अन्तर्वार्ता

दानवीर बाबुको छोरा हुनुमा गर्व लाग्छ : युवा व्यवसायी कमल महतो

1390 पटक पढिएको

केशव भट्टराई / हिमालय खबर | 26th May 2017, Friday | २०७४ जेष्ठ १२, शुक्रबार ०४:०२
पूर्वी चितवनको रत्ननगर–१ स्थित निपनीका कमल महतो युवा व्यवसायी हुन् । उनी होटल बेडरक नामक रिसोर्टका सञ्चालक हुन् । व्यवसाय होटलको गरे पनि उनको परिचय होटल व्यवसायीमा मात्रै सीमित छैन । उनका बाबु स्व. नाथुराम महतो, जसको नाम रत्ननगरका लागि काफी छ । नाथुरामको नाम नसुन्ने र उनका दान र पुण्यकर्मबारे जानकारी नहुने विरलै होलान् । नाथुरामले रत्ननगर नगरपालिकाका लागि एक विगाह जग्गा दान गरे, जहाँ अहिले रत्ननगर नगरपालिकाको कार्यालय रहेको छ । निपनीस्थित हरिहर मन्दिरका लागि एक विगाह जग्गा दान दिए, जहाँ उनको ठूलो कदको मूर्तिसमेत राखिएको छ । नेपाल उच्च माविका लागि एक विगाह जग्गा दान गरे, जहाँ खेलकुँद मैदान रहेको छ । 
 
निपनीदेखि ढुङ्गाघाटसम्मको सडकको पूर्वाधार विकासमा पनि उनै नाथुराम जोडिएका छन् । खगेरी सिंचाईदेखि विकासका विविध कर्ममा होमिएका नाथुराम प्रधानमञ्चसमेत भएका थिए । उनकै निवासमा तत्कालीन राजा श्री ५ महेन्द्र चितवन आउँदा बस्ने, खाने व्यवस्थासमेत हुन्थ्यो । यिनै जमिन्दारका छोरा, दानवीरका पुत्र र फराकिलो हृदयका सन्तान, जसलाई पुख्र्यौली सम्पत्तिप्रति कत्ति घमण्ड छैन । उनी मात्र कर्ममा विश्वास गर्छन् । र, कर्मशील जीवन विताउनै मन पराउँछन् । उनको तडकभडक जिन्दगी पनि छैन । शान्त र सादगी जिन्दगी विताउने र समाजसेवासँग जोडिने संकल्प बोक्ने ३५ वर्षे युवासँग हिमालय खबरका नेपाल संयोजक केशव भट्टराईले गरेको कुराकानी-
 
१) दानवीर बाबु ‘नाथुराम’को छोरा भनेर चिनिन पाउँदा कस्तो अनुभूति हुन्छ ?
 
– एकदम गर्वको अनुभूति हुन्छ । म उहाँको चारभाइ छोरामध्ये कान्छो हूँ । हरेक क्षेत्रमा उहाँको योगदान सम्झेर उत्प्रेरणा मिल्छ । उहाँकै स्मरण गर्दा ऊर्जा मिल्छ । दानवीर बाबुको छोरा हुनुमा मलाई गर्व छ ।
 
२) तपाईंको बुबाको मार्गमा तपाईं पनि हुनुहुन्छ कि ? ‘दानवीर’ समाजसेवीको पुस्तान्तरण कति सम्भव छ ?
 
–त्यो सम्भव छ । म बुबाजस्तै बन्न चाहन्छु । अहिले रत्ननगरमा उहाँको जुन नाम छ– दानवीर, समाजसेवी त्यो उपाधि सबैलाई मिल्दैन । हरिहर मन्दिरमा जान्छु जहाँ छाति भरिएर आउँछ । नगरपालिकामा जान्छु छुट्टै अनुभूति हुन्छ र नेपाल माविमा जान्छु जहाँ खेलमैदान छ, त्यहाँ उत्साह र जोश भरिएको पाउँछु । अनि महसुस हुन्छ– समाजसेवाभन्दा ठूलो कुरा संसारमा केही छैन । मैले पनि समाजसेवा नै गर्ने संकल्प लिएको छु ।
 
३) जमिनदारको छोरा भन्ने त तपाईंको ‘ट्रेडमार्क’ बनिसक्यो । कति थियो होला त्यसबेला जमिन्दारको पुख्र्यौली सम्पत्ति ?
 
–यति नै थियो भन्ने त यकिन जानकारी मलाई भएन । त्यसबेला सयौँ विगाह थियो भन्ने सुनेको हुँ । जमिनदार त मेरो बुबामात्रै होइन, धेरै हुनुुहन्थ्यो । तर, समाजका लागि बुबाले जुन उदारता देखाउनु भयो, त्यसले हामीलाई गौरवको अनुभूति भएको छ ।
 
४) तपाईंले सञ्चालन गर्नुभएको रिसोर्ट पूर्वी चितवनमा प्रसिद्ध छ । यो आर्जित हो कि पुख्र्यौली ?
 
– तपाईंलाई ढाँट्ने कुरा भएन । जमिन बुबाकै पुख्र्यौली हो । जे जति छ त्यो सबै बुबाकै देन हो । आफूले आर्जन गर्न सकेको छैन ।
 
५)यहीँ मनग्गे सम्पत्तिको मालिक हुँदाहुँदै पनि कमाउन विदेश जानु भयो नि ?
 
