विचार / ब्लग

प्रथम चरणको स्थानीय निकायको निर्वाचनको प्रारभिंक समीक्षा

1627 पटक पढिएको

- राजु नेपाल @rajunepal

हिमालयखबर | 17th May 2017, Wednesday | २०७४ जेष्ठ ३, बुधवार १८:२९
वैशाख ३१ मा प्रदेश ३ ४ र ६ का २८३ स्थानीय निकायकालागि भएको निर्वाचनको मतगणना धमाधम भएरहेको छ । जेठ ४ गते बिहान सम्म करिब १४० स्थानको नतिजा आइसकेको छ भने अन्य स्थानको गणना जारीछ । अहिले सम्मको नतिजा र मतगणनाको स्थिति हेर्दा एमालेले करिब ११५, नेपाली काँग्रेसले करिब ११०, माओवादी केन्द्रले करिब ४५ र बाँकी १३ मेयर वा प्रमुख अरू पार्टी वा स्वतन्त्रले जित्ने देखिन्छ । 
 
सर्सति हेर्दा माथिको आँकडाका अनुसार गत संविधानसभाको निर्वाचनको तुलनामा एमाले केही माथि उक्लेको, काँग्रेस केही तल झरेको, माओवादी जस्ताको तस्तै रहेको देखिन्छ । त्यस्तै फुटेपछि जनशक्ति पार्टी र जुटेपछि राप्रपा जनताबाट अस्वीकृत भएको भने यो निर्वाचनले स्पष्ट पारेको छ ।  
 
अंकका हिसाबले एमाले जितेको देखिएको माथिका कुरा सही लागे पनि व्यवहारिक रूपमा सत्यता अर्कैछ। यो निर्वाचनमा सबै भन्दा हारेको भनेको एमालेले हो । अझ स्पष्ट भन्नुपर्दा यो निर्वाचनमा एमालेको र राप्रपाको हार करिब करिब उस्तै हो । अहिले निर्वाचन भएका तीन प्रदेशका २८३ स्थानीय निकायमा एमालेको आँकलन करिब २०० स्थानमा जित्ने थियो । यस्का पछाडिका कारणमा, पहिलो यी क्षेत्र लामो समयसम्म उनीहरूको गढ रहेको, दोश्रो, ओली सरकारले गरेका काम र भाषणका कारण चुलिएको एमालेको लोकप्रीयता र विभिन्न कारणले नेपाली काँग्रेसको खस्किंदो स्थिति उनीहरूको बुझाइ थियो । यही आत्मरतीमा रमाइरहेका एमाले नेताहरू अहिले निर्वाचनको परिणामको समीक्षा सम्म गर्ने हिम्मत गरिरहेका छैनन् । अब उनीहरूको टाउको दुखाइ बन्न पुगेको छ, दोश्रो चरणको निर्वाचन । 
 
यो निर्वाचनले देखाएको अर्को पाटो भनेको नेपाली राजनीतिमा कम्युनिष्ट पार्टीले अरू पार्टीसँग गरेको तालमेललाई जनताद्वारा पूर्ण रूपमा अस्वीकार गरिनु पनि हो । चाहे त्यो एमाले राप्रपाको होस् वा नेपाली काँग्रेस माओवादीको होस् । राम्रा उम्मेदवार भए काठमाण्डौका जनताले नयाँ पार्टीलाई पनि भोट दिन्छन् भन्ने सन्देश पनि यो निर्वाचनले दिएको छ । साथै ती नयाँ पार्टीलाई स्थानीय निकायको निर्वाचनमा मेयर मात्रैको उम्मेदवारी पूर्ण हुन्न, वडामा पनि उम्मेदवारी दिनुपर्छ भनेर झस्काएको पाइयो । 
 
अब दोश्रो चरणको चुनाव हुने क्षेत्रहरू जहाँ पूर्वका केही जिल्लामा बाहेक एमाले अत्यन्त कमजोर मानिन्छ, को परिणामले एमालेलाई निकै तल झार्ने पक्का छ । तर पनि नेपाली राजनीतिमा अबका केही बर्षपनि प्रमुख शक्ति भनेका काँग्रेस र एमाले नै हुन् भन्ने तथ्य भने यो निर्वाचनले स्पष्ट पारेको छ । 
 
साथै दोश्रो चरणको निर्वाचनको केही महिनापछि हुने प्रदेश र आम निर्वाचनले अझ यी दुई शक्तिलाई बलियो बनाउने आधार यो निर्वाचनले कोरेको छ । 
 
www.rajunepal.com / rajunepal@rajunepal.com