ्दै थिएँँ । मेरै गाउँमा रवि भट्ट नामधारी तीन जना छन् । अरु ठाउँमा कति होलान् ! कहिलेकाहीँ पाहुना साँटिने, मुद्दा मामिलामा अनावश्यक तनाव हुने, प्रेमिका झुक्किने, लेख लेख्दा क्रेडिट अर्कोले लिने भएपछि मैले रवि रोषीमात्रै लेख्न थालेँ । रोषीले उपनामका साथै मेरो थरको समेत भूमिका निर्वाह गरेको छ ।
 
१०) कतारमै धेरै वर्ष रहनुभयो । प्रवास बसाईंको रहर पुगेको छैन ? 
 
–अब म दुईवटा उद्देश्यका लागि कतार बस्नुपर्ने भएको छ । पहिलो– मैले आजसम्म अरुकै लागि समय खर्चिएँ । खब आफ्नो लागि बलियो आर्थिक उपार्जनको पाटोलाई हेर्नुपर्ने छ । दोस्रो–सन् २०२२ मा कतारमा हुने वल्र्डकप । यतिका वर्ष दुःख गरिसकेपछि वल्र्डकप मिस गर्ने कुरा आउँदैन । कतारमा हुने वल्र्डकप–२०२२ मा कमै भाग्यमानी नेपालीमध्ये मैले पनि जिम्मेवार भूमिकासहित सहभागिता जनाउने अवसर पाएको छु । विश्वकै महान् पर्वका रुपमा हुने विश्वकप फुटबल कसरी मिस गर्न सकिन्छ र ? प्रवासको बसाईंपछि नेपालमै समाजसेवालाई निरन्तरता दिँदै ‘रिटायर्ड लाइफ’मा अध्ययन र लेखनलाई निरन्तरता दिने सोच छ ।
 
११) तपाईं सधैँ हँसिलो र तनावरहित देखिनुहुन्छ । यसको राज खुलाइदिनुहोस् न ? 
 
–स्वस्थ रहनका लागि तनावमुक्त हुनुपर्छ । यस उमेर (४८ वर्ष)सम्म शरीरमा कुने रोग छैन । यसो हुनुको कारण खुसी रहनु ने हो । सुखी भएर बाँच्नुभन्दा खुसी भएर बाँच्न सकियो भने अनुहारमा कान्ति छाइरहन्छ । मनमा सन्तोष छ । सधैँ खुसी रहन्छु । पारिवारिक रुपमा पनि सन्तुष्टि छ । यही कारण तनावरहित भएको हुँ ।