– हेर्नुस्, जति सम्पत्तिको मालिक भए पनि उच्च शिक्षा त चाहिन्छ । फेरि विदेश जाने सबै कमाउनका लागि मात्रै पनि गएका हुँदैनन् । म उच्च अध्ययनका लागि यूरोप गएको हो । त्यहाँ मैले पैसा कमाउनभन्दा पनि आफ्नो क्यारिअर अनि ब्याचलर र मास्टर्स लेभल पूरा गरेँ । त्यसबेला ‘हिल्टन ग्रुप’को होटलमा आठ वर्ष काम पनि गरेँ । जहाँ कमिस वेटरदेखि रेष्टुरेण्ट म्यानेजर, बेन्क्युट म्यानेजर र रुम सर्भिस म्यानेजरजस्ता काम गरेँ । म गर्व गर्छु कि कमै नेपालीमध्ये म यस्तो लेबलमा काम गर्न पाएँ । यो बुबाकै आर्शीवादले गर्दा हुन सक्छ ।
 
६) तपाईंको स्वभाव र व्यवहार साधारण नै छ । एकाएक व्यवसाय गर्ने सोचचाहिँ कसरी पलायो ?
 
–हिल्टन होटलजस्तो विश्वप्रसिद्ध होटलमा काम गरेको अनुभव नै व्यवसायमा लाग्न प्रेरित ग¥यो । युरोपबाट फर्किएपछि एकचोटी अमेरिका जाउँ भन्ने भयो । अप्लाइ पनि गरेँ । तर, नराम्ररी दलालको फन्दामा परेँ । थुप्रै पैसा पनि डुब्यो । अहिले पनि डुबेको पैसा उठाइरहेको छु । बिहेपछि नेपालमै केही गरौँ भनेर जमर्को गरेको छु । व्यवसायमा मिहिनती र क्षमतावान् श्रीमतीको साथ पनि छ । आफूले विदेशमा सिकेको सीप र क्षमता प्रदर्शन गरिरहेको छु ।
 
७) तपाईंको रिसोर्टको विशेषता के छ रु किन आउने ग्राहक तपाईंकै रिसोर्टमा ?
 
–हामीकहाँ शान्त र पारिवारिक वातावरण छ । प्राकृतिक सौन्दर्य छ । स्थानीय खानाका परिकारदेखि संसारमा चलेका फूडहरुको स्वाद चाख्न पाइन्छ । सबै प्रकारका खाना र त्यो पनि आफैँले डिजाइन गरेको मिनुअनुसार ग्राहकलाई सेवा दिइरहेका छौँ । ग्राहककै चाहनाबमोजिम साप्ताहिक रुपमा मिनु परिवर्तन हुने गर्छ । हामी गुणस्तरमा सम्झौता गर्दैनौँ । ताजा र सीफूडको मज्जा हामीकहाँ उपलब्ध छ । पार्टी, भोज सेमिनारलगायतका कार्यक्रमका लागि पनि उपयुक्त वातावरण छ । ग्राहकहरु सन्तोष मानेर खुसी भएर जानु हुन्छ । फर्किफर्की आउनुहुन्छ । त्यो हाम्रो लागि ठूलो क्रेडिट हो र आत्मसन्तुष्टि पनि ।
 
८) व्यवसायबाट कत्तिको सन्तुष्टि पाउनु भएको छ ?
 
–सन्तुष्ट नै छु । इमान्दारितापूर्वक काम गरेको छु । त्यसैले ग्राहकहरु खोजीखोजी आउनुुहुन्छ । तर कहिलेकाहीँ स्टाफ नपाउँदा भने समस्या पर्छ । भ्याइनभ्याइ हुन्छ । होटल व्यवसायमा अफ्ठ्यारो पनि हुन्छ भनेर सन्तोष मान्छु । समग्रमा सन्तुष्टि मिलेकै छ ।
 
९) समाजमा तपाईंको योगदान केही छ कि ?
 
– म पनि सामाजिक प्राणी नै भएकाले यही समाजका लागि मेरो भूमिका रहनु स्वभाविक हुन्छ । हालै रत्ननगर–१ निपनी थारुगाउँमा व्रह्मस्थान संरक्षण समिति गठन भयो । जहाँ पहिले बुबाले पूजा गर्नुहुन्थ्यो । म उहाँको कान्छो सुपुत्र भएकाले अध्यक्ष बन्न सबैले आग्रह गर्नुभयो । व्रह्मस्थान थारुहरुले पूज्ने देवता हुन् । जसको उचित संरक्षण र सवद्र्धन हुन सकेको थिएन । थारुहरुको चिनारी नै लोप हुन लागेको अवस्थामा परम्परा जोगाउने अभिभारा बोकेको छु । आवश्यक परेको खण्डमा सामाजिक गतिविधिका अरु क्षेत्रमा पनि लाग्ने र सेवा गर्ने सोच छ ।
 
१०) अब राजनीति गर्न र नेता बन्न पैसावाल नै हुनुपर्ने स्थानीय निर्वाचनले नै देखायो । तपाईंमा पनि राजनीति गर्ने तिर्खा जागेको छ कि ?
 
–अहिले नै राजनीति गर्ने तिर्खाचाहिँ लागेको छैन । त्यो स्थान पनि मेरालागि खुल्ला छ । केही भन्न सकिन्न । जीवनमा त्यो क्षेत्र पनि खुल्ला छ । समयअनुसार र मागअनुसार राजनीतिमा पनि होमिन संभावना छ । राजनीति पनि आखिर समाजकै सेवा हो । जनप्रतिनिधि बनेर समाजकै सेवा गर्नु त्यो पनि ठूलो सेवा हो । तर, अहिले राजनीति धेरै दुर्गन्धित भएको छ । पहिले यो संङ्ग्लो होस्, अनि यसबारे सोच्छु । समाजसेवाबाट म कहिल्यै टाढिन सक्दिन । मेरा पिताजीको जिन ममा पनि जीवितै छ । म उहाँकै पदमार्ग पछ्याउन चाहन्छु ।