मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

कांग्रेसको घोषणापत्रअन्तर्गत काम गर्नेछु : रेणु दाहाल

कांग्रेसको घोषणापत्रअन्तर्गत काम गर्नेछु : रेणु दाहाल


नेकपा माओवादी केन्द्रकी पोलिटव्युरो सदस्य एवम् अखिल नेपाल महिला संघ क्रान्तिकारीकी महासचिव रेणु दाहाल कांग्रेस–माओवादी केन्द्रको समीकरणपश्चात् भरतपुर महानगरपालिकाको मेयरकी साझा उम्मेदवार हुन् । माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी छोरी भएका कारण पनि रेणुको उम्मेदवारीले चर्चा पाएको छ । 
 
कांग्रेसले आफ्नो उम्मेदवारी फिर्ता लिएर उनीलाई सहयोग गर्ने भएपछि मेयरमा निर्वाचित हुनेमा रेणु विश्वस्त छिन् । उनीले आफू निर्वाचित भएपछि भरतपुर महानगरपालिकामा कांग्रेसले नगर विकासका लागि अघि सारेको घोषणापत्रअन्तर्गत नै काम गर्ने बताइन् । प्रस्तुत छ, युवा नेतृ दाहालसँग हिमालय खबरले  गरेको  कुराकानी-
 
१) भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार हुनुहुन्छ, घरदैलोका क्रममा कस्तो प्रतिक्रिया पाउनुभएको छ ? 
 
– जनताको घरदैलो गर्दैगर्दा मैले उत्साहजनक सहभागिता पाएको छु । यसवाट म विशेष खुशी छु । समय अभावको कारणले सम्पूर्ण नगरवासीको घर–घर जान नसके पनि जनताले जुन ढंगको ममता मप्रति दर्साउनु भएको छ, यसले मेरो विजयलाई सुनिश्चित गरेको छ । जनसमुदायलाइ भावी योजना र मेरो परिकल्पना राख्दा सकरात्मक प्रतिकृया पाएको छु । मलाई विजय भएर भरतपुरलाई उत्कृष्ट शहर बनाएर जाने आत्मविश्वास बढेको छ । जनसमूदायको सकरात्मक सुझावले भरतपुरको यथार्थ चित्र पाएको महसुस गरेको छु । मुलतः म उत्साहित नै छु ।
 
२) तपाइँले अहिले मतदाताहरुसँग भेट्दै गर्दा जित्नेमा कतिको विश्वस्त हुनुहुन्छ ? 
 
– सर्वप्रथम चितवन आफैँमा ७६ औँ जिल्ला हो । यहाँको जनसमूदाय सचेत छन् । मेरो उम्मेदवारीले सुन्दर नगरी भरतपुरको विकास र सम्वृद्धिमा केन्द्रीय स्रोत र साधनसँग जोडेर एउटा नमूना सहर बनाउने प्रण गरेको छु । जुनकुरा जनसमुदायले बुझ्नु भएको छ । जनता नै निर्णायक शक्ति हो । मेरो जन्मभूमिमा एकपटक जनताको सेवा गर्ने अवसर दिनुहुन्छ भन्नेमा म विश्वस्त छु ।
 
३) तपार्इंको पार्टीले नेपाली कांग्रेससँग चुनावी एकता त ग¥यो तर कांग्रेसजनले तपाईलाई भोट दिने कुरामा कतिको आश्वस्त हुनुहुन्छ ? 
 
– कांग्रेस राजनीति संस्कार भएको पार्टी हो । राष्ट्रिय राजनीतिमा कांग्रेस र माओवादीबीच सत्ता साझेदारी रहेको र संविधान कार्यान्वयन गर्ने चुनौती पनि यिनै दलमा छ । जसका निम्ति कांग्रेस र माओवादीबीच सहकार्य अनिवार्य छ । यो राजनैतीक सहकार्यले पैदा गरेको समीकरण हो । त्यसैले यो एकतासँग लोकतन्त्रवादीहरु उत्साहित भएकाले भोट हाल्नेमा म विश्वस्त छु । मैले बुझेअनुसार माओवादी र कांग्रेसबीचमा चितवनमा कहिलै पनि तिक्तता छैन । त्यसैले पनि कांग्रेसजनले मलार्इ भोट हाल्नुहुनेछ । म कांग्रेसकै घोषणपत्रअनुसार नै काम गर्ने छु । 
 
४) भोट फ्लोर क्रस गरेर गोलाकारभित्र हँसिया हथौडामा भोट हाल्न रुखमा भोट हाली रहेकाहरुलार्इ गाह्रो हुन्छ कि ?
 
चुनाव चिन्ह प्राविधिक कुरा हो । राजनैतीक सहमति प्रमुख कुरा हो । नेपालकै उदाहरण दिने हो भने द्वन्द्वमा रहेका हामी माओवादी र कांग्रेसलगायतका राजनीतिक शक्तिहरुबीच सहमति सहकार्य र एकता गरेर शान्ति प्रकृया सम्पन्न गर्दै अहिले संविधान जारी गरेको अवस्थासम्म आइपुगेका छौँ । मुलुकको आवश्यकताले राजनैतिक सहमति भएको हो । आस्था र विचार फरक भए पनि राजनैतिक समझदारीमा एक अर्कालार्इ सहयोग गर्ने कुरा अनौठो कुरा होइन । अहिले कांग्रेस र माओवादीको सहकार्य राष्ट्रको आवश्यकता हो । त्यसैले कांग्रेस मित्रहरुले पनि वुझ्नु भएको छ की दुवै पार्टीको आवश्यकताले हामी एक ठाउँमा उभिएका हौं । हामीलाइ उहाँहरुले भोट हालेर मलाई विजय गराउनु हुनेछ । हामी पनि उहाँहरुलार्इ भोट हालेर विजय गराउने छौँ ।
 
५) तपाईंलाई त चितवनवासीले त्यति सारो चिनेका छैनन्, के प्रचण्डपुत्री भएकै कारण भोट दिन्छन् त ? 
 
