मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

गैँडाकोटमा किन हल्लियो कांग्रेसको गढ ?

गैँडाकोटमा किन हल्लियो कांग्रेसको गढ ?


प्रदेशको सीमांकन हुँदै गर्दा दुई प्रदेशमा विभाजित भएपछि नवलपरासी जिल्लाले अरु जिल्लाहरुभन्दा बढी चर्चा पायो । दाउन्ने यता र उताको बीचमा प्रदेश फरक परेसँगै ४ नं प्रदेशमा त वैशाख ३१ मै स्थानीय तहको चुनाव भयो भने ५ नं प्रदेशमा जेठ ३१ गते चुनाव गर्ने तयारी भैरहेको छ । पहिलो चरणमा भएको नवलपरासीको नवलपुर क्षेत्रको निर्वाचनबाट प्राप्त मत परिणाम सबैले अपेक्षा गरेभन्दा बिलकुलै फरक आएपछि प्रदेश विभाजनताका भन्दा अहिले यो क्षेत्र बढी चर्चामा छ । यो क्षेत्रमा रहेको चार नगरपालिकामध्ये दुईमा कांग्रेस र दुईमा एमाले विजयी भएको छ । 
 
मत परिणामलाई विश्लेषण गर्दा एमालेको आधार इलाका मानिएका नवलपुर क्षेत्रका पहाडी गाउँहरु, मध्यबिन्दु नगरपालिका र देवचुली नगरपालिका कांग्रेस र कांग्रेसको आधार इलाका मानिएको गैँडाकोटमा एमाले विजयी हुनुले यसलाई राजनैतिक रुपमा अर्थपूर्ण रुपमा मात्रै हेरिएको छैन कि नेपाली कांग्रेसका महामन्त्री डा सशांक कोइराला भारी मत ल्याएर चुनाव जितेको क्षेत्र नं १ मा पर्ने गैँडाकोटको प्रमुखमा कांग्रेसको पराजयले यहाँको कांग्रेसजनमा ठूलो चोट परेको छ । डा कोइरालाको राजनैतिक भविष्य नै यसले दाउमा पारेको छ भन्नुमा कुनै द्विविधा नरहला  । 
 
देवचुली र मध्यबिन्दुमा  जित्नुभन्दा कांग्रेसका लागि गैँडाकोटमा हार्नुले बढी अर्थ दिन्छ । प्रजातन्त्रका सेनानी सूर्यभक्त अधिकारीको रगत पसिनाले सिञ्चित भएको गैैँडाकोट, ओमप्रकाश सापकोटा, तिलक सापकोटा, तारापति खरेल, मदनभक्त अधिकारीजस्ता नेताहरुले अहिले हाँकेको गैँडाकोटमा कांग्रेसका लागि हार्नु बैरी पसेसरह भएको छ । भनिन्छ नि, ‘बूढी मरीभन्दा पनि काल पल्कियो’ भन्ने उखान अहिले गैँडाकोटका कांग्रेसजनमा लागू हुन्छ । 
गैँडाकोटमा बस्ती विकाससँगै र राजनैतिक चेतनासँगै यहाँ कांग्रेसको जन्म भएको बुझिन्छ । अझै पञ्चायतकालमा कांग्रेस नेताहरु बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईजस्ता नेताहरु आफूलाई सुरक्षित ठान्दै लुक्ने ठाउँ हो गैँडाकोट । त्यसमा सूर्यभक्त अधिकारीको योगदानलाई यहाँ स्मरण गर्नुपर्ने हुन्छ । त्यसैले गैँडाकोटमा एउटा चोकको नाम नै पञ्चायतकालदेखि नै कांग्रेसचोक राखिएको छ । तर, अहिले त्यही गैँडाकोटमा कांग्रेसका लागि धमिरा पसेसरह भएको छ । यहाँको कांग्रेसको पराजयलाई यसरी विश्लेषण गर्न सकिन्छ । 
 
