मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

‘साझा मेयर’ बनेर नगरवासीको सेवा गर्छु : नारायण वन

‘साझा मेयर’ बनेर नगरवासीको सेवा गर्छु : नारायण वन


चितवनको रत्ननगर–४ शीतलचोक निवासी ५६ वर्षीय नारायण वन रत्ननगर नगरपालिकाको नवनिर्वाचित मेयर हुन् । ०५४ सालको स्थानीय निर्वाचनमा एमाले तर्फबाट संस्थापक मेयर बनिसकेका उनी यसपटक पनि मेयरमा विजयी भएका छन् । रत्ननगरलाई रत्न बनाउने उनको धोको पहिले पूरा नभए पनि अब एक वर्षभित्रै नगरवासीलाई परिवर्तनको अनुभूति दिलाउने संकल्प उनले गरेका छन् । 
 
आफ्नो पाँच वर्षे कार्यकाललाई सफलीभूत बनाउन साझा मेयरको रुपमा रहेर नगरवासीको सेवामा समर्पित रहने प्रतिबद्धता उनले जनाएका छन् । मेयरमा निर्वाचित बनेसँगै देशविदेशबाट उनलाई बधाइ तथा शुभकामना दिनेको ओइरो नै लागेको छ । उनको निवासमा शुभेच्छुक तथा कार्यकर्ताको ताँती लागेको छ । मेयर पदमा विजयी भएसँगै खुशी र चुनौती दुवै थपिएको अनुभूति उनले गरेका छन् । व्यस्तताका बीच नवनिर्वाचित मेयरसँग हिमालय खबरले गरेको कुराकानी–
 
१) २० वर्षपश्चात् पुनः मेयरमा निर्वाचित हुनुभएको छ, कस्तो अनुभूति भएको छ ?
 
–असाध्यै खुसी भएको छु । यो खुसीसँगै थप जिम्मेवारी थपिएको महसुस गरेको छु । नगरवासी आमाबुबा, दिदीबहिनी तथा दाजुभाइले दोस्रोपटक पनि जिम्मेवारी दिएर विजयी गराउनु भएको छ, यसलाई अवसरमा परिणत गरी नगरको विकास गर्ने छु । अबको पाँच वर्ष मेरो ध्यान पूर्ण रुपमा नगर विकासमा केन्द्रित हुने छ । 
 
२) यो खुशी कसलाई साट्न चाहनुहुन्छ ? 
 
–मेरो जित सबै नगरवासीको जित हो । यहाँ कसैले पनि हारेको छैन । सबैले मेरो जितमा कामना गरिरहनुभएको छ । सबैले मलाई अमूल्य मत दिएर विजयी गराउनुभएको हो । यो खुशी सबै नगरवासीसँग साट्न चाहन्छु । मलाई रत्ननगरको मेयर बनाएर काम गर्ने अवसर प्रदान गर्ने रत्ननगरका नगरवासी, बधाई तथा शुभकामना व्यक्त गर्नुहुने शुभचिन्तक, शुभेच्छुक, कार्यकर्ता सबैप्रति आभार प्रकट गर्दछु ।
 
४) तपाईं नगरवासीको साझा मेयर बन्न सक्नुहोला त ?
 
–म एमालेको तर्फबाट चुनावमा प्रतिस्पर्धा गरेको हुँ । चुनाव जितेपछि म साझा मेयर बनिसकेको छु । नगरको कार्यसम्पादनका क्रममा म सबैलाई वन एमालेको मान्छे भएर हाम्रो काम गरेन भन्ने अवस्था आउन दिने छैन । मैले गर्ने काममा पार्टीको गन्ध आउन दिने छैन । नगरमा नेपाली काँग्रेसले पनि वडा तहमा जितेको छ । काँग्रेस र माओवादी केन्द्रले पनि घोषणापत्रमार्फत विकासको खाका ल्याएका छन् । एमालेले ल्याएको विकासको खाका, काँग्रेस र माओवादी केन्द्रले ल्याएको विकासको खाका अनुसारै विकासका काम अगाडि बढाएर नगरलाई कृषिमा आधारित सुन्दर पर्यटकीय नगरी बनाउने छु । 
 
५) नगर प्रवेश गरेपछि तपाईंको पहिलो काम के हुनेछ ?
 
