विचार / ब्लग

परिवारवादले आक्रान्त समकालीन नेपाली राजनीति

1358 पटक पढिएको

– शैलेश श्रेष्ठ

हिमालय खबर | 19th May 2017, Friday | २०७४ जेष्ठ ५, शुक्रबार ०९:०६
पूर्विया संस्कार, संस्कृति र कहिलेकाँही हाम्रो पहिचान र धर्म समेत भनेर गर्ब गरिन्छ । यसमा अझ एक कदम अघि बढेर हाम्रा परम्पराबादी संस्कार भनेर बुझिने संकीर्ण स्वार्थ, आत्मकेन्द्रित लोलुपता र परिवारवादकै कारण मुलत: हाम्रा सम्भावित असल नेताहरू पारिवारिक स्वार्थमा कारण कि अधोपतनको बाटोमा छन या त शाख र विश्वसनीयता बिनाको निर्जीव अनि परिचालित एक गुटका संचालकको हैसियतमा सिमित हुन थालेका छन | 
 
कतिहदसम्म आम नेपाली जनताको राजनेता बन्न सक्ने सामर्थ्य र औकात भएकाहरु समेत आफ्ना झिना मसिना पुरातानिक देब्रे बैचारिक आदर्श र उपदेशहरुको ठेली पढेर "पेपर टाईगर" स्टाटसमा भूमिगत अथवा अर्ध भूमिगतरुपमा उचीउडान भर्ने एकात्मक सोंच र चिन्तन भएका पुराना पुस्ताका थुप्रै तथाकथित ठुला नेताहरु अहिले त्यहि आत्मघाती बाटोमा तथाकथित छलाङ्ग मार्दैछन |    
 
राजनेता बन्न सक्ने औकात भएका थुप्रै नेताहरु बिशेषत: आफ्ना छोरी-छोराहरुकै कारण सकिएका अथवा आम जनताको नजरमा गिरेका थुप्रै उदाहरणहरु छन  । नेपालदेखि लिएर अमेरिकासम्म त्यस्ता उदाहरणहरू छरिएर रहेका छन् ।
 
नेपालकै कुरा गर्नुपर्दा गिरिजाप्रसाद कोइरालाको त्यो हदसम्मको उच्च राजनैतिक कद निरन्तर घटाउने कामको श्रीगणेश उनकै पुत्री सुजाता जोष्ट (कोइराला) ले गरिन | राज्य संचालनमा परिवारका सदस्यहरुको हस्तक्षप, रुची र दवाब नरहेकै कारण मनमोहन अधिकारीको राजनैतिक उचाई र कद सर्वथा सग्लो, अग्लो र आम नेपालीहरुले गर्ब गर्न लायकको रह्यो | प्रतातन्त्रका पिताको आलंकारिक शब्दावलीले नामोच्चारण गरिने लौहपुरुष गणेशमान सिंह समेत आफ्ना अति महत्वाकाँक्षी छोरा प्रकाशमान सिंह र हरेकअर्थमा स्वामित्वको हक राख्ने  श्रीमति मंगलादेबी सिंहकै कारणले आलोच्य बने | 
 
नेपाली आम जनताले सर्वाधिक भरोशा गरेका विद्वान डा. बाबुराम भट्टराईले पनि आफ्नी पत्नी हिसिला यमीको हस्तक्षपकारी कार्यकारी भूमिकाकै  कारण यो स्तरको राजनैतिक अधोगति बेहोर्नु पर्यो | बेलायती लोकतन्त्र पढेका एक जमानाका प्रजातन्त्रका सिपाही शेरबहादुर देउबाले जनताको बाहुबलबाट प्राप्त तात्कालिक प्रजातान्त्रिक पध्दती सहितको ब्यबस्थालाई ससुराली-दरवारमा बुझाउने षढयन्त्रमा आरजु राणाको ग्राईन्ड डिजाईन रहेको मान्ने भित्रियाहरुको अझै कम छैन | तुलनात्मकरुपमा औसत असल मानिएका माधबकुमार नेपाल पनि प्रधानमन्त्री बन्नासाथ आफ्ना दुई भाईहरुको उचित बन्दोबस्त गर्न पछि परेनन् | 
 
तत्कालिन प्रधानमन्त्री प्रचण्ड उर्फ पुष्पकमल दाहाल आफ्ना अराजक तथा उदण्ड छोरा प्रकाश दाहालकै क्रियाकलापले मरिच चाहुरिएझैं खुम्चिन बाध्य भए । अहिले तिनै पुष्प कमल दाहाल आफ्नी पुत्रीलाई भरतपुर महानगरपालिकाको मेयर बनाई छाड्ने एकल एजेन्डा सहितको अहम र दम्भका कारण पार्टी, सत्ता गठबन्धन र आम नेपाल जनताबाट निरन्तर आलोच्य बनिरहेका छन |   
 
