मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जनताको ध्यान मतगणनामा, लुटेराको गरगहनामा

जनताको ध्यान मतगणनामा, लुटेराको गरगहनामा


भरतपुर महानगरमा कसले बाजी मार्छ भनेर सबैको ध्यान मतगणनामा केन्द्रित भएका बेला बिहीबार राति पश्चिम चितवनको शुक्रनगरमा लुटपाट भएको छ । 
 
भरतपुर महानगरपालिका–२५, शुक्रनगरस्थित साहुनी महतोको घरबाट गहना र नगद लुट्नुका साथै एकै परिवारका तीजनालाई हतियार प्रहार गरेर घाइते बनाएका छन् । चितवन प्रहरीले दिएको जानकारीअनुसार मुखमा माक्स लगाएर आएका लुटेराको समूहले महतोको छोरी र बुहारीको गरी ८/९ तोला सुन, करिब दुईलाख रूपैयाँ नगद र चारवटा मोबाइल सेट लुटेर लगेका छन् ।
 
लुटेराको समूहले घरमुली ५५ वर्षीया साहुनी महतो, ३२ वर्षीय छोरा गंगासागर महतो र २७ वर्षीय छोरी रामकुमारी महतोलाई हतियार प्रहार गरी घाइते बनाएका हुन् । उनीहरूको हाल भरतपुरस्थित चितवन मेडिकल कलेजको सघन उपचार कक्ष र आकस्मिक कक्षमा उपचार भइरहेको छ । घाइतेमध्ये आमा र छोरी खतरामुक्त रहे पनि छोरा गंगासागरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 
 
प्रतिकार गर्दा मुखमा माक्स लगाएर आएका लुटेराहरूले आमाछोरीलाई हथौडा र छोरालाई गोली हानेर घाइते बनाएको प्रहरीले जनाएको छ । घाइते तीनैजनाको टाउकोमा चोट लागेको छ । निर्वाचनका बेला सुरक्षा मजबुत बनाए पनि निर्वाचनप्रति बढी केन्द्रित हुँदाको मौका छोपेर आपराधिक तत्वले भित्री एरियामा डकैती गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । 
 
सबैको ध्यान स्थानीय तह निर्वाचनतर्फ केन्द्रित भइरहँदा शुक्रनगर घटनाले जिल्लाको सुरक्षा व्यवस्थापनमा अर्को चुनौती थपिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र हुलियाको आभारमा घटनामा संलग्न रहेको शंकास्पद ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।