–स्थानीय तहको निर्वाचन भएकाले संस्थागत संरचना परिर्वतन भएको छ । सुरूमा स्थानीय तहले गर्ने काम र कर्तव्यका बारेमा गहिरिएर अध्ययन गर्छु । नेपाल सरकारले स्थानीय तहले गर्ने काम प्रत्यारोपण गरिसकेपछि योजना बनाएर काम गर्ने छु । सुरूमा आन्तरिक व्यवस्थापनबाटै मेरो काम सुरू हुन्छ । वडागत संरचना सुधार, कर्मचारी व्यवस्थापन गरिसकेपछि विकासको काम सुरू गर्ने योजना छ । 
 
सौराहाको पर्यटन विकासको लागि व्यवसायीहरुसँग अन्तरक्रिया गरेर सम्भावनाको खोजी गर्ने छु । व्यवसायीसँग सहकार्य गरेर सौराहाको विकास गर्ने मेरो योजना छ । टाँडीबजार व्यवस्थापनका लागि राजमार्ग फराकिलो बनाउने र पिठुवामा सडकको स्तरोन्नति र सिंचाइको व्यवस्था मिलाउने छु । 
 
६) रत्ननगरको विकासका योजनाहरु के के बनाउनु भएको छ ?
 
–रत्ननगर सम्भावना नै सम्भावना भएको नगर हो । पर्यटन र कृषिको सम्भावना यहाँ छ । सुन्दर पर्यटकीय सहर बनाउन सुरूमा सबै बस्तीहरुलाई सडक सञ्जालमा जोडने काम गर्छु । विकासको पहिलो आधार सडक हो । सडक राम्रो भयो भने बस्ती–बस्तीको विकास गर्न सकिन्छ । शिक्षा, स्वास्थ्य र खानेपानीको पहुँच नगरवासीको घरघरमा पु¥याउँछु ।
 
युवाहरुलाई रोजगारको लागि रत्ननगरका सबै सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा लागू गर्ने छु । रत्ननगर अस्पतालको स्तरोन्नति गरी पूर्वी चितवनवासीको आशाको केन्द्र रत्ननगर अस्पताललाई बनाउने छु । रत्ननगर अस्पताललाई विश्वासिलो बनाएर सबैले उपचार गर्ने स्थलको रुपमा विकास गर्ने छु । यो अस्पतालमा सुरूमा ५१ शैयाको बनाएर केही समयपछि १०० शैयाको बनाउन मेरो पर्यत्न रहने छ । अब रत्ननगरका कोही पनि उपचार नपाएर मर्न पर्दैन । सौराहामा रिङ रोड बनाउने योजना छ । 
 
सौराहाकै विकासको लागि गुरूयोजना बनाएर काम गर्नेछु । पर्यटन पूर्वाधार निर्माण, सडक सुधार, सेवा गुणस्तरीय, मनमोहक वातावरण बनाएर पर्यटकलाई आकर्षित गर्ने योजना रहेको छ । पिठुवालाई आवास र कृषिको पकेट क्षेत्रको रुपमा विकास गर्ने छु । साविक रत्ननगरको विकासको लागि सडकको स्तरोन्नति, ढल निर्माण, सौराहाचोकमा आर्कषक प्रवेशद्वार निर्माण गर्ने छु । रत्ननगरका सबै बस्तीहरुमा खानेपानी पुग्न सकेको छैन । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको क्षेत्र विस्तार गरी सबै बस्तीहरुका खानेपानी पु¥याउने छु । महिला, बालबालिका, गरिब तथा सुकुमबासीहरुको आर्थिक तथा सामाजिक विकासमा मेरो काम लक्षित हुने छ । 
 
७) सुकुम्बासी बस्ती व्यवस्थापनको लागि के गर्नुहुन्छ ?
 
–रत्ननगरका सुकुमबासी समुदायले भोगेको समस्याबारे मलाई राम्ररी थाहा छ । सुकुमबासी बस्ती व्यवस्थापन र लालपूर्जा वितरण यहाँको प्रमुख चुनौती हो । सुकुमबासी समुदायको हितका लागि म जस्तोसुकै चुनौतीको सामना गर्न तयार छु । नेपाल सरकारले दिएको अधिकारको दुरुपयोग नगरी सुकुमबासी बस्ती व्यवस्थापन र लालपुर्जा वितरणको काम सुरू गर्ने छु । लुमन्ती आवासका लागि सहयोग समूह सहकार्य गरेर बस्ती व्यवस्थापनको काम गर्ने योजना छ । – होमनाथ सापकोटाको सहयोगमा ।