मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

एनअारएन अमेरिकाको नेतृत्व संकट

एनअारएन अमेरिकाको नेतृत्व संकट


पूर्व निर्धारित समय तालिका अनुसार चुनाव हुन्थ्यो भने यतिबेला एनआरएन अमेरिकाले नयाँ नेतृत्व प्राप्त गरिसकेको हुनेथियो | तर त्यसो भएन | नयाँ कार्य समितिको प्रक्रिया समेत टुंगो नलाग्दै आजैदेखि वर्तमान कार्य समिति काम चलाउ भएको छ | 
 
सामान्य र प्राकृतिक नियम हो कि काम चलाउ भएको नेतृत्वले कुनै महत्वपूर्ण नीतिगत निर्णय गर्न सक्दैन | त्यसो भए नयाँ नेतृत्व नचुनिएसम्म अब एनआरएन अमेरिका यथास्थितिवादमा चल्छ त ? हो, नयाँ नेतृत्व चयन नभएसम्म अब डा. केशब पौडेल नेतृत्वको वर्तमान कार्य समिति काम चलाउ भएर मात्र रहनेछ केवल संस्थागत निरन्तरताका लागि | यद्यपि विधानमा कार्यकाल सकिएपछि के हुने भन्ने बारे केही उल्लेख गरिएको पाइएन | 
 
किन भयो यस्तो कमजोरी ?
सन् २०१५ मा वर्तमान नेतृत्व निर्वाचित भएर कार्यभार सम्हालेपछि समितिले निर्वाचन आयोग गठन गर्यो | यसपटक दुई वर्षे पदावधि सकिनु पूर्व नै निर्वाचन सम्पन्न गर्ने गरी आयोगले विधान अनुसार कार्य तालिका समेत बनायो | जस अनुसार सदस्यता नवीकरण र वितरण गर्ने अवधि मार्च १७ सम्म कायम गरी मे २२ तारिख निर्वाचन गर्न ६० दिनको समय सीमा तय ग-यो | तर डा. पौडेलले निर्वाचन आयोगको सुझावलाई बेवास्ता गर्दै सदस्यता विस्तारको लागि पाँच दिन समय सीमा बढाए | 'हो, त्यही दिनदेखि नै निर्वाचनका लागि पूर्व तालिकामा झमेला आइलाग्यो, कार्य समितिले आयोगसमक्ष सुझाव माग्यो तर सदस्यता विस्तारका लागि समय थप गरे अझ समस्या थपिन्छ भन्ने सुझावलाई पूर्ण बेवास्ता गर्दै समय थपेर कार्य समितिले निर्वाचन आयोगको कार्य तालिकामा असर पुर्यायो' निर्वाचन प्रमूख अधिवक्ता बन्दिता शर्मा दाहालले समस्याको कडी औंल्याउदै भनिन् |
 
पछि एक महिनाको समय राखेर चुनावी कार्यतालिका बनाई कार्य समितिलाई सदस्यहरुको सूचीका लागि आयोगले ताकेता गर्यो | कार्य समितिमा यस बारे छलफल पनि भयो | निर्वाचन आयोगलाई तत्काल सूची बुझाउने निर्णय पनि दुई पटक भयो | तर सदस्यता बुझाइएन | नेतृत्व भित्रैबाट अध्यक्षको मनोमानीको विरोध हुन थाल्यो | 
 
कृष्ण पोखरेल, रबिना थापाहरु आन्तरिक बैठकमा कम तर सामाजिक संजालमा बढी नै आक्रामक रुपमा अध्यक्ष पौडेलका विरुद्ध प्रस्तुत हुन थाले | यी दुवै विगतमा डा. पौडेल नै हो सबैभन्दा सक्षम भन्दै पौडेल टीममा थिए | केही दिन पहिले त उपाध्यक्ष रबिना थापाले विज्ञप्ति नै निकालेर पौडेलप्रति यस्तो आक्रोश पोखिन्,-'एनआरएनए अमेरिकालाई संचालन गर्ने कार्यबिधि, बिधान र आईसीसीबाट निर्देशित निर्देशनहरुलाई पूर्ण रुपमा पालना गरी संघको बार्षिक साधारण सभाले दिएको म्यान्डेट तथा संघको कार्य समितिको निर्णय अनुसार कार्यान्वयनमा ल्याउनु नेतृत्वको जिम्मेवारी र ईमान्दारीपुर्वक कर्तव्यनिष्ट हुन आउछ। 
 