कांग्रेसीबीचको एकता र विश्वास कम 
 
सधैँ कांग्रेसको वर्चश्व रहदै आएको गैंडाकोटमा अहिले कांग्रेसको पराजय हुनुको प्रमुख कारणहरुमध्येमा एक हो– कांग्रेसीहरुबीचको एकता र विश्वासमा कमी । अझै पराजय भएसँगै अहिले कांग्रेसीहरुबीचमा एउटा बहस चलेको छ ‘अन्तर्घात’ले कांग्रेस हा¥यो । निश्चय नै चुनावी दौडमा दर्जनभन्दा बढी उम्मेदवार कांग्रेसबाट आकांक्षी थिए । तर अन्त्यमा टिकट पाउने एउटाले मात्रै हो । त्यसमा कांग्रेसबाट गजेन्द्र आलेले पार्टीबाट टिकट लिएर बाजी त मारे तर उनीसँगै टिकटका दाबेदारहरुमध्ये केहीले अन्तर्घात गरेका हुन् भन्ने कांग्रेसीहरुमा व्यापक चर्चा छ । अझै कांग्रेसको गएको तेह्रो महाधिवेशनमा आलेले कस–कसलाई सहयोग र असहयोग गरे त्यो उनैलाई थाहा होला पार्टीभित्रको आन्तरिक चुनावको विषयलाई लिएर अहिले स्थानीय तहको निर्वाचनमा उनीमाथि रिस पोखियो भन्ने कांग्रेसीहरु पनि गैँडाकोटमा कमी छैनन् । कांग्रेसीहरु भन्छन्, ‘घात प्रतिघातमा अहिले नयाँ पुस्ताभन्दा पनि पुरानै पुस्ताको अग्रता बढी देखिन्छ ।’ 
 
हुन त कांग्रेसमा घात–अन्र्तघात नौलो कुरा होइन । कांग्रेसका संस्थापकहरुमध्येका एक कृष्णप्रसाद भट्टराईको विगतमा पटकपटकको पराजयमा कांग्रेसभित्रकै अन्तर्घातले ठूलो चर्चा पाउने गर्दथ्यो । यो समस्या जिल्ला तहमा पनि व्यापक रहेको पाइन्छ । हुन त पराजय भोगेपछि अरुलाई अन्तर्घात गरेको देख्ने कांग्रेसजनभित्र पुरानै समस्या पनि हो । तर पनि गैँडाकोटजस्तो कांग्रेसी किल्ला भनिएको नगरमै कांग्रेसको पराजयले कतै कांग्रेसभित्रको घात–अन्र्तघात भयो भन्ने कुरालाई मलजल त गरिरहेको छैन रु समीक्षा हुन जरुरी छ ।  
 
अझै अहिले कांग्रेसीहरुबीच उठेको मह¤वपूर्ण पक्ष वडाअध्यक्षका उम्मेदवारहरु छनौट गर्दै गर्दा पार्टीको नगर र क्षेत्रीय समितिबीचको समन्वयभन्दा पनि नेताहरुले खल्तीका मानिस छनौट गरे भन्ने आरोप पनि अहिले कांग्रेसभित्र छ । यही कारणले मेयरका उम्मेदवार शिकार हुनु पनि राम्रो थिएन । यो पराजयले कांग्रेसीहरुबीचको एकता र विश्वास भने निश्चय नै डगमगाएको छ । 
 
भेग, जाति र पुख्र्रौली थलोको चर्चा
 
गैँडाकोटको मेयरमा एमालेका छत्र पौडेलले ११ हजार ३०२ मत ल्याएर बिजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गजेन्द्र आलेले ११ हजार ७८ मत ल्याए । तर उपमेयरमा भने ११ हजार ५५५ मत प्राप्त गरी कांग्रेसकी विष्णु कँडेल विजयी भइन् । यो जित संयोग हो वा होइन त्यो विश्लेषणयोग्य छ । तर, पौडेल र कँडेल दुवैजना पुरानो गैँडाकोटका बासिन्दा हुन् । त्यसैले यो जित हारमा अहिले भेग, जाति र पुख्यौली थलोको चर्चाले व्यापकता पाएको छ । निश्चय नै गैँडाकोटमा बाग्लुङबाट बसाइँ सराइ गरेर आउने बासिन्दाहरुको बाक्लो बस्ती छ ।
 
यहाँ भोट खानकै लागि एमालेले ‘मूलपानी’ को कुरा व्यापक उठायो । यो एमालेको रणनीति पनि थियो । यसलाई मलजल ग¥यो एमालेका उम्मेदवार छत्र पौडेल बाग्लुङबाट बसाइँ सराइ गरेर गैँडाकोट आएका ब्यक्ति भएका कारणले पनि । जङ्गल वारी पारीका कुरा, ब्राह्मण र गैरब्राह्मणका कुराले पनि यो चुनावमा निक्कै चर्चा पायो । यस मुद्दालाई कांग्रेसले चिर्न सकेन । जसले छत्रलाई छाता अडिएर शीतल दिन पुग्यो भने गजेन्द्रलाई धक्का लागेर पराजय व्यहोर्नुप¥यो । 
 
