मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

रत्ननगरमा रुपनमय वातावरण बनेको छ : रुपनराज घिमिरे

रत्ननगरमा रुपनमय वातावरण बनेको छ : रुपनराज घिमिरे


चितवनमा वैशाखको यो गर्मीमा चुनावी सरगर्मी व्यापक भएको छ । जिल्लाकै दोस्रो रत्ननगर नगरपालिकाको चुनावी सरगर्मीबारे चासो र चर्चा नहुने कुरै भएन । बीस वर्षपश्चात् हुन लागेको स्थानीय निर्वाचनमा रत्ननगरले निर्वाचित मेयर पाउँदैछ । त्यही मेयर पदमा विजयी बनेर रत्ननगरलाई समुन्नत र समृद्ध नगर निर्माण गर्ने प्रतिबद्धतासहित चुनावी मैदानमा उत्रिएका छन्, नेपाली कांग्रेसका युवा नेता रत्ननगर–१० निवासी ३५ वर्षीय रुपनराज घिमिरे । नेविसंघको विद्यार्थी राजनीतिबाट राजनीतिक मैदानमा उत्रिएका घिमिरे रत्ननगर नगरपालिकामा उदीयमान युवा नेताका रुपमा चर्चित छन् । नेपाली कांग्रेस रत्ननगर नगरसमितिमा दुई कार्यकाल सभापति भइसकेका घिमिरेले दर्जनौँ संघसंस्थाहरुमा आवद्ध रहेर सामाजिक तथा राजनीतिक योगदान दिइसकेका छन् ।
 
रत्ननगरमा चुनावी रौनकसँगै मेयरका उम्मेदवार घिमिरेको चर्चा र माहोल एकाएक चुलिएको छ । कांग्रेसले ढिलो गरी उम्मेदवारी घोषणा गरेपछि उनलाई राजनीतिक तथा घरदैलो कार्यक्रम गर्न भ्याइनभ्याइ छ । नगरवासीले युवा जोश र कार्यशक्ति बोकेका उम्मेदवार खोजी गरिरहेको अवस्थामा उनी निर्विकल्प सबैको रोजाइमा परेका छन् । रत्ननगरका १६ वटै वडा रुपनमय बनेको छ । व्यस्तताका बीच स्पष्ट दृष्टिकोण र भिजन बोकेका युवा नेता घिमिरेसँग हिमालय खबरका नेपाल संयोजक केशव भट्टराईले गरेको कुराकानी–
 
१) रत्ननगरमा युवा उम्मेदवारका रुपमा चर्चित हुनुहुन्छ, कस्तो छ चुनावी सरगर्मी ? 
 
–चुनावी माहोल असाध्यै तातेको छ । ‘जनउत्तरदायी भ्रष्टाचारमुक्त प्रशासन, नेपाली कांग्रेसको स्थानीय शासन’ भन्ने नारासहित हामी नगरवासीको घरदैलोमा पुग्यौँ । मतदाताले व्यक्त गर्नुभएका माया–ममता र सद्भावले रत्ननगरमा हाम्रो उपस्थिति निकै बलियो रहेको महसुस भयो । वडावडाबाट व्यक्त भएका विश्वास, गर्नुभएका आशा र अपेक्षा पूरा गर्ने अभिभारा अब हाम्रो काँधमा आएको छ । चुनावी सरगर्मीले, माहोलले पनि कांग्रेसका पक्षमा मत दिएर जनआकांक्षा पूरा गर्न मतदाताले व्यग्र प्रतीक्षा गरिरहेको हामीले पाएका छौँ । 
 
२) त्यसो भए रत्ननगर ‘रुपनमय’ बन्दै गएको हो ? 
 
–हो मेयरका उम्मेदवारका रुपमा रुपनमय बन्दै गएको सत्य हो । रत्ननगर कांग्रेसमय बनेको छ । उपमेयरसहित हाम्रा सम्पूर्ण उम्मेदवार साथीहरुको पक्षमा जनमत बढ्दै गइरहेको छ । हामी परिणामको नजिक आइपुगेका छौँ । हामीप्रति यति ठूलो विश्वास, साथ–सहयोग, सद्भाव र मत दिने प्रतिबद्धता आएको छ । हामी रत्ननगरवासी आमाबुबा, दाजुभाइ, दिदीबहिनीको भावनाको सम्मान गछौँ र उहाँहरुकै सल्लाह, सुझाव र अपेक्षाअनुसार हाम्रो टिम रत्ननगरको आमूल परिवर्तन गराउन कटिबद्ध रहने छ । 
 
३) उम्मेदवारहरुको कसीमा तपाईं आफूलाई कति योग्य ठान्नुहुन्छ ? 
 