तर संघको बिधि-बिधान,आईसीसीको नीति-निर्देशन, साधारण सभाको म्यान्डेट र निर्वाचन आचारसंहितालाई पालना नगर्नु, एकल रुपमा सिंङ्गो संस्थालाई गुमराहमा राख्नु कहाँसम्मको नैतिकता हो? यो अबैधानिकता र संघप्रति लाचारको पराकाष्ठा हो।' यसरी नेतृत्वप्रति आक्रोश व्यक्त गर्नेहरुले अहिले पौडेललाई सार्वजनिक रुपमै चुनौती दिन थालेका छन् | तर बाहिर यसरी प्रस्तुत हुनेले भित्री प्रक्रियामा र आन्तरिक बैठकहरुमा आफुहरुको असहमतिलाई राखेका छन् कि छैनन् ? आखिर आफ्नै भनाउँदाहरुबाट केशब पौडेल किन चेपुवामा पर्दैछन् ? यो विश्लेषणको अर्को पाटो हो | एक अर्कामा अविश्वास र हिलो छ्यापाछापको कारण एनआरएन अमेरिकाको नेतृत्व बचाउमा नै कार्यकाल सकिने क्षणमा आइपुगेको छ | 
 
हाईहाइ पौडेल, बाइबाई पौडेल 
दुई वर्ष अघि केशब पौडेललाई हाई हाई गर्ने र पौडेललेनै एनआरएन अमेरिकाको हितमा राम्रो काम गर्ने भन्दै काँध थाप्नेहरु यो दुई वर्षको कार्यकालमा निराश भएका छन् | दुई वर्ष पहिला खुलेरै पौडेलको समर्थनमा जनमत जुटाउनेहरु यसपटक केशब पौडेललाई बाईबाई भन्दैछन् | त्यही लाइनमा उभिएका छन् कृष्ण पोखरेल,रबिना थापा लगायतकाहरु पनि | 'ठूलो विश्वास थियो डा. पौडेलप्रति तर त्यो विश्वासलाई उनले जोगाएर राख्न सकेनन् | आफ्नै नेतृत्वलाई समेट्न सकेनन् | 
 
जसका कारण आज उनकै नेतृत्वमा रहेकाहरुले उनलाई चुनौती दिईरहंदा पनि उनी म फेरि उठ्छु भन्न छाडेका छैनन् | दुई वर्षमा उनले एनआरएन सबैको साझा हो भन्ने भावनालाई जागृत गराउन सकेनन् | गुटभित्रका केही सिमित व्यक्तिहरुको सल्लाहमा एनआरएनलाई कैदी बनाए | जनसम्पर्क समितिको प्रतिष्पर्धी संस्था जस्तो मात्र बनाए | जनसम्पर्क समितिकै सदस्यको भोटले चुनाव जितेर सम्पर्क समितिलाई प्रतिष्पर्धी देख्ने समितिका केही भाँडहरुको चश्मा बने डा. पौडेल | त्यसैले अब उनलाई बाईबाई भन्ने अवस्था आयो' दुई वर्ष पहिले डाक्टर पौडेलको समर्थनमा मत माग्दै हिंड्ने नेपाली जनसम्पर्क समिति, अमेरिकाका एक उपल्लो तहका नेताले भने | 
 
यसले डाक्टर पौडेललाई फरक परेको छैन | उनले भनेका छन्, दुई वर्ष सिक्दैमा बित्यो, अब एकपटक पुन: नेतृत्व लिएर काम गर्ने चाहना हो मेरो | तर हिजोको समीकरण भत्किएको छ | आफ्ना भनाउँदाहरु यसपटक अन्तै लागेका छन् | कमिटी भित्रैबाट उनका विरुद्ध उम्मेद्वारी घोषणा गर्दै मोर्चाबन्दी सुरु भैसकेको छ | यो अवस्थामा उनले सम्मानजनक रुपमा आफु आइसीसीका लागि अघि बढ्ने भन्दै बहिर्गमनको बाटो लिन्छन् कि फेरि केही कोठे नेताहरुको उक्साहटमा आफ्नो नेतृत्वलाई दाऊमा लगाउँछन् भन्ने चासो देखिएको छ | 
 