बढ्दो बसाइँ सराइको प्रभाव
 
बढ्दो सहरीकरणसँगै ग्रामीण क्षेत्रबाट गैँडाकोटमा बसाइँ सराइ गर्नेको संख्या दिन दुई गुना रात चार गुनाले बढिरहेको छ । अहिले गैँडाकोटमा आएको अप्रत्यासित मत परिणाममा बढ्दो बसाइँ सराइको प्रभावलाई पनि लिन सकिन्छ । सधैँ कांग्रेसले आफ्नो गढ मानिरहने गैँडाकोटमा अहिले बसाइँ सरिआएका नयाँ अनुहारहरु के कस्ता छन् भन्ने कहिल्यै बुझेन । न त यो समुदायभित्र कांग्रेसले आफ्नो संगठन वृद्धि गर्नेतर्फ लाग्यो, न त आफ्ना गतिविधि नै सक्रिय देखायो । त्यसको प्रत्यक्ष मार मत परिणाममा देखा प¥यो । अहिले चुनाव हारियो भनेर दुःखमनाउ गरिरहँदा संगठन बनाउनेतर्फ पनि ध्यान दिनुपर्छ भन्ने यसले पाठ सिकाएको छ ।  
 
दश वर्षअघिसम्म ५० हजारको हाराहारीमा बसोवास रहेको यो नगरपालिकामा अहिले ८० हजार जनसंख्या पुगिसकेको छ । यो बढ्दो बसाइँ सराइको प्रभाव हो । बसाइँ सरी आएकाहरुको भावना बुझ्न नसक्नु नै कांग्रेसको पराजय हुनुको प्रमुख कारण हो । 
 
छत्रको शालिन र समाजसेवी स्वभाव
 
गैँडाकोट नगरपालिकामा नेकपा एमालेले पहिलोपटक मेयर जितेको हो । यो जितमा एमालेको संगठन सुधारिएको अवस्था हो भन्नेमा स्वयम् एमालेहरु नै विश्वस्त देखिँदैनन् । मेयरका उम्मेदवार छत्रको शालिन स्वभाव र निरन्तर गैँडाकोटमा रहेर गरिरहेको समाजसेवा नै उनको जितको आधार हो भन्नेमा दुईमत नरहला । तर छत्रको लोकप्रियतालाई कांग्रेसजनले बुझ्न नसक्नु पनि पार्टीको कमजोरी हो । 
 
उसो त एमालेले छत्रलाई २०५४ सालमा साविक गैँडाकोट गाविसमा अध्यक्षमा उठाएको थियो  । तर त्यसमा उनको सफलता हात लागेन । त्यतिबेला उनले भोगेको पराजयपछि उनी निरन्तर २० वर्षसम्म गैँडाकोटमा संघर्ष गर्दै समाजसेवा गरिरहे । पछि पौडेल यसपटक गैँडाकोट नगरपालिकाको मेयर बन्न सफल भए । 
 
छत्र पौडेल गैँडाकोट गाउँकमिटीको पूर्वसचिवसमेत हुन् । उनी दुईपटक नवलपरासी एमाले जिल्ला कमिटीको सचिव भएर काम गरेका जुझारु नेता पनि हुन् । गैँडाकोटको चुनाव जित्नुमा यसले उनलाई सहयोग पु¥यायो । गैँडाकाट क्षेत्रका विभिन्न संघसंस्थामा आबद्ध भएर अनवरतरुपमा काम गरी स्वच्छ छवि बनाएका कारणले छत्रको जित भएको हो भन्ने गैँडाकोटवासीहरु पनि धेरै भेटिए ।
 
चुनाव जितेपछि गैँडाकोटलाई देशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने प्रतिबद्धता छत्रले गर्दै आएका छन् । अझै आफ्नो कार्यकालमा गैँडाकोट क्षेत्रलाई उत्कृष्ट नमुना नगरपालिका बनाउने उनको योजना छ । तर अब यी अपेक्षा कति पूरा हुन्छ वा हुँदैन त्यो विस्तारै मूल्यांकन गर्दै जाने कुरा हो ।