– सबभन्दा पहिला म चितवनसँग अपरिचित मान्छे हैन । पटक पटकको निर्वाचनमा यहीको मतदाता भएर सहभागी रहँदै आएको छु । मेरो राजनैतिक जीवन कलिलै उमेरमा चितवनबाटै शुरु भएको हो । राजनैतिक कार्यक्षेत्रका हिसावले मेरो पार्टीको आवश्यकतामा जहाँ जहाँ पठायो त्यै गएर आफ्नो भूमिका निभाउँदा चितवनमा कार्यक्षेत्रका हिसाबले नजोडिँदा नौलो लागेको हो । तर चितवनको वस्तुगत धरातलप्रति म अनभिज्ञ छैन । मन मुटु र भावनाले म चितवनकै छोरी हुँ । म अधिकार प्राप्तिको लडाइँमा भूमिका निभाउन गएको हुँ । अधिकार प्राप्त गरी कार्यान्वयन गर्ने चरणमा म आफ्नो जन्मभूमिलाई कर्मभूमि बनाउँदै बाँकी राजनैतिक जीवन चितवनमै बिताउने गरिआएको छु । राजनैतिक विचारका हिसावले मेरो बुबा प्रचण्डप्रति गर्व गर्छु । उहाँकै मार्ग निर्देशनमा हिँडेको छु ।
 
लडाइँका मोर्चाहरुमा अग्रभागमा नेतृत्व गरेको अनुभव छ । कहिले म जनयुद्धको तुफानी केन्द्रमा नेतृत्वमा रहे भने कहिले काठमाण्डौको सहरमा सडक आन्दोलन गरेँ । आज सिंहदरबारको अधिकार गाउँ नगरमा ल्याएर योगदान गर्न म चितवन आएको छु । मेरो आफ्नै राजनैतिक इतिहास र परिचयप्रति चितवनवासी अनभिज्ञ छैनन् वास्तवमै चितवनका जनसमुदायले मलाई माया र ममता गरेर अत्याधिक मतले जिताउनु हुनेछ । मेरो इमान्दारिता मेरो परिचय हो । लगनशीलता मेरो जीवन हो । जनताको सेवा गर्नु कर्तव्य ठान्दछु । बाँकी व्यवहारमा परीक्षण गर्न जनतामा अनुरोध गर्दछु । जहाँ प्रचण्डकै छोरी भन्ने सवाल छ प्रचण्ड मेरो बुबामात्रै हैन राष्ट्रको नेता हो । एउटा कार्यकर्ताले पाउने सुविधा मैले पाउनुपर्ने मेरो अधिकार हो । यसमा मलाई गर्व छ ।
 
६) त्यसो हो भने तपाइँ जनताबाट निर्वाचित हुनेमा विश्वस्त हुनुहुन्छ ?
 
– प्रकृयाले त म विजय घोषणा हुनमात्रै बाँकी छ । जनताको अपार समर्थन र मायाले म विजयी भैसकेकी छु ।
 
७) तपाइसँग महानगर विकासका योजनाहरु के–के छन् ? 
 
– मेरो पहिलो सपना भरतपुरलार्इ सम्मृद्ध र आधुनिक सहर बनाउने हो । मेरो पहिलो काम नमुना विकाससहितको वैकल्पिक राजधानी बनाउनु रहने छ । यस्तै भरतपुरलाई व्यवस्थित सहरीकरण गराँउदै महानगरमा मेट्रो रेल, भरतपुर विमानस्थलमा रात्रिकालीन सेवा गराउने छु । भरतपुर अस्पताललार्इ शिक्षण अस्पताल बनाउँदै महानगरभित्र आफ्नै नगर अस्पताल बनाइने छ । भरतपुरमा विकास हुँदै गरेको मेडिकल सिटीलार्इ व्यवस्थापन गर्दै यसको विकास गरिने छ । पर्यटन विकासलाई टेवा पु¥याउन चितवन देखिने भ्यू टावर, आधुनिक मनोरञ्जन पार्क, हरेक वडामा बालबगैँचा र उद्यान निर्माणमा जोड दिइने छ ।
 
वातावरणका हिसाबले एकघर दुई रुख रोपिने छ । पर्यावरणीय मापदण्डका आधारमा उद्योगहरु सञ्चालन गरिने छन् । सूचना प्रविधिलाई निःशुल्क इन्टरनेट र फ्रि वाइफाइ क्षेत्र बनाइने छ । साथै सामाजिक सुरक्षाका हिसावले केन्द्रीय सरकारले दिने भत्तामा महानगरबाट १ हजार रुपैयाँ थपिने छ । जनताका बसोबास भएका र सार्वजनिक सडकहरु कालोपत्रे गरिने छन् । महानगरपालिकामा भित्री र बाहिरी चक्रपथ निर्माण गरिने छ । सडक भौतिक पूर्वाधार महानगरको सापेक्षताअनुसार विकास गर्दै लगिनेछ । नारायणी र राप्तीको तटबन्धन गरी उकास भएको जमीनको प्रयोगमा ल्याइने छ । नारायणी नदीमा जलयात्राको विकास गरिने छ ।