डा. पौडेलकै कार्यकालमा एनआरएन अमेरिकाले अदालत धाउनु पर्ने अवस्था आयो | भोटर फ्रडको लफडा झेल्नुपर्यो | जालझेल र षडयन्त्रको आरोप बोक्नुपर्यो | सदस्यता विवाद र निर्वाचनको विषयलाई लिएर समाजमा एनआरएन बदनाम भएको छ | यो सबै गल्तीको भागीदार डाक्टर केशब पौडेल नै हुन् | व्यक्तिगत रुपमा उनको सम्मानजनक पृष्ठभूमि छ | पूर्ण सफल छन् उनी, नेविसंघको राजनीतिक पृष्ठभूमि र तनहुँको पारिवारिक विरासतबाट अमेरिकामा आफ्नो करिअरमा राम्रो गरेका पौडेल व्यक्तिगत रुपमा भद्र र शालीन छन् | 
 
तर अमेरिकी नेपाली डायस्पोराको नेतृत्व गर्ने मामिलामा उनी उदार हुन सकेनन् | यस अर्थमा उनी सामाजिक नेतृत्वकर्ताका रुपमा असफल हुन् | त्यसैले अब पौडेलबाट एनआरएन अमेरिकाले कुनै प्रभावकारी नेतृत्वको अपेक्षा गर्नु व्यर्थ नै हो | उनको सम्मानलाई कायम राख्न उनी आफैंले अबको बाटो तय गर्नुपर्छ |
 
राजिनामानै विकल्पः
एनसीसीको विधानको धारा ३९ मा प्रष्ट उल्लेख छ, प्रत्येक दूई वर्षको जुन १ तारिखदेखि नयाँ नेतृत्वको कार्यकाल सुरु हुनेछ र मे ३१ तारिखमा कार्यकाल सम्पन्न हुनेछ | यो संशोधित विधान वर्तमान कार्य समितिले तयार गरी अनुमोदन गरेको विधान हो | वर्तमान कार्य समितिले मे २४,२०१५ मा कार्यभार ग्रहण गरेको गणनाले अब मंगलवार राती २३ तारिख यो कार्य समितिको दुई वर्षे कार्यकाल पुरा हुन्छ भनिएको हो |
 
एनसीसीको मात्र होइन, समितिको १० औं संशोधित विधानमा यसका च्याप्टरहरुको समेत यही अनुसार कार्य अवधि गणना हुन्छ | अर्थात् विधान अनुसार नै एनआरएन एनसीसी अमेरिका र यसका सबै च्याप्टरहरु मे ३१ देखि कार्य अवधि सकेर निष्क्रिय हुनेछन् | तत्पश्चात सम्पूर्ण नेतृत्व काम चलाउ रुपमा परिणत हुनेछ | त्यो भन्दा बढी अर्को नैतिकताको पाटो छ | त्यो हो, कुनै पनि संघ,संगठनको कार्यकारी नेतृत्व तहमा बहाल रहेका मध्ये कसैले भावी नेतृत्वका लागि उम्मेद्वारी घोषणा गर्नु पूर्व आफ्नो तत्कालको पदीय जिम्मेवारीबाट पछि हट्नु, राजीनामा दिनु |
 
नयाँ नेतृत्वका लागि मैदानमा उत्रिएपछि आफैं नेतृत्वमा बसेर काम गर्दा नीति र निर्णय प्रक्रियामा त्यसको असर र प्रभाव पर्ने हुन्छ | त्यसो नहोस् भनेर सामान्य प्रचलनकै रुपमा उम्मेदवार हुन चाहनेले बहाल रहेको पदबाट राजीनामा दिने गरिन्छ | यसलाई नैतिक जिम्मेवारीको रुपमा व्याख्या गरिन्छ | तर के अहिले फेरि नेतृत्व लिन्छु भन्ने डा. पौडेलदेखि कृष्ण पोखरेल, रबिना थापादेखि डिल्ली भट्टराई र राम सी पोखरेलसम्मका नेतृत्वतहका आकांक्षीहरुले आ आफ्नो वर्तमान पदीय जिम्मेवारीबाट राजीनामा दिएर चुनावमा औपचारिक रुपमा होमिने नैतिक हिम्मत गर्लान् ? पक्कै गर्दैनन् | किनकि आत्मविश्वास नभएका यी प्रतिनिधि नामहरु भै रहेको पद छाड्ने साहस गर्न सक्दैनन् |
 