–पार्टीभित्र पनि म योग्य प्रत्याशी भएर नै कांग्रेसले मलाई मेयरको उम्मेदवारमा उभ्याएको हो । अब देशमा परिवर्तन ल्याउने युवाले हो । युवाको सोच, दृष्टि र कार्ययोजनाले नै नगरको समृद्धि र विकास हुनसक्छ । त्यो शक्ति र ऊर्जा बोकेर मेयरमा उम्मेदवारी दिएको हुँ । पार्टीले मलाई योग्य, जुझारु र ऊर्जावान युवा उम्मेदवारका रुपमा जसरी प्रस्तुत गरेको छ, त्यसले ने स्पष्ट पार्छ कि रुपन घिमिरे कति योग्य उम्मेदवार हो भनेर । मेरो योग्यता र क्षमता रत्ननगरवासीले अवश्य प्रत्याभूति गर्नुहुनेछ । म नगरवासीप्रति जवाफदेही रहने छु । 
 
४) रत्ननगर नगरपालिकाको मेयरमा तपाईंको उम्मेदवारी किन ? 
 
–रत्ननगर नगरपालिकालाई भ्रष्टाचारमुक्त, जनउत्तरदायी बनाउँदै जनताको आवश्यकता, भावना र चाहना समेट्दै समयानुकुल परिवर्तनको प्रतिफल नागरिकको स्पर्शमा पु¥याउन, सबै वडाका नगरवासीलाई समान अवसर प्रदान गर्न, कांग्रेसको घोषणापत्रमा अभिव्यक्त भएका संकल्प र प्रतिबद्धतालाई पूरा गर्ने संकल्प र अठोटका साथ मेरो उम्मेदवारी हो । 
 
५) नगर विकासका लागि मतदातामा कस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको छ ? 
 
–रत्ननगरको समग्र विकासका लागि मुख्यतः पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार निर्माण, सामाजिक सरक्षा र सूचना प्रविधि गरी सातवटा मुद्दामा केन्द्रित रहेर कांग्रेस नगरसमितिले एउटा दस्तावेज तयार पारेको छ । त्यसैलाई निर्वाचन घोषणापत्रका रुपमा जारी गर्दै हाम्रा कार्ययोजना तथा प्रतिबद्धतालाई मैले मतदातासमक्ष पेश गरेको छु । 
 
पर्यटनतर्फ– एक नगर एक पहिचान’ को अवधारणा अनुरुप रत्ननगरलाई पर्यटकीय नगरी बनाउँदै सौराहालाई विश्वमान चित्रमा उत्कृष्ट पर्यटकीयस्थल बनाइने । सौराहामा गैंडा आकृतिको भवन बनाइ आदिवासी, जनजाति एवमु आर्य संस्कृतिसँग सम्बन्धित संग्रहालय तथा सूचना केन्द्रका रुपमा स्थापित गरिने । विभिन्न नदीनालाको उचित संरक्षण गरी जलक्रियास्थल, बगैँचा, खेलमैदान तथा ¥याफ्टिङ सञ्चालन गरिने । यहाँको जैविक विविधता, तालतलैयाको उचित संरक्षण, विभिन्न, धार्मिक, ऐतिहासिक क्षेत्र तथा मठमन्दिरहरुको संरक्षण संवद्र्धन, प्रदूषणमुक्त नगर, वन्यजन्तुको जोखिम न्यूनीकरण गर्न वराण्डाभार क्षेत्रमा पर्खाल लगाउने । ०७४ साललाई सौराहा घुमफिर वर्ष घोषणा गरी पर्यटन प्रवद्र्धन गर्ने छु । 
 
कृषितर्फ– कृषिलाई आधुनिकीकरण गर्दै कृषकलाई उपकरण खरिदमा छुटको व्यवस्था, मल, बिउविजनमा सहुलियत, कृषि प्रयोगशाला, कृषि उपज केन्द्र स्थापना, रत्ननगरलाई देशकै नमूना कृषि पर्यटन क्षेत्रका रुपमा विकास, पशुको नश्ल सुधार, डेरीजन्य उद्योगको विकास, कृषि पर्यटन प्याकेज, आधुनिक सिंचाई प्रणालीको व्यवस्था, कृषि प्रविधिसम्बन्धी जानकारी तथा कल सेन्टर, सौराहामा प्राकृतिक स्रोत व्यवस्थापन कलेज स्थापना, खेतीयोग्य जमिन सुरक्षित गर्न वैज्ञानिक भूउपयोग नीति अवलम्बन, अर्गानिक खेती प्रोत्साहन तथा रासायनिक विषादीको न्यूनीकरण । 
 
यस्तै शिक्षातर्फ–शिक्षासँग प्रविधि अवधारणालाई नगरका सबै सामुदायिक विद्यालयमा लागू गर्ने, शैक्षिक गुणस्तर वृद्धि गर्ने, प्रविधिक शिक्षालय स्थापना गर्ने, शहीद स्मृति बहुमुखी क्याम्पसलाई विश्वविद्यालयमा स्तरोन्नति, नेपाल माविलाई नमूना सामुदायिक विद्यालयका रुपमा विकास, श्रीराम मन्दिर तथा श्रीराम संस्कृत गुरुकूलम्लाई स्तरोन्नति गरी विद्यापीठ एवम् धार्मिक पर्यटकीय स्थलका रुपमा विकास आदि । 
 
