मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

युएनएको सम्मेलनको तयारी पुरा

युएनएको सम्मेलनको तयारी पुरा


हिमालयखवर संवाददाता
ड्यालस (टेक्सस) – युनाइटेड नेप्लिज एसोसिएसनको दोस्रो सम्मेलन आउन पाँच दिनमात्र बाँकी छँदानै कार्यक्रमको तयारी पुरा भएको छ । 
 
आउँदो शुक्रबारदेखि आइतबारसम्म हुने युएनएको सम्मेलनले यसपटक युवाहरुलाई केन्द्रबिन्दूमा राखेको छ । अमेरिकामा अध्ययन गर्दै रहेका, हुर्कदै गरेका नेपाली समुदायका बालबालिकादेखि लिएर युवाहरुलाई लक्षित गरेर यसपटक युएनएले कार्यक्रमलाई केन्द्रित गरेको छ ।
 
‘यो कार्यक्रम हामीले यही हुर्कदै गरेका, यही भविष्य बनाउने तयारीमा रहेका हाम्रा बालबालिकालाई केन्द्रित गरेका छौँ,’ युएनएका अध्यक्ष पासाङ लामाले भने । मातृभूमिलाई पनि हामी ध्यानमा राख्छौँ, तर हाम्रा हुर्कदै गरेका बालबालिकालाई ध्यान दिन सकिएन र उनीहरुको प्रतिभालाई उचित स्थान दिन सकिएन भने नेपाली समुदाय पछि पर्ने भएकोले यस पटकको सम्मेलनले युवाहरुलाई फोकस गरेको लामाले बताए ।
 
तीन दिने सम्मेलनका क्रममा युवाहरुलाई ‘ट्यालेन्स शो’, फोरम, डिजे नाइट, कन्सर्ट, फेशन शो, खेलकुद लगायत दर्जनौ कार्यक्रमहरु राखिएको छ । ‘यी कार्यक्रमहरुले नेपाली युवाहरुलाई अमेरिकामा यहाँको समुदायसँग एकीकृत गराउने लक्ष्य हामीले लिएका छौँ,’ लामाले भने ।
 
युवाहरुका लागि लक्षित भएकाले उनीहरुलाई ‘मोटिभेट’ गर्नका लागि नेपालबाट क्रिकेट खेलाडी पारस खड्का, नायिका नन्दिता केसी आउँदैछन् । केसी केही समयदेखि अमेरिकाको न्यूयोर्कमा बस्दै आएकी छिन् । अहिलेका चर्चित गायक हेमन्त राना पनि सम्मेलनमा सहभागी हुँदैछन् । त्यस्तै ‘मिस नेपाल अर्थ’ नग्मा श्रेष्ठ पनि सहभागी हुने निश्चित भएको आयोजकहरुले जनाएका छन् ।
 
स–साना बालबालिकाहरुलाई लक्षित गरेर स्पेलिङ टेस्ट, बक्तृत्वकला प्रतियोगिता समेत सम्मेलनको क्रममा राखिएको छ । यी प्रतियोगितामा उत्कृष्ठ हुनेलाई एकहजार डलर राशीको नगद पुरस्कार राखिएको छ ।
 
सम्मेलनको क्रममा झण्डै दुईहजार जनाको सहभागिता रहने अनुमान आयोजकले गरेका छन् । अमेरिकाको पूर्बी तटको न्यूयोर्कदेखि लिएर पश्चिम तटको क्यालिफोर्नियासम्मका नेपालीहरु सम्मेलनमा सहभागी हुन ड्यालस आउँदैछन् । 
 
ड्यालसको डिएफडब्ल्यू एअरपोर्टबाट उत्तरतर्फ रहेको फोरप्वाइन्ट शेराटन होटलमा आयोजना हुने कार्यक्रमको मुख्य उद्वेश्य अमेरिकी मुलप्रवाहमा नेपाली युवाहरुलाई प्रवेश गराउने भने रहेको छ । त्यसका लागि अमेरिकाका सरकारी निकायमा पुगेका नेपाली समुदायका सदस्यहरुलाई समेत निमन्त्रणा गरेर उनीहरुबाट सफलताका अनुभवहरु आदान प्रदान गर्ने कार्यक्रम राखिएको छ ।
 
सम्मेलनका कोअर्डिनेटर बिएन पन्तका अनुसार नेपाली समुदायका बालबालिकालाई उत्कृष्ठ बनाउने योजना अनुरुप युएनए सम्मेलनका सम्पूर्ण कार्यक्रमहरु केन्द्रित रहेका छन् । ‘अमेरिकामा नेपालीहरु आउन थालेको, बस्न थालेको धेरै भएको छैन, तरपनि हाम्रा बालबालिकाहरुले धेरै राम्रो प्रगति गरिरहका छन्, तिनलाई उचित सहयोग र मोटिभेसनको जरुरी छ,’ पन्तले भने ।
अमेरिकामा सबैभन्दा बढी प्रगति गर्ने नेपाली समुदायको बसोबास गर्ने स्थान ड्यालस हो । युएनएले हरेक वर्ष ड्यालसमा यो सम्मेलन गर्ने लक्ष्य समेत लिएको छ । 
 
व्यबसाय गर्ने, रोजगारी गर्नेका लागि समेत ड्यालस उपयुक्त थलोका रुपमा अघि बढिरहेको छ । सम्मेलनको क्रममा बिजनेस फोरम समेत राखिएको छ ।
 
‘अरु नेपाली संस्थाहरुले गर्नेभन्दा हाम्रो कार्यक्रम अलिकति पृथक गर्न खोजेका छौँ, किनकी हाम्रो उद्वेश्यनै फरक छ,’ अध्यक्ष पासाङले हिमालय खबरसँग भने । यहीँ रहेका नेपाली समुदायको वृहत्तर विकास गर्ने लक्ष्यले संस्था स्थापना भएका कारण यहीँलाई केन्द्रित गरेर कार्यक्रमको कार्यतालिका समेत राखिएको छ ।
 
कार्यक्रमको क्रममा ब्लड डोनर्स अमेरिकाले रक्तदान कार्यक्रम समेत राखेको छ ।