यदि नैतिकताको अलिकति पनि ख्याल गरिन्थ्यो भने जुन दिन जसले उम्मेदवार दिने सार्वजनिक घोषणा गर्यो, त्यसले वर्तमान पद र जिम्मेवारीबाट त्यही दिन नै राजीनामा दिनुपर्थ्यो | तसर्थ नैतिकता बचेको छ भने चुनाव लड्न अघि सरेकाहरुले तत्काल राजीनामा दिएर मैदानमा आउनुपर्छ | अन्यथा चिचीको पनि लोभ पापाको पनि लोभ गरेर भोट पाइन्न | पंक्तिकार यस पक्षमा सबैको ध्यान जाओस् भन्ने अनुरोध गर्दछ |
 
को को लड्न पाउँछन् अध्यक्षमा ?
केही पहिलेसम्म फेसबुक लगायतका सामाजिक संजालहरुमा फलानो व्यक्ति अध्यक्षमा चुनाव नै लड्न पाउदैन के को चुरिफुरी नि भन्दै टिप्पणी गरिन्थ्यो | एनआरएन आइसीसीका क्षेत्रीय संयोजक सोनाम लामा र उप संयोजकले यस्तो टिप्पणीलाई सहयोग पुग्ने गरी औपचारिक रुपमा प्रेस विज्ञप्ति निकाले | जसलाई आइसीसी महासचिवले खण्डन गर्ने गरी अर्को विज्ञप्ति जारी गरेपछि यो विवाद पनि सामसुम भयो |
 
अहिलेको नेतृत्वभन्दा बाहिरबाट वर्तमान कमिटीकै सल्लाहकार रहेका टेक्ससका आइटी व्यवसायी गौरी जोशीले उम्मेदवारी दिने निर्णयसहित प्रचारमा जुटेका छन् | उनको उम्मेदवारी घोषणालाई पछिल्लो समय नेपालमा रन्जु दर्शनाको लोकप्रियतासँग अमेरिकी आप्रवासका युवाहरुले चर्चा गर्न थालेका छन् | भैरहेका र परीक्षणमा चुकीसकेका भन्दा नयाँलाई अवसर दिनुपर्छ भन्ने लहर चलेको छ अहिले | एनसीसीको संशोधित विधानको ११० नम्वर बुँदामा पनि अध्यक्षको उम्मेदवार हुन उल्लेख गरिएको व्यहोराले गौरीलाई छेकवार लगाउदैन | सोही बुँदामा अध्यक्षमा उम्मेदवार हुन त्यस्तो व्यक्ति अमेरिकी नागरिकता वा ग्रीनकार्ड भएको र कम्तीमा पनि दुई वर्षभन्दा बढी साधारण सदस्यको रुपमा एनआरएन अमेरिकामा आवद्ध भैसकेको हुनुपर्ने उल्लेख छ | 
 
खुइलिने र खुइल्याउने दुवै कांग्रेसः
अमेरिकाको नेपाली डायस्पोरामा सबैभन्दा बढी प्रभाव भएको र अत्यधिक सदस्य भएको संगठन काँग्रेसको भातृ संस्थाको रुपमा क्रियाशील नेपाली जनसम्पर्क समिति नै हो | जुनसुकै समुदायको नेतृत्वका आकांक्षीहरुले पनि जनसम्पर्क समितिको समर्थन पाए मात्र नेतृत्वमा पुगिन्छ भन्ने राम्ररी बुझेका छन् | तर समिति यति सशक्त हुँदाहुँदै पनि अस्तव्यस्त छ | एनआरएनमा राजनीति भित्र्याउन दिन्नौं,कांग्रेस हुन दिन्नौं भन्ने र फेसबुकमा टिप्पणी गर्नेहरुले आफ्नो औकात र दायरा राम्रैसँग बुझेका छन् | यद्यपि उनीहरु आ आफ्नो कुण्ठा भने कांग्रेसलाई गाली गरेर नै ओकलिरहेका हुन्छन् | अनि त्यस्ताहरुलाई मलजल गर्छन् कांग्रेस हौँ भन्ने केही नैतिकहीनहरु |
 
अहिले पनि फेसबुक संजालमा यही नौटंकी देखिएको छ | राम्रो एनआरएन बनाउने हो भने लोकतान्त्रिक विचारप्रति प्रतिवद्ध नेतृत्व नै आउनुपर्छ र आउँछन् पनि | किनकि अन्य विचार त अमेरिका प्रवेश अनुमति लिने बेलामा पनि हस्ताक्षर र औंठाछाप लगाएर दूतावासको फाराममा नै समर्पण गरेर भिसा लिएका हुन्छन् | भनिरहनु पर्दैन, अरु उफ्रने भनेको केपी ओलीकै भाषामा बयलगाडा चढेर चन्द्रमामा पुग्छौं भने जस्तै हो | त्यसैले सबैले आशा गर्छन्, नेपाली जनसम्पर्क समितिको सहयोग लिन | अहिले मैदानमा देखिएका सबै एकै घरका सदस्य हुन् | तर समस्या छ, कसलाई अघि बढ्नुस् भन्ने अनि कसलाई तपाईं बस्नुस् र अरु जिम्मेवारी लिनुस् भन्ने | किनकि सबै साँढे छन्, आफुभन्दा योग्य र ठूलो कांग्रेस एकले अर्कोलाई देख्दै देख्दैन | नैतिकता र इमान्दारिता सबै भुलेपछि कसैले कसैलाई नटेर्ने गलत प्रवृत्ति हावी छ अहिले जनसम्पर्क समितिमा |
 
प्रक्रिया पुरा गरी निर्वाचनबाट आएको नेतृत्वलाई सुरुका दिनदेखि नै असहयोग गर्ने र सामाजिक संजालहरुमा उछित्तो काढ्नेहरु आफ्नो मर्यादा,सीमा र नैतिकता समेत बिर्सेर नाङ्गै हुन थालेका छन् | तैपनि नेतृत्वले अध्यक्षका आकांक्षीहरुका बीच सहमति गराउने र त्यस्तो सहमति हुन नसकेमा सहमति नमान्नेलाई समितिको सहयोग पनि नहुने गरी पहल गर्नुपर्छ | अन्यथा खुइलिने र खुइल्याउने दुवै कांग्रेस नै हुनेछन् | आफ्ना सदस्यहरुलाई अनुशासित बनाउने र गैर जिम्मेवार हुनेहरुलाई जिम्मेवार बनाउने दायित्व नेतृत्वकै हो | एनआरएन अमेरिकाको आसन्न निर्वाचन जनसम्पर्क समितिको लागि मिनी निर्वाचन पनि हो जसले समितिको भावी नेतृत्वको समेत बाटो खोल्नेछ |
 
अहिले जसरी नेपालमा नेपाली कांग्रेसलाई हराउन अरु कोही चाहिएन,कांग्रेसले नै हराई रहेका छन् कमसेकम अमेरिकामा त्यस्तो नहोस् | हामीले अरुलाई उदाहरण दिन सक्नुपर्छ | यसमा नै हामी सबैको भलाई छ | सबैले यसतर्फ गम्भीर भएर सोचौं | छाडापन र अनुशासनहीनता कांग्रेसको परिचय होइन,लोकतान्त्रिक संस्कार पनि होइन | 
 
अनेकौं विमतिका माझ पनि बहुमतको निर्णय स्वीकार गर्नु र विमतिहरुका बीच सहमति खोज्नु नै लोकतान्त्रिक चरित्र र संस्कार हो | खोक्रो आदर्शका कुरा गरेर मेरो गोरुको बाह्रै टक्का भने जस्तो मैले मात्र भनेको ठीक हो,मलाई बहुमतको निर्णय नमान्ने हक छ,मेरो स्वतन्त्रता छ भन्ने हठ पाल्नु छाडापनको संस्कार हो | यस्तो संस्कार धमिरा प्रवृत्तिसंग मिल्छ र अझ एक कदम अगाडी साहित्यकार समेत रहेका राजनीतिज्ञ लोकेन्द्रबहादुर चन्दको भनाईसंग तालमेल खान्छ,यस्तो प्रवृत्ति मुसा प्रवृत्ति हो | मुसाले आफु चढेको प्लेन समेत प्वाल पार्छ र आफुसँगै सबैलाई डुबाउँछ | कमसेकम अमेरिकाका कांग्रेसजनको हकमा यस्तो दुर्भाग्य नहोस् | 
 
नेतृत्वको कुशलता र सफलता नै संकटमा समस्याको सही व्यवस्थापन गर्न सक्नु हो | विरोधी र असहयोगीहरुको त सधैं एक स्वार्थ हुन्छ कसरी नेतृत्वलाई असफल बनाउन सकिन्छ भनेर तिकडम गर्ने,हल्लाखल्ला गर्ने | यो तथ्यलाई समितिका वर्तमान सभापति आनन्द विष्टले सबैभन्दा बढी बुझेका छन् भन्ने अपेक्षा गरौँ |