यसैगरी स्वास्थ्यतर्फ– पूर्वी चितवनका चारवटा नगरपालिका र एक गाउँपालिकाको साझा अस्पतालका रुपमा रत्ननगर अस्पताललाई कम्तीमा सय शैयाको विशेषज्ञसहितको अस्पतालका रुपमा विकास गर्ने, सबै वडामा मेडिकल अधिकृतसहितको हेल्थ पोष्टको व्यवस्था, ज्येवठ तथा असहायको निःशुल्क उपचार व्यवस्था, सामुदायिक स्वास्थ्य बिमा, गाउँघर क्लिनिक, किशोर–किशोरी स्वास्थ्य केन्द्र तथा अपाङ्गमैत्री अस्पताल निर्माण ।   
 
यसैगरी भौतिक पूर्वाधार निर्माणतर्फ– रत्ननगरलाई स्मार्ट सिटीका रुपमा विकास गर्दै नगरको भित्री र बाहिरी दुईवटा चक्रपथ निर्माण, सबै सडकहरुको स्तरोन्नति,ल्याण्डफिल्ड साइट, सिटी हल, रंगशाला निर्माण, सौर्य बत्तीको व्यवस्था, एकीकृत आवास कार्यक्रमअन्तर्गत भूमिहीनलाई घरबासको व्यवस्था, निःशुल्क शव वाहन तथा दमकल सेवा, कला मन्दिरको स्थापना, बूढीकुलो, खगेरीमा तटबन्धन आदि ।  
 
सामाजिक सुरक्षातर्फ– सबै प्रकारको विभेद अन्त्य गरी बाल, अनाथ, वृद्ध, असहायका लागि आश्रयस्थल निर्माण, महिला सशक्तिकरणका लागि सीपमूलक कार्यक्रम र रोजगार, एकल महिलाको आयआर्जन र क्षमता अभिवृद्धि गरी आत्मनिर्भर बनाउने, सहिदका सन्तानलाई स्नातकोत्तरसम्म निःशुल्क शिक्षा र सहिद परिवारको एक सदस्यलाई रोजगारको व्यवस्था, ऐलानी जग्गाको उचित व्यवस्थापन गरी भूमिहीनलाई जग्गा धनी पूर्जा वितरण आदि । 
 
यस्तै सूचना प्रविधिअन्तर्गत सम्पूर्ण प्रशासनिक कामकाज विद्युतीय माध्यमबाट गर्ने व्यवस्था, व्यक्तिगत विवरण समेट्ने स्मार्ट कार्डको व्यवस्थालगायतका प्रतिबद्धता व्यक्त गरेको छु । 
 
६) तपाईंको नेतृत्वले रत्ननगरमा कस्तो परिवर्तन ल्याउला ? 
 
–नगरवासीप्रति उत्तरदायी भएर पक्कै पनि परिवर्तनको अनुभूति दिलाउने छु । रत्ननगरको समग्र र सन्तुलित विकासको पक्षमा रहँदै आएको रत्ननगर कांग्रेसले अघि सारेका प्रमुख प्राथमिकताका क्षेत्रमा इान्दारितापूर्वक काम गरेर पाँच वर्षभित्र आमूल परिवर्तनको आभाष गराउनेमा म प्रतिबद्ध छु । 
 
७) चुनावी प्रतिस्पर्धा कस्तो छ ? जित्ने सुनिश्चितता के छ ? 
 
–नेपाली कांग्रेसको रत्ननगरमा प्रमुख प्रतिस्पर्धी एमालेसँग नै हो । तर, मैले व्यक्तिगत रुपमा त्यस्तो प्रतिस्पर्धाको अनुभूति गरेको छैन । नगरभरि कांग्रेसको जनलहर, कांग्रेसमय बनिरहेको नगर हेर्दा पनि जोकोहीले अनुभव गर्ने कुरा हो । नगरले युवा नेतृत्व चाहिरहेको सन्दर्भमा त्यसको अभाव मैले पूर्ति गर्न सक्ने भएकाले अहिले मेयरमा ‘रुपनमय’ वातावरण बनेको हो । 
 
नगरमा कांग्रेसको जनाधार अत्यन्तै बलियो रहेको र कांग्रेसका सक्रिय, समर्थकको स्थिति पनि गर्व गर्नलायक भएकोले मैले जित्ने सुनिश्चितता देखेको छु । त्यसमा पनि तटस्थ मतदाता र अन्य दलका मित्रहरुबाट पनि मतदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाले म ठूलो  मत अन्तरले विजयी बन्नेमा ढुक्क छु ।