बिरासतको राजनीति अनि त्यसको पारिवारिक प्रभाब संसारको जुनसुकै पध्दति भएको राज्य ब्यबस्थामा पनि रहने गर्दछ | लोकतन्त्रको मसिहा मानिने जापानमा आबे परिवारको त्यहाँको राजनीतिमा उपल्लो प्रभाब छ । तर त्यसलाई हामीले नेपालमा हुने गरेको परिवारवादकै सेरोफेरोमा नाप-तौल गर्ने दुस्साहस भने गर्नु जायज हुँदैन | 
 
यहाँ हाम्रो कर्मक्षेत्र अमेरिकामै पनि हामी आम मानिसका छोरा-छोरीलाई भन्दा बिरासत ओगटेर बसेका चेल्सी क्लिन्टन, जेना बुश अथवा मलिया ओबामालाई राजनीति गर्न एक हदसम्म सजिलो हुन्छ | तर त्यसको अर्थ आम स्वीकृति या सहमति हुन्छ भन्ने चाँही होइन | तर जिताहा र मिचाहा स्वभाबका राष्ट्रपति ट्रम्पको पछिल्ला रवैयाहरु चाँही हाम्रो भू-राजनीति र नेताहरुसँग मिल्दोजुल्दो छ | पुष्पकमल दाहालको अराजनैतिक तथा राजनैतिक आत्महत्या उन्मुख आफ्नी छोरी रेणु दाहाललाई जसरी पनि जिताउने एकल एजेन्डा र दम्भ जस्तै अमेरिकी राष्ट्रपति ट्रम्प आफ्नी छोरी-ज्वाईंका लागि आफ्नै पद दाउमा राख्न तम्तयार भएका छन | 
 
आफ्ना हरेक ब्यापारिक तथा कुटनैतिक भेटघाट र छलफलमा आफ्नी छोरी-ज्वाईं (ईभान्का ट्रम्प-जारेड कुष्नर) लाई समावेश गरेकै कारण आम अमेरिकी जनताको नजरमा राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्वसनीयता निरन्तर खस्किएको छ | राष्ट्रपति बिल क्लिन्टनको कार्यकालमा प्रथम महिलाको हैसियतमा हिलारी क्लिन्टनले केहि विशेषाधिकारहरुको अवान्छितरुपमा प्रयोग गरेको कहिँ सतही आरोपहरु बेला बखत लाग्ने गरेको छ तथापी त्यसले सर्वाधिक लोकप्रिय राष्ट्रपति बिल क्लिन्टनलाई सिधै देखिने गरि राजनैतिक घाटा भने लागेन | 
 
पछिल्लो कालखण्डमा मोनिका लेवेन्स्कीसँगको यौनजन्य अनैतिक सम्बन्धले बिषय प्रवेश पाएसँगै उनले त्यस्ता थुप्रै अप्ठेरा निरपेक्ष आरोप र झमेलाहरुको सामना गर्नुपर्यो |  राष्ट्रपति जर्ज डब्ल्यु. बुश (जुनियर) को राष्ट्रपतीय शासनकालमा आफ्नी दुई छोरीहरु जेना बुश र बर्बरा बुशले कहिल्यै कुनै हस्तक्षपकारी भूमिका निर्वाह गरेनन | अर्का लोकप्रिय राष्ट्रपति बाराक ओबामा सत्ताबाट बहिर्गमन भएपछी आम अमेरिकी जनता माझ थप लोकप्रिय भए त्यसको समग्र श्रेय अनि जश प्रथम महिला मिसेल ओबामा र छोरीहरु मलिया ओबामा र ससा ओबामालाई जान्छ |  हामीले परिवारवाद भन्ने गरेको परिवारको हस्तक्षेपकारी भूमिका हरेक ठुला मानिएका सम्भावित राजनेताहरुका लागि चुनौती बन्ने गरेको हुन्छ तर त्यो जोखिम र लालचबाट नितान्त कम नेता अथवा राज्य संचालकहरु बच्ने गरेका हुन्छन | 
 
अब हामी हरेक स्वाधीन, सचेत अनि स्वतन्त्र नेपाली जनताहरुले अहिलेको तरल भू-राजनैतिक परिवेशहरुमा शेरबहादुर देउबा, पुष्पकमल दाहालमार्का अहम र दम्भयुक्त कार्यशैली भएका "फेमिली सेन्ट्रीक" नेताहरु होइन गणेशमान सिंह, मनमोहन अधिकारीहरु जस्ता "पिपुल सेन्ट्रीक" धरोहरहरुको अधिकतम खाँचो छ | 
 
आम नेपाली जनता र मतदाताहरुमा अहिले आएको उच्चतम चेतना र छनौटको कौशलता हेर्दा अब नेपालको राजनीति "ईस्यु बेस्ड" हुने सम्भावना अधिक छ | त्यस्तो सामाजिक कायापलट या राजनैतिक छुमन्तर आजको भोली नहुन सक्छ तर एक्काईसौं शताब्दीको सचेत, शिक्षित अनि स्वाधीन पुस्ताको हस्तक्षपकारी भूमिकाका कारण नेपालको राजनीतिले नयाँ दिशा र गन्तब्यको पहिचान गर्ने भने